काठमाडौं । पाकिस्तान र भारतबीच मिसाइल हानाहान भएको छ । अहिले पनि मिसाइल प्रहार गर्ने क्रम जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारत र पाकिस्तानका सेनाले एकअर्काको भूमिमा मिसाइल प्रहार गरेका हुन् । पाकिस्तानले आक्रमण तीव्र पारेपछि इन्डियन प्रिमियर लिग आईपीएलको खेलसमेत स्थगित गरिएको छ । पञ्जाब किङ्गस् र दिल्ली क्यापिटलबीच हिमाचल प्रदेशको धर्मशालामा खेल भइरहेको थियो ।
पाकिस्तानले लगातार ड्रोन र मिसाइल आक्रमण गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जवाफमा भारतले पनि कारबाही तीव्र पारेको छ । पाकिस्तानले कश्मिरदेखि लिएर राजस्थान र पञ्जाबका सीमा क्षेत्रमा ड्रोनमार्फत् हमला गरिरहेको छ । त्यस क्रममा भारतले एस–४०० एयर डिफेन्स मिसाइल सिस्टममार्फत असफल बनाएको दाबी गरेको छ । भारतीय सञ्चारमाध्यमहरुले भारतीय सेनाले जम्मू नजिकै पाकिस्तानको एफ–१६ विमान खसालिदिएको बताएका छन् ।
यता पाकिस्तानले जम्मू र पठानकोटमा आत्मघाती ड्रोनबाट हमला गरेको छ । जम्मू विमानस्थल र पठानकोट एयरफोर्स स्टेशनलाई लक्षित गरेर पाकिस्तानले ड्रोन प्रहार गरेको छ । तर त्यसलाई भारतीय एयर डिफेन्स सिस्टमले असफल बनाएको दाबी गरिएको छ ।
जम्मु कश्मिरको जम्मु, साम्बा, केरन, तंगधार, करनाह, अखनुर, आरएसपुरा सेक्टर, अरनिया लगायतका स्थानमा पाकिस्तानले आक्रमण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यसैगरी पञ्जाबको गुरदासपुर, राजस्थानको जैसलमेर र गुजरातको भुज क्षेत्रमा पनि आक्रमण भएको छ ।
आक्रमण तीव्र भएपछि जम्मू, किश्तवाड, अखनुर, साम्बा र पठानकोटमा बत्ती निभाइएको छ । राजस्थानका सबै सीमा क्षेत्रका जिल्लाहरूमा पूरै ब्ल्याकआउट गरिएको छ । पञ्जाबको जालन्धर र अमृतसरमा तथा बिकानेर र श्रीगंगानगरमा पनि पूर्णरूपमा ब्ल्याकआउट गरिएको छ ।
सुरक्षाकर्मीहरुले घर, पसल र आफ्ना सवारी साधनहरुको बत्ती निभाउन आह्वान गर्दै माइकिङ गरिरहेका छन् । उनीहरुले घरबाट बाहिर ननिस्किन पनि अपील गरेका छन् ।
स्थानीयवासीहरूका अनुसार धेरै ठाउँमा विस्फोटको आवाज सुनिएको छ । विशेष गरी सीमा क्षेत्रका मानिसमा त्रास छ ।










