काठमाडौं । सत्तारुढ नेकपाको विवाद समाधानका लागि आज शुक्रबार बालुवाटारमा तीन शीर्ष नेताले आपसमा वार्ता गरेका छन् । त्यस वार्तामा प्रधानमन्त्री केपी ओली र पुष्पकलम दाहाल सहित नेता माधव कुमार नेपाल सहभागी थिए । केही दिनयतादेखि ओली र प्रचण्डले मात्र आपसमा वार्ता गर्ने गरेकोमा आज भने माधव नेपाल पनि थपिएका थिए । माधव नेपाललाई वार्तामा जान प्रचण्डले आग्रह गरेका थिए । त्यसपछि तीन नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता भएको हो ।
तर आजको वार्तामा पनि सहमति हुन सकेन । समाचार स्रोतले भन्यो, बरु हिजो अस्तीतिर सहमति होला कि जस्तो भएको थियो तर आज त प्रधानमन्त्रीको राजीनामा बाहेक अर्काे कुनै पनि विषयमा छलफल नै हुन सकेको छैन ।
यसैक्रममा एक समाचार स्रोतले भन्यो, आजको वार्तामा प्रधानमन्त्रीलाई प्रचण्ड र नेपाल दुवै जनाले जतिसक्दो चाँडाे राजीनामा दिन भनेका छन् । तर प्रधानमन्त्रीले आफूले राजीनामा नदिने बताएका छन् ।
नेकपाको स्थायी कमिटी बैठक भोलि साउन २ गतेका लागि तय भएको छ । सोही बैठकको पूर्वसन्ध्यामा सहमति खोज्न भन्दै तीन नेता बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका थिए । यसअघिका वार्तामा ओली र प्रचण्ड मात्र बस्दै आए पनि यो पटक प्रचण्ड नेता नेपाललाई लिएर पुगेका थिए । बैठकमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए । तर विष्णु पौडेलले भने सहमतिको बाटो कसरी सकिन्छ निकाल्नुपर्नेमा जोड दिएको बुझिएको छ ।
बालुवाटारमा भएको भेटमा प्रचण्ड र नेपालले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरे । बालुवाटार जानुअघि अध्यक्ष प्रचण्डको निवास खुमलाटारमा नेकपा सचिवालय समितिका ६ नेता प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाको छलफलमा पनि प्रधानमन्त्रीको राजीनामा माग्ने अडान कायम राख्ने सहमति भएको एक नेताले बताए । तर ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पद नछाड्ने बताएका छन् ।