साउन, काठमाडौं । नेपाल सरकारले गत चैत ११ गतेदेखि गर्दै आएको लकडाउन आज हटाएको छ । आज मध्यरातिदेखि लकडाउन हटाइएको हो । कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन अन्त्य भएको आज सरकारका प्रवक्ताले जानकारी दिए ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले चैत ११ देखि सरकारले लगाएको लकडाउन अन्त्य भएको जानकारी दिएका हुन् ।
त्यस्तै सरकारले निजी सवारी साधनमाथि लगाइएको जोर बिजोर प्रणाली पनि हटाएको छ । भोलिदेखि अब सवारी साधनहरु सामान्य रुपमा सञ्चालनमा आउने छन् । त्यस्तै होटलहरु पनि यही साउन १५ गतेदेखि खुला गर्ने भनेको छ ।
त्यसैगरी सरकारले लामो दुरीका सवारी साधनहरु पनि भदौ १ गतेदेखि चल्न दिने बताएको छ । आन्तरिक र बाह्य हवाई यातायात पनि भदौ १ बाट सञ्चालनमा आउने सरकारले निर्णय गरेको हो ।