२ आश्विन २०८३, शुक्रबार
,
Latest
आईभीएफ र सरोगेसी नियमन गर्न चालु आवमै विधेयक ल्याउने सरकारको प्रतिबद्धता जेन–जी सांसदहरुसँग प्रधानमन्त्री साहले भने– संसदमा जेन–जी सांसदहरूको गतिविधि र नयाँ विचारमा म चासो राख्छु मन्त्री परिषदद्वारा भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत सिफारिस प्रधानमन्त्री शाहको आह्वानमा मन्त्रिपरिषद् बैठक जारी जेन्जी पुस्ताका सांसदलाई प्रधानमन्त्रीको आग्रह : ‘स्वदेशमै रोजगारी सिर्जना गर्न उदाहरण बन्नुस्’ एन्फा कोषाध्यक्ष जोशी र लेखापाल पाण्डे सीआईबीको नियन्त्रणमा बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै माधव नेपालको चिन्ता–‘नेपाल कतै विदेशीहरुको खेलमैदान पो बन्ने हो कि’ दशैँ–तिहारलगत्तै सरकारको प्रतिक्रान्तीकारी षड्यन्त्रका विरुद्ध सडकमा उत्रिन्छौँः दाहाल मङ्गलदीप सेन्ट ३ इन १ अगरबत्ती नेपालमा सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायुजन्य विपद्बाट प्रभावित किसानलाई राहत प्रदेशमार्फत, कृषि बीमामा ८० प्रतिशतसम्म अनुदानः मन्त्री चौधरी



अ+ अ-

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तन तथा प्राकृतिक विपद्बाट कृषि क्षेत्रमा हुने क्षतिको राहत तथा क्षतिपूर्ति प्रदेश सरकारमार्फत व्यवस्थापन हुँदै आएको बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय सभाको बैठकमा सांसद रुक्मिणी कोइरालाले जलवायु परिवर्तन, बाढीपहिरो, खडेरी, असिना, अतिवृष्टिलगायतका विपद्बाट प्रभावित किसानको संरक्षण, शीघ्र राहत तथा क्षतिपूर्ति र कृषि बीमाको पहुँच विस्तारका लागि सरकारले गरेका नीति, कार्यक्रम तथा बजेटबारे प्रश्न गर्नुभएको थियो ।

जवाफ दिँदै मन्त्री चौधरीले कृषि क्षेत्रमा भएको क्षतिको व्यवस्थापनका लागि प्रदेशस्थित कृषि हेर्ने मन्त्रालयले आवश्यक कार्यविधि बनाएर बजेट व्यवस्थापन तथा राहत उपलब्ध गराउँदै आएको बताउनुभयो । ठूला विपद्का घटनामा प्रदेशमा स्रोतको अभाव भए संघीय कृषि मन्त्रालयबाट ससर्त अनुदानमार्फत थप रकम पठाउने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

किसानको नियन्त्रणभन्दा बाहिर रहेका आगलागी, हुरीबतास, वन्यजन्तु, बाढी, खडेरी, असिनालगायतका जोखिम न्यूनीकरण गर्न सरकारले बाली, पशुपन्छी तथा मत्स्य बीमा कार्यक्रम सञ्चालन गर्दै आएको मन्त्री चौधरीले बताउनुभयो । आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार कृषि तथा पशु बीमाको प्रिमियममा ८० प्रतिशतसम्म अनुदान उपलब्ध गराउने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । अन्य अनुदानहरू भने क्रमशः घटाउँदै लैजाने सरकारको नीति रहेको उहाँको भनाइ छ ।

मन्त्री चौधरीका अनुसार आर्थिक वर्ष २०८२/८३ सम्म संघीय सरकारबाट सञ्चालन हुँदै आएको कृषि, पशुपन्छी तथा जडीबुटी बीमा कार्यक्रमअन्तर्गतको प्रिमियम अनुदान र क्षतिको दाबीसम्बन्धी रकम समयमै उपलब्ध गराउने उद्देश्यले चालु आर्थिक वर्षदेखि कार्यक्रम प्रदेशस्थित कृषि हेर्ने मन्त्रालयमार्फत सञ्चालन हुने गरी ससर्त अनुदानको व्यवस्था गरिएको छ ।

उहाँले २०८३ साउन २७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार कृषि, पशुपन्छी तथा जडीबुटी बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि स्वीकृत भइसकेको र भदौ १ गतेदेखि लागू भएको जानकारी दिनुभयो । बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन वास्तविक समयका आधारमा सञ्चालन हुने ‘एग्रिकल्चर एन्ड लाइभस्टक इन्स्योरेन्स सिस्टम’ पनि सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।

संघीय सरकारले किसानलाई प्रत्यक्ष रूपमा राहत वा क्षतिपूर्ति उपलब्ध नगराउने स्पष्ट पार्दै मन्त्री चौधरीले राहत तथा क्षतिपूर्तिका लागि आवश्यक रकम प्रदेश र स्थानीय तहको संयन्त्रमार्फत उपलब्ध गराउने व्यवस्था रहेको बताउनुभयो । अचानक ठूलो विपद् आइपरेमा जोखिमको मूल्याङ्कन गरी सम्बन्धित प्रदेशमार्फत स्रोत पठाउने गरिएको उहाँको भनाइ छ ।

यसैगरी, बाँदर आतंक नियन्त्रणका विषयमा मन्त्री चौधरीले वन्यजन्तु–मानव द्वन्द्व न्यूनीकरणका लागि गठन गरिएको अध्ययन समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेको जानकारी दिनुभयो । प्रतिवेदनका सिफारिसका आधारमा बाँदर आतंक बढी देखिएका २० जिल्लामा नमुना कार्यक्रम सञ्चालन गरी समस्या न्यूनीकरण गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।