
काठमाडौं। काठमाडौंको पिंगलास्थानबाट स्रोत नखुलेको ९५ लाख रुपैयाँभन्दा बढी नगदसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–९ पिंगलास्थानस्थित पशुपति भिजन अगाडिको सडकबाट चार जनालाई आइतबार दिउँसो ४ बजे पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए ।
पक्राउ पर्नेमा काठमाडौंको तार्केश्वर नगरपालिका–३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी गाउँपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङको दोदी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ र सोही ठाउँका ३९ वर्षीय सन्तोष घिमिरे छन् । उनीहरूको साथमा रहेको झोखा खानतलासी गर्दा ९५ लाख १७ हजार ५ सय रुपैयाँ फेला परेको र उक्त रकमको स्रोत उनीहरूले खुलाउन नसकेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूको साथमा रहेको झोला जाँच गर्दा कुल ९५ लाख १७ हजार ५ सय रुपैयाँ नगद फेला परेको हो ।