काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह समस्याको थुप्रोमा फस्दै गएको भन्दै पूर्वसचिव श्यामप्रसाद मैनालीले केही सुझाव दिएका छन् ।
पूर्वसचिव मैनालीले आज बिहानै सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै बालेन समस्या समाधान गर्न चुक्दै गएको बताएका छन् । उनले समस्या पहिचान गरेर समाधान नगरे थप समस्या बढिरहने चेतावनी दिएका छन् ।
उनले असल सल्लाहकार राखेर परिपक्व ढंगले महानगरपालिका हाँक्नसमेत भनेका छन् ।
मैनालीले बालेनलाई के दिएका छन् त सुझाव ?
काठमाडौँका मेयर बालेन समस्याको थुप्रोमा फस्दै गए । उनी दिन प्रतिदिन अप्ठ्यारोमा पर्न थाले । तसर्थ मेयर साहबलाई देहाय अनुसार सुधार गर्न अनुरोध गर्दछु ।
काठमाडौँका जल्दाबल्दा समस्याका बारेमा सम्बन्धित पक्षहरूसँग बसेर छलफल गर्न प्रारम्भ गर्नुहोस् । जनप्रतिनिधि जनताको मानिस हुने भएकाले जनतासँग साक्षात्कार बाक्लो गर्दै जानुस् । नगरवासी हरूलाई भेट दिनुहोस् । उनीहरूको समस्या सुनिदिनुहोस् । उपयुक्त समस्याको समाधान गरिदिनुहोस् ।
प्रमुख प्रशासकीय अधिकृतको मुद्दामा संघीय सरकारले तपाईँलाई असहयोग गर्दा यो समस्याबाट आफू उम्कने प्रयास तपाईंबाट खासै भएन । लामो समयसम्म आर्थिक कारोबार ठप्प रह्यो । यसले गर्दा तपाईँलाई समर्थन गर्ने कर्मचारीहरू पनि रुष्ट भए । जनप्रतिनिधि हरुले दलीय निर्देशनका आधारमा तपाईंका कमी कमजोरीमा खेल्ने मौका पाए । त्यो अवस्था प्रष्ट देख्दा देख्दै समस्या समाधानमा प्रष्ट देखिने गरी तपाईंको प्रयास भएन । यसैमा दलका अध्यक्षहरु र उपमेयरले तपाईलाई घेराबन्दी प्रारम्भ गरे । यसको निरन्तरता अझै भइराखेको छ । यसलाई यथा समयमा समाधान गर्न सक्नुपर्दथ्यो । मेयर साहब यसमा चुक्नुभयो ।
अब भ्रष्ट प्रमुख प्रशासकीय अधिकृत बसेको अफिसमा नजाने निर्णय मेयर साहबले लिनु भएको कुरा बाहिर आइराखेको छ । लामो समयदेखि बोर्डको बैठकसम्म पनि हुन सकिराखेको छैन । उपमेयरले यसैमा खेल्न थालेकी छिन् । तपाईँ निश्चिन्त भएर नबस्नुस् । बैठक बोलाउनुस् । छलफल गर्नुस् । कुराहरु राफसाफ हुँदै जाँदा दलका निर्देशनमा काम गर्नेहरु पनि सोच्न बाध्य हुन्छन् । यसमा तपाईंको ध्यान जानु जरुरी छ ।
काठमाडौँ महानगरपालिकाको मेयर अत्यन्त संवेदनशील र जिम्मेवारी प्राप्त महत्वपूर्ण पदाधिकारी हुन्छ । आफ्ना कार्यशैली र अभिव्यक्तिले समस्याको समाधान पनि गर्दछ। समस्या सिर्जना पनि हुँदै जानेछन् । त्यसैले परिपक्व बन्नुहोस् । असल सल्लाहकार राखेर महानगरपालिका हाँक्नुहोस्। आफ्ना सचिवालय लगायतका कर्मचारी हरुलाई सहयोगी एवं शुभचिन्तक हरुलाई पनि विवादास्पद अभिव्यक्ति नदिन निर्देशन गर्नुस् ।
यी सबै परिस्थितिलाई नजरअन्दाज गरेर बस्दा भोलिका दिनहरूमा मेयर साहब अझै ठूलो समस्यामा फस्नुहुने निश्चित छ । त्यसैले बेलैमा गम्भीर बन्नु पर्दछ । यो मेरो मेयर साहबलाई व्यक्तिगत सुझाव हो । तपाईँले काठमाडौँ महानगरपालिकामा गर्नुभएका केही कामहरू बाट म प्रभावित भएको छु । स्वतन्त्र प्रतिनिधि हरूले पुराना दल हरुलाई करेक्सन गर्न दबाब सिर्जना गर्नु पर्दछ भन्ने मेरो मान्यता हो । स्वतन्त्रहरू सबैलाई अप्ठेरोमा पारी असफल बनाए पश्चात नेपाली मतदाताहरुले पनि तपाईलाई नकारात्मक हिसाबले सोच्न सक्दछन्, नतिजामा देखिने गरी राम्रा कामहरु हुन सकेनन् भने असहज अवस्था बन्न सक्दछ । आगे मेयर साबको मर्जी ।










