काठमाडौं । पाकिस्तानी सेनाको आक्रमणमा परी भारतीय सेनाका एक लेसनायकको मृत्यु भएको छ ।
फाइभ फिल्ड रेजिमेन्टमा रहेका लेसनायक दिनेश कुमारको मृत्यु भएको भारतीय सेनाले पुष्टि गरेको छ ।
भारतीय सेनाको ह्वाइट नाइट कोर युनिटले एक्स (पूर्व ट्विटर) मा लेखेको छ– ‘५ फिल्ड रेजिमेन्टका लान्स नायक दिनेश कुमारले मे ७ मा पाकिस्तानी सेनाको गोलाबारीको क्रममा आफ्नो प्राण आहुति दिए ।’
कश्मिरको पहलगाम क्षेत्रमा आतंकवादी आक्रमणमा परी एक नेपालीसहित २६ जनाको मृत्यु भएको बदलास्वरुप भारतले मंगलबार रातिदेखि पाकिस्तान र पाकिस्तान नियन्त्रित कस्मिरमा हवाई हमला सुरु गरेको थियो ।
भारतको आक्रमणबाट ३१ जनाको मृत्यु भएको र ५७ जना घाइते भएको पाकिस्तानले जनाएको छ ।
भारतले पाकिस्तान नियन्त्रित कश्मिरका ५ र पाकिस्तानकै भूमिका ४ गरी ९ स्थानमा एयर स्ट्राइक गरेको थियो । तीमध्ये पाकिस्तानको बहावलपुर भन्ने स्थानमा भएको आक्रमणबाट आतंकवादी संगठन जैश ए मोहम्मदका एक जना कमाण्डर मसुद अजहरको परिवारका १० जना मारिएका छन् । उनीहरु मारिएको जैश ए मोहम्मदले समेत स्वीकार गरेको छ ।
अपरेसन सिन्दूर नाम दिइएको भारतको एयर स्ट्राइकपछि सीमा क्षेत्रमा दुवैतर्फबाट आक्रमण तीव्र भएको छ । अन्धाधुन्ध गोलीबारीका कारण सयौं बासिन्दा भूमिगत बंकरहरूमा शरण लिन वा सुरक्षित स्थानतर्फ जान बाध्य भएका छन् । आक्रमणबाट घर, सवारीसाधनहरू, धार्मिक केन्द्र लगायतका अन्य भौतिक संरचनाहरु ध्वस्त भएका छन् ।










