काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रु ६९ लाख १५ हजार ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–५ का सम्पूर्ण केसी, काभ्रेपलाञ्चोक पाँचखाल–३ का सुजन गिरी, पाल्पा रम्भा गाउँपालिका–५ का शिरबहादुर बराल र काठमाडौँ तारकेश्वर नगरपालिका–४ की सरस्वती देवकोटा रहेका छन् ।
पक्राउ परेका मध्ये सम्पूर्ण र सुजनले बेलायत पठाइदिने भन्दै क्रमश: रु ३५ लाख र २६ लाख ६५ हजार, शिरबहादुरले दक्षिण कोरिया पठाइदिने भन्दै रु ७ लाख ५० हजार र सरस्वतीले युएई पठाइदिने भन्दै रु एक लाख लिएका थिए । प्रहरीले पीडितको उजुरीका आधारमा आधारमा पक्राउ गरेको जनाएको छ ।
उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।










