काठमाडौँ — नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग आवद्ध सार्वजनिक सवारी चलाउनेबारे सोमबार यातायात व्यवस्था विभागसँग छलफल हुने भएको छ । सार्वजनिक यातायात केन्द्रीय महासंघले भने सोमबारदेखि नै गाडी चलाउनेबारे विभागसँग आइतबार सहमति गरेको छ ।
मौद्रिक नीतिमार्फत माग सम्बोधन भएपछि सुरक्षित तवरले यातायात सञ्चालनबारे सोमबार यातायात व्यवस्था विभाग र व्यवसायीहरुबीच छलफल हुने भएको हो । महासंघका महासचिव सरोज सिटौलाले कान्तिपुरसित भने, भोलि १ बजे यातायात व्यवस्था विभाग र व्यवसायीहरुबीच छलफल हुने कार्यक्रम छ ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौलाले स्वास्थ्य सावधानी बलियो रुपमा नअपनाइ गाडी चलाउन नसकिने भनाइ दोहोर्याए । उनले चालक, सहचालकको कोरोना स्वास्थ्य बीमा गराउने, गाडी कहाँ कहाँ गाडी रोक्ने, सुरक्षाका उपायबारे कार्यविधि बनिसकेको जनाउँदै विभागसँग छलफलपछि निर्णयमा पुगिने बताए ।
सरकारले कोरोना संक्रमण दर घट्दै गएको भन्दै असार २३ को मन्त्रिपरिषद् बैठकको निर्णयले काठमाडौं उपत्यकाका तीन जिल्लाभित्र र उपत्यका बाहिर जिल्लाभित्र मात्रै सार्वजनिक यातायातका साधन चल्न दिने निर्णय गरेको थियो । त्यसपछि उपत्यकामा साझा यातायात, मयुर यातायात, सुन्दर यातायात र संयुक्त यातायात लगायत माइक्रो र टेम्पोहरु गुड्न थालिसकेका छन् ।
(कान्तिपुर दैनिक)