१९ माघ २०८१, शनिबार
,
Latest
बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर  खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसमा अनुशासनः धेरैजसो पार्टीका तल्ला तहका नेता/कार्यकर्ता कारबाहीमा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा आएका १ हजार ३ सय ७५ उजुरीमध्ये धेरैजसोमा पार्टीका तल्ला तहका नेता कार्यकर्ता कारबाहीमा परेका छन् । २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा पार्टीले तोकेका आधिकारिक उम्मेदवारविरुद्ध उठ्ने बागी उम्मेदवार, तिनका प्रस्तावक, समर्थक र आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेल्ने तथा पार्टी निर्णयविरुद्ध निर्वाचनमा लाग्नेलाई कांग्रेसले उजुरी खोलेर कारबाही गर्दै आएको छ । समिति गठन भएयता विगत १५ महिनामा ४१ पटक समितिको बैठक बसिसकेको छ भने यसबीचमा २ सय ९९ जना कारबाहीमा परेका छन् । तर, यस्ता अधिकांश उजुरीमा तल्ला तहका नेता कार्यकर्ता मात्रै कारबाहीमा परेको समितिका सदस्यहरु बताउँछन् । समितिमा आएका उजुरीमध्ये १ हजार ५२ जनालाई समितिले स्पष्टीकरण सोधेको छ । यस्तै, २ सय ९९ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।

ती कारबाहीको प्रकृति हेर्दा तल्ला तहका नेता कार्यकर्ता मात्रै बढी कारबाहीमा परेका छन् । कार्यविधिअनुसार उजुरी नआएको भन्दै उपल्लो तहका नेताहरूमाथि भने कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन । अनुशासन समितिका संयोजक भिष्मराज आङ्दम्बेले भने पार्टी नेतृत्वमा सहमति भएअनुसार नै समितिको कार्यविधि बनेको र सोहीअनुसार कारबाही प्रक्रिया अघि बढेको बताए । ‘सहमतिबाट नै कारबाहीको प्रक्रिया अघि बढाउने भन्ने छ । त्यहीअनुसार नेतृत्व तहमा भएका छलफल र सहमतिपछि नै कारबाही अघि बढेका छन्,’ समितिक संयोजक आङ्दम्बेले भने । अनुशासन समितिको कार्यविधि नै उजुरी पठाउँदा तहगत रूपमा कारबाही सिफारिस भएर आउनुपर्ने भएका कारण पार्टीका शीर्ष नेताविरुद्ध सिधै आएका उजुरीका विषयमा समितिले कुनै चासो देखाएको छैन ।

समितिका एक सदस्यले शीर्ष तहका नेताविरुद्ध पनि उजुरी आएको तर सहमति त्यतातर्फ केन्द्रित नभएको बताए । ‘सभापति शेरबहादुर देउवा, नेता गोविन्दराज जोशी, कैलालीका नेता पुष्कर ओझा र समितिका सदस्य नै रहेका नेता देवेन्द्रराज कँडेलविरुद्ध समेत उजुरी आएको छ तर कार्यविधिले त्यता हेर्दैन, सहमतिका कुरा पनि छन्,’ ती नेताले भने । समितिले हालसम्म गरेका कारबाही हेर्दा तल्लो तहका नेताविरुद्धका उजुरीउपर छानबिन भई कारबाही भइरहेको छ । अनुशासन समितिका सचिवसमेत रहेका कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले उजुरी पठाउँदा तहगत रूपमा नै प्रमाण र आधारसहित पठाइएका उजुरीउपर मात्रै कारबाही प्रक्रिया अघि बढेको तर शीर्ष नेताविरुद्ध समितिमा कुनै उजुरी नआएको उनको दाबी छ । उनले तहगत रूपमा सिफारिस भएर आएका उजुरीलाई मात्रै समितिले गतिलो आधार मान्ने तर कसैले व्यक्तिगत रूपमा नेताका विरुद्ध दिएका उजुरीलाई समितिले नहेर्ने बताए । केसीले समितिलाई प्राप्त बाँकी उजुरी छानबिनकै क्रममा रहेको समेत जनाए ।

सभापति देउवाविरुद्ध गोरखाका नेता राजेन्द्र बजगाईंले उजुरी दिएका थिए भने समितिमा सदस्य रहेका कँडेलविरुद्ध उनकै जिल्लामा उजुरी परेको थियो । कांग्रेसले ४ चैत २०७५ मा नेता भिष्मराज आङ्दम्बेको नेतृत्वमा अनुशासन समिति बनाएको थियो । समितिको पहिलो बैठकले पार्टीविरुद्ध सामाजिक सञ्जालमा लेख्ने र बोल्नेलाई कारबाही गर्ने निर्णय गर्दै कांग्रेसका नेताहरुलाई सार्वजनिक स्थलमा जथाभावी बोल्न, लेख्न र पार्टी हितविपरीत एकअर्काबीच आरोप प्रत्यारोपमा नलाग्न निर्देशन दिएको थियो । बैठकले पार्टी हितविपरीत गतिविधि लिखितरुपमा गरेमा, अभिव्यक्तिद्वारा वा सामाजिक सञ्जालमा सार्वजनिक रूपमा प्रकट गरेमा कारबाही गर्ने निर्णय गरेको थियो । राजधानी दैनिक