चितवन । सोमबार बिहानदेखि बन्द भएको नारायणगढ–मुग्लिन सडक एकतर्फी खुलेको छ । सोमबार कालिखोलामा पहिरो जाँदा मंगलबार दिउँसो पौने पाँच बजेपछि हलुका गाडीका लागि एकतर्फी बाटो खुलेको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार पहिरो पन्छाउने काम भने अझै बाँकी नै छ । नारायणगढ–मुग्लिन सडक खुले पनि मुग्लिन पार भएपछि पृथ्वीराजमार्गको विभिन्न ठाउँमा अवरोध छ ।
नारायणगढ–मुग्लिन सडक खण्डमा लगभग एक तिहाइ पहिरो मात्र सफा भएका कारण दोहरो गाडी चल्न अझै समय लाग्ने डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।
पृथ्वीराजमार्गको चितवनतर्फ कुरिनटार र फिस्लिङमा पहिरोले बाटो रोकिएको छ । नारायणगढ–मुग्लिन सडकको १७ किलो भन्ने ठाउँमा सडक भाँसिने क्रम बढेकाले धेरै भार भएका मलवाहक गाडी चल्न समस्या नै हुने देखिन्छ ।