काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज दुई घण्टा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ छलफल भएको हो ।
ओली र देउवाबीच संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोग गठनको प्रक्रिया र सरकार सञ्चालनलगायतका समसामयिक विषयमा कुराकानी भएको छ । दुई नेताबीच भएको छलफलमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका मानवअधिकार तथा संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल पनि सहभागी थिए ।
बैठकपछि गृहमन्त्री रमेश लेखकले टीआरसी लगायत समसामयिक विषयमा दुई नेताबीच छलफल भएको बताए । मन्त्री लेखकले दुई नेताबिचको भेटमा टीआरसीको प्रोसेस र आयोगले गरिरहेको कामबारे सामान्य कुराकानी भएको छ ।
भेटमा गठबन्धन र सरकारबारे बाहिर आएका हल्लाहरू बेकार रहेकोमा पनि ओली र देउवा एकमत देखिएका छन् । नीति कार्यक्रम, बजेट पारित गर्ने, शिक्षा विधेयकसहित शिक्षकका समस्या समाधान गर्नेबारे पनि दुई नेताबिच कुराकानी भएको बताइएको छ ।
यसअघि प्रधानमन्त्री ओलीले टीआरसीबारे आइतबार प्रमुख प्रतिपक्षी नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका थिए ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोग सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्ति गर्ने तयारी छ । त्यसका लागि सिफारिस कमिटीले सर्ट लिस्ट सार्वजनिक गरे पनि पदाधिकारीको नाम सिफारिस गरेको छैन ।










