११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा मन्त्रालयको निर्णयः माघ १५ सम्म नै विद्यालय बन्द गर्ने (भिडियो सहित)



अ+ अ-

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।  

कोरोना संक्रमणको दर बढेसँगै आइतवार कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई दिएको सिफारिस अनुसार विद्यालय बन्द गर्न लागिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले माघ १५ गतेसम्म देशभरका सबै आधारभुत र माध्यामिक विद्यालय बन्द गर्नका लागि मन्त्रालयले सूचना जारी गर्ने बताउनुभयो ।

उहाँले विदाको अवधिमा पनि सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार विद्यालयहरुले अनलाइन माध्यमबाट पठन पाठन जारी राख्नुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘हालैका दिनहरुमा कोभिडको संक्रमण तिव्र रुपमा फैलिएको कारणले सिसीएमसीले माघ १५ गतेसम्म देशभरका सबै आधारभुत र माध्यामिक विद्यालयहरुमा बिदा दिने भनेर निर्णय गरेर हामीलाई सिफारिस गरेको छ । त्यो अनुसार हामी त्यसको कार्यान्वयनका लागि सूचना जारी गर्छौ । बिदाको अवधिमा विद्यालयहरुले अनलाइनबाट अथवा अरु माध्यमबाट जुन सिकाइ सहजीकरण निर्देशिका २०७७ छ, त्यो अनुसार विद्यार्थीका सिकाइ क्रियाकलाप जारी राख्नुपर्दछ ।’

मन्त्रालयका प्रवक्ता शर्माले विद्यालय बन्द भएको बेलामा सबै विद्यालयहरुले १२ वर्षदेखि १७ वर्ष उमेर समुहका विद्यार्थीहरुलाई खोपको प्रवन्ध गरिने पनि बताउनुभयो । विश्वविद्यालयको परिक्षाहरु भने सञ्चालन हुने उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘विश्वविद्यालयहरुको परिक्षाहरु, वार्षिक परिक्षा, सेमेष्टर परिक्षा जुन छ, त्यो भौतिक दुरी कायम गरेर, मास्क, सेनिटाइजर प्रयोग गरेर जेड आकारको बसाईको सिट प्लान गरेर चलाउने भन्ने छ । यि विषयमा सार्वजनिक सूचना जारी गर्छौ ।’

विद्यालय बन्द भएको बेलामा खोपलाई अभियानको रुपमा सञ्चालन गरिने उहाँले बताउनुभयो ।