११ श्रावण २०८३, सोमबार
,
Latest
साउनको दोस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आफूखुसी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल यमनका हुथी विद्रोहीद्वारा साउदी अरबको ड्रोन खसालेको दाबी, लाल सागरमा जहाज लक्षित आक्रमण स्पेनमा डढेलोको भीषण संकटः दशौँ हजार नागरिक विस्थापित दक्षिण चीन सागरमा भियतनामी जहाज दुर्घटनाः ४६ चालक दलका सदस्यको सफल उद्धार इराक र लेबनानका प्रधानमन्त्रीबीच भेटवार्ताः क्षेत्रीय स्थिरता र द्विपक्षीय सहयोगमा जोड हेटौँडाका शिवालयमा साउनको दोस्रो सोमबार भक्तजनको घुइँचो झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारको अन्तरराष्ट्रियकरण भयो-प्रमुख आयुक्त राई



अ+ अ-

काठमाडौँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालमा भ्रष्टाचार गरेर विदेशमा सम्पत्ति जम्मा गर्ने प्रवृत्ति अत्यधिक बढेको बताउनुभएको छ ।

राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३४औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१/८२ माथिको छलफलका क्रममा प्रमुख आयुक्त राईले भ्रष्टाचारजन्य गैरकानुनी क्रियाकलापबाट पुँजी पलायन बढेको बताउनुभयो ।

भ्रष्टाचारको अन्तरराष्ट्रियकरण हुन थालेको छ । यसको जरो विदेशसम्म पुगेको छ । यहाँ भ्रष्टाचार गरेर आफ्ना छोराछोरी आफन्तलाई विदेशमा पैसा पठाएर त्यहाँबाट रेमिट्यान्सका रूपमा त्यो रकम नेपाल आइरहेको हुनसक्छ”, उहाँले भन्नुभयो । नेपालमा भ्रष्टाचार गरेको रकम विदेशमा पठाएको थाहा पाएर अख्तियारले संयुक्त अरब इमिरेटस्, सिङ्गापुरलगायत देशमा गएको पैसा फिर्ता ल्याउन प्रयास गरे पनि द्विपक्षीय सम्झौता नभएका कारण त्यो सम्भव नरहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

द्विपक्षीय सम्झौता हुन नसक्दा भ्रष्टाचारको पैसा विदेशबाट फर्काउन सकिएको छैन । सिङ्गापुरले त्यस्तो पैसा फर्काउने प्रतिबद्धतासमेत जनाएको छ । तर हामीले त्यस्तो खालको सम्झौता उसँग गरेका रहेनछौँ”, प्रमुख आयुक्त राईले भन्नुभयो, “सुनकाण्डबारे बुझ्न एउटा टोली हङकङ गएको थियो । त्यहाँ पनि दुईपक्षीय सम्झौता नभएकै कारण उक्त टोली घुमघाम मात्रै गरेर फर्कियो ।”

त्यस्तै, नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकरणमा अनुसन्धानका लागि अमेरिकाले सहयोग नगरेको खुसाला पनि उहाँले गर्नुभयो । त्यस्तै, समितिको आजको बैठकमा सांसदहरूले अख्तियारले ठूला भष्ट्राचारीलाई उन्मुक्ति दिने गरेको, राजनीतिक रूपमा पक्षपाती भएर निर्णय लिने गरेको, शक्तिशालीहरूको प्रभाव त्यहाँ रहेकालगायत विषय उठाएका थिए । जवाफमा प्रमुख आयुक्त राईले अख्तियार कसैको दबाब र प्रभावमा नपरेको दाबी गर्नुभयो । “विगतमा के हुने गरेको थियो मलाई थाहा छैन । तर मेरो कार्यकालमा कसैले पनि माथिबाट दबाब दिएको छैन”, उहाँले भन्नुभयो ।

त्यस्तै, भ्रष्टाचारका प्रकरणमा राजनीतिज्ञ उम्कने तर कर्मचारी मात्रै पर्ने गरेको सांसदहरूको भनाइमा पनि प्रमुख आयुक्त राईले विमती जनाउनुभयो । “अख्तियारमा ठूला माछा परेनन्, साना माछा मात्रै परे भन्ने सुनिन्छ । निर्णय गर्नका लागि दबाब दिने राजनीतिक नेतृत्व उम्कने तर कर्मचारीलाई बलिको बोको बनाउने गरेको आम बुझाइ छ”, प्रमुख आयुक्त राईले भन्नुभयो, “तर कर्मचारीले कसको निर्देशनमा गैरकानुनी काम गरेको भनेर नाम लिँदैनन् । बरू आफै स्वीकार्छन् र राजनीतिक नेतृत्वको नाम नलिँदा प्रमाण पुग्दैन ।”

यसवर्ष २९ हजारभन्दा बढीको सङ्ख्यामा उजुरी आइसकेको पनि राईको भनाइ छ । त्यस्तै, अख्तियारले बेनामे उजुरी लिन छाड्ने हो भने उजुरीको सङ्ख्या निकै कम हुने उहाँको तर्क छ । त्यस्तै, अख्तियारमा प्रशासनका कर्मचारी र प्रहरीहरू आउन रूचाउने गरेको तर प्राविधिक कर्मचारीलाई टिकाउनै गाह्रो रहेको पनि उहाँको भनाइ छ ।