६ श्रावण २०८३, बुधबार
,
Latest
बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य बिमाको प्रभावकारितामाथि प्रश्न



अ+ अ-

काठमाडौं । सरकारले आगामी तीन वर्षभित्र सबै नागरिकको स्वास्थ्य बिमा गर्ने लक्ष्य राखे पनि कार्यक्रमको प्रभावकारितामाथि भने प्रश्न उठेको छ । कार्यक्रमको दिगोपनाका लागि सरकारले जोखिम पहिचान गर्न नसक्दा बिमित भएकामध्ये नवीकरण गर्नेको संख्या उल्लेखनीय हुन नसक्दा स्वास्थ्य बिमाको प्रभावकारितामाथि प्रश्न उठेको हो । सेवाग्राहीबाट लिएको बिमा शुल्कले उपचार खर्च धान्न नसकेको पनि देखिएको छ । स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म २८ लाख ८६ हजार २ सय ५० जना बिमित भएका छन् । यस्तै, ७७ वटै जिल्लामै सेवा विस्तार गर्ने लक्ष्य राखी ६ अर्ब रुपैयाँ बजेट विनियोजन भएकामा ४६ जिल्लामा लागु भएको छ । बाँकी ३१ जिल्लामा कार्यक्रम लागु गर्न नसकेर ३ अर्ब ३७ करोड रुपैयाँ रकमान्तरबाट बजेट घटाएको पाइएको छ ।

बिमा योजनामा यो वर्षसम्म कार्यक्रममा निरन्तर रहने १६ लाख ८६ हजार सहभागीबाट १ अर्ब ३९ करोड ८० लाख २० हजार बिमा शुल्क प्राप्त भएको थियो । जसअन्तर्गत २२ हजार २ सय २८ जनाले स्वास्थ्य सेवा लिँदा २ अर्ब १३ करोड ६ लाख ९० हजार शोधभर्ना भुक्तानी गर्नुपरेको महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ । कतिपय सेवा प्रदायक संस्थाले सेवा नदिएको, अनावश्यक झमेला हुने गरेको र सहज सेवा लिन नसकेको बिमितहरूको गुनासो छ । यसकारण पनि बिमा कार्यक्रमअन्तर्गत नवीकरण हुनेको संख्या घटेको देखिएको छ । हालम्म ५६ जिल्लामा बिमा कार्यक्रम लागु भइसकेको र निकट भविष्यमै चार जिल्लामा कार्यक्रम लागु गर्ने तयारी स्वास्थ्य बिमा बोर्डको छ । यस वर्ष बिमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

स्वास्थ्य बिमा कार्यक्रममा गत वर्ष १५ लाख ५० हजार ६ सय ८२ जना आबद्ध भएकामध्ये १० लाख ५१ हजार ५ सय २१ जनाले मात्रै यो वर्ष कार्यक्रमलाई निरन्तरता दिएको प्रतिवेदनमा उल्लेख छ । एक वर्षमा मात्रै ४ लाख ९९ हजार १ सय ६१ जनाले स्वास्थ्य बिमा कार्यक्रममा नवीकरण नगराएको देखिएको छ । स्वास्थ्य बिमा नियमावली २०७५ को नियम ३ मा राष्ट्रसेवक, वृद्धाश्रम, अनाथालय, सुधारगृह, संरक्षण गृहलगायतका संस्थामा आश्रित सबैलाई तथा ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई कार्यक्रममा आबद्ध गर्नुपर्ने व्यवस्था छ । स्वास्थ्य बिमा कार्यक्रममा सवै लक्षित वर्ग सहभागी नभएको पाइएको छ ।

यस्तै, स्वास्थ्य बिमा ऐन २०७४ को दफा २७ मा कोष रहने व्यवस्था गरे पनि बोर्डले संकलीत रकम खर्च गर्ने कार्यविधि नै तयार नगरेको देखिएको छ । जबकि यो वर्षसम्म बिमा प्रिमियमबापत संकलित १ अर्ब ३९ करोड ८० लाख लगानी तथा खर्च नगरी विविध खातामा निष्क्रिय राखी बोर्डको सम्पूर्ण खर्च सरकारबाट उपलब्ध भएको अनुदानबाट बेहोरिएको प्रतिवेदनमा उल्लेख छ । २५ चैत २०७२ बाट स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको हो । राजधानी दैनिक