विराटनगर। नेकपा (माओवादी केन्द्र) अन्तर्गतको युवा संगठन योङ कम्युनिस्ट लीग (वाईसीएल) मोरङको नेतृत्वमा योगेन लिम्बू चयन भएका छन्।
हालै सम्पन्न तेस्रो जिल्ला सम्मेलनले ७१ सदस्यीय नयाँ जिल्ला समिति गठन गर्दै लिम्बूलाई अध्यक्ष बनाएको हो। नवनिर्वाचित समितिमा उपाध्यक्ष पदमा मोहम्मद रेहान, कमल लिम्बू र कृतिका खनालले जिम्मेवारी पाएका छन्।
सचिवमा सुशन खड्का, सह–सचिवमा रोशन राई, जमिन मङ्ग्राती र महेन्द्र सोनार चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी इन्द्रबहादुर राईले सम्हाल्ने छन्।
अध्यक्ष लिम्बूले कार्यभार ग्रहण गर्दै युवा परिचालन, सामाजिक रूपान्तरण र जनहितका कार्यलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए। सम्मेलनको उद्घाटन माओवादी नेता रामप्रसाद सापकोटाले गरेका थिए। नयाँ नेतृत्वले संगठनलाई जनमुखी बनाउने लक्ष्य लिएको छ।










