८ जेष्ठ २०८२, बिहीबार
,
Latest
कर्तव्य ज्यान घटनाका फरार प्रतिवादी हरिराम यादव पक्राउ थाइल्यान्डमा खुल्यो दुई लाख उत्पादन क्षमता भएको चांगानको इभी प्लान्ट डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अधिकृतमाथि कालोमोसो छ्यापियो माओवादी केन्द्रप्रति जनतामा आशा पलाएको छः अध्यक्ष दाहाल परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता निजामति विधेयकमा कुलिङ पिरियडको व्यवस्था संवैधानिक छैन, राख्नै परे संविधानमै राखौँः महासचिव पाण्डेय द्वन्द्वपीडितलाई विश्वासमा लिएर काम गर्न मानव अधिकार आयोगको आग्रह कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्नेगरी निजामति विधेयक आउन सक्दैनः सभापति खतिवडा दुर्गा प्रसाईंलाई थप दुई दिन हिरासतमा राख्न अनुमति मनीषा कोइरालाले हेरिन् ‘ऊनको स्वीटर’, अन्य विशिष्ट व्यक्तिहरूद्वारा पनि मुक्तकण्ठले प्रशंसा: रोकिएन व्यापारको रफ्तार
तपाईं के खोज्दै हुनुहुन्छ ?

जबज कोठामा बसेर बुद्धिविलासको भरमा गुथेको मनगढन्ते कहानी होइन



अ+ अ-

जननेता मदन भण्डारीले विचार दर्शनका रूपमा अघि सार्नु भएको जनताको बहुदलीय जनवाद (जबज) एक राजनीतिक सिद्धान्त नै हो । जबजको यस सिद्धान्तलाइ प्रबर्धन, विकास र प्रचार गर्ने दुरदृष्टि लिएर स्थापना गरिएको मदन भण्डारी फाउन्डेसनले यस वर्ष २५ वर्ष पुरा गरेको छ । अहिले हामी रजत वर्ष मनाउँदैछौं। राजनीतिक दर्शनले नै आर्थिक, सामाजिक दर्शन–दृष्टिकोण र व्यवहारलाई निर्देषित गर्छ भन्ने चेतना भएकाले जबजका प्रणेता, सृजनाकारहरु र कार्यकर्ताले आजभन्दा ३३ वर्ष अगाडि एउटा यस्तो राजनीतिक सिद्धान्तको निर्माण गर्नुभयो, जुन समकालीन नेपाल र नेपाली समाजको यथार्थतामा आधारित छ । भन्नैपर्छ, नेपालको धरातलीय यथार्थबाट टाढा रहेर, कोठामा बसेर बुद्धिविलासका लागि गुथेको मनगढन्ते कहानी होइन जबज ।

विश्वको राजनीतिक इतिहास र नेपालको इतिहास एवं घटनाक्रमबाट पाठ सिकेर, समाजका विभिन्न तह र तप्कासहित पार्टीका कार्यकर्ता र नेतासँग घनीभूत छलफल गरेर समाजवादतर्फको यात्रामा अघि बढ्न तयार गरिएको यो रणनीतिक मार्गनिर्देशन हो ।

२३/२४ वर्ष अगाडि नेपालको राजनीतिमा सक्रिय अरु पार्टीका नेताहरूले नेपाललाई सिंगापुर र स्विट्जरल्याण्ड बनाउने सपना बाँडिरहेका थिए, चुनावी नारा लिएर जनताका घरदैलोमा गएका थिए । त्यसबखत नेकपा एमाले भने मदन भण्डारीले प्रतिपादन गरेको जबजको सिद्धान्तमा अबिचल रहेर जनताको बीचमा सतिसाल झैं उभिएको थियो । एमालेका नेताहरू नेपालको यथार्थलाइ शीरमा राखेर नेपाल र नेपालीको उन्नतिका लागि स्पष्ट दस्तावेज सहित जनतासामु गएका थिए।

मेरो बुझाइमा नेपाली र दक्षिण एशियाका समाजहरु वैज्ञानिक पद्धति वा विज्ञानसम्मत कुराहरूमा त्यति रुचि राख्दैनन् – केही अपवाद होलान् । मूलतः वैज्ञानिक प्रक्रियामा समाजमा भएका मान्यता वा परिकल्पनालाई परीक्षण गर्ने, प्रश्नावली लिएर मैदानमा गएर समस्या पहिचान गर्ने, प्रमाणहरू सङ्‌कलन गर्ने र निष्कर्ष अनि सम्भावित समाधान खोज्ने गरिन्छ ।  भौतिक विज्ञानको पाठ्यक्रममा त यो छ, तर सामाजिक विज्ञानमा वास्तविक संसारमा, दैनिक जीवनमा हामीले यो मनोवृत्ति / प्रवृत्ति राख्दैनौ।

कार्ल मार्क्सले प्रतिपादन गरेको दर्शन मार्क्सवाद यहि विज्ञानका कदम पार गरेर आएको राजनीतिशास्त्र र अर्थशास्त्र‌को दर्शन हो । यो ढाँचामा रहेर नेपालको उन्नतिका लागि सबैभन्दा उत्तम बाटो भनेर विज्ञानका तिनै कदम पूरा गरेर निकालिएको निष्कर्ष हो – जनताको बहुदलीय जनवाद । जननेताका पुराना टिप्पणीहरू डायरीमा, देशका विभिन्न ठाउँ, विभिन्न जातजाति र तहतप्काका प्रतिनिधि पात्रहरूसँग लिइएका टिप्पणी, प्रश्नोत्तर, स्थानीय नेताहरूले पठाएका पृष्ठपोषण, पत्रहरु छन् – धेरैजसो हामीले मोरङको इटहरामा रहेको जननेताको संग्रहालयका लागि दिएका छौं । जननेताका सहयोद्धाहरु, जबजका सहलेखकहरु, सूचना दिने नेताहरुसँग पनि उहाँहरुको डायरी टिप्पणीहरु होलान् – यी सबै प्रमाण हुन् – जबज लेखनका लागि गरिएका वैज्ञानिक तयारीहरु ।

जबजको भूमिकादेखि बुँदाबुँदामा नेपाली समाजको गहिरो अध्ययन, समस्याका सम्भावित समाधान र सम्पूर्ण नेपालीहरुको राज्य र श्रोतमा कसरी समान पहुँच स्थापित गर्न सकिन्छ भन्ने उपायहरु छलफल भएका छन् । ‘विकास’ भनेको आफैमा एउटा मात्र सर्वमान्य अर्थ बोकेको जादुमय शब्द हो जस्तो गरि अहिले जसरी नेपाली समाजमा तर्क विर्तक, प्रवचन आदि गरिन्छ र राजनीतिक विचार – मार्गनिर्देशन, र राजनीतिशास्त्रका दर्शनलाई हामीलाई विदेशी ‘वाद’ चाहिंदैन “विकास” चाहिन्छ भन्दै वैज्ञानिक रणनीतिक दर्शनलाई वैकल्पिक र अनावश्यक भन्दै गलत दिशामा राजनीतिलाई धकल्ने कोशिश सुनियोजित रुपमा हुँदैछ। आफु कुनै पनि वादको वकालत नगर्ने केवल नेपाली विकास गर्ने भन्छन । तर अनायासै उनीहरू नव-उदारवादका कारिन्दा अमेरिकन विश्लेषक फ्रान्सिस फुकोयामाका अनुयायी बनेका छन् ।

यिनले नेपाली विकास प्रेमीले बहुल समाज रहेको देश, हाम्रो भौगोलिक परिस्थिति, भू-राजनीतिक, जलवायु परिवर्तनको हिसाबले जोखिममा रहेको, कृषिमा आधारित तर कृषि उत्पादन शैली प्रकृ‌यामा औद्योगिक प्राविधिक क्रान्ति नभैसकेको, वर्ग विश्लेषण आफ्नै विशिष्ट परिस्थितिमा गर्नुपर्ने भएको स्थितिमा नव-उदारवादले र आधुनिकिकरण सिद्धान्तले परिभाषित गरेको विकास‌ले उन्नती हुन्छ – आत्म चिन्तन गर्नुपर्छ सोच्नु पर्छ ?. उनीहरु अनायासै या नियोजित ढङ्गले उदार पूँजीवादको परिभाषालाई नै विकास‌को ध्रुव सत्य, विश्वव्यापी परिभाषा भन्ने तर्कलाई मलजल गरिरहेका छन् । अनि आखिरमा उनीहरु पनि कुनै विदेशी’ वाद’ कै एजेन्डाको हली भएका छन् ।

राज्यसँग देशसँग सिमित श्रोत हुन्छन् र यसको परिचालन र लाभार्थी बन्न पहुँच हुने र नहुने बीच संघर्ष हुन्छ नै। यो सत्य स्वीकार गरेर रणनीतिक हिसाबले राजनीति अगाडी बढ्‌छ कुनैपनि समाज । न्यायिक समाज र समुन्नत नेपालको खाका कोर्न वैज्ञानीक ढाँचा र प्रक्रियागत रणनीति चाहिन्छ । भिडले खिसीट्‌युरी गर्यो भनेर विचारको र दर्शनको भोला नबिसाउनुहोस् । विचारमा पहिले जस्तो विश्वास छैन, लरबराउनु भएको छ भने फेरि एकचोटी राजनीतिक, अर्थशास्त्रका दर्शनहरू अध्यन गर्नुहोस, अनि त्यसपछि राष्ट्रिय र अन्तराष्ट्रिय स्थिति अध्यन गर्नुहोस् र फेरि जबज पढ्‌नुहोस् – विचारले तिखारिएपछि कदम मजबुत हुनेछन, खिसीट्‌युरी गर्दा भएका आत्मगलानी हराउनेछन् र फेरि समाजका लागी र देशका लागी समर्पित हुने उर्जा – दिगो उर्जा मिल्ने छ ।

श्रोत साधन र अध्ययन गर्ने मामिलामा पश्चिमाहरु हामी भन्दा अगाडी छन् । उनीहरूले पनि गहिरो अध्यन गरेर – रणनीति लगाएर नै हाम्रो जस्तो देशहरूमा विभिन् परियेजनाहरु लिएर आउँछन् जसको अभिप्राय कि उनीहरको सिद्धान्तलाई वल पुगोस् वा हाम्रा श्रोत माथि उनीहरुको नियन्त्रण होस भन्ने हुन्छ । उनीहरुले राजनैतिक विचारधाराको अन्त्य भएको घोषणा गरेपनि उनीहरले वैचारिक युद्ध रोकेका छैनन् । आफ्नो विचारधारा, आफ्नो राज्यको लाभको लागी, पूँजीवाद – उदारवाद लाई सर्वमान्य बनाउन उनीहरु निर्वादरुपमा भाष्य निर्माणमा लागेका छन्। यो बुझेरै चीनले चीनमा गुगल र फेसबुक चल्न दिदैन, यो बुझेरै अमेरिकन आधिपत्य भएको AI लाई चुनौती दिएर आफ्नो AI निर्माण गरेको छ । अब युरोपका केहि धनी देशले पनि आफ्नै AI बनाउँदैछन। शीत युद्धको धङ्धङी गएको छैन, वैचारिक युद्ध चलि नै रहेको छ र यसको सहायताले हाम्रा जस्ता मुलुकको श्रोत नियन्त्रण गर्ने, हामीलाई उपनिवेश राज्यमा सिमित गर्ने होड चलिरहेको छ । तसर्थ विचारको लडाई र राजनीतिक मार्गनिर्देशन, राजनीतिक प्रणालीको विचारकोको सान्दर्भिकता मरेको छैन । यो निरन्तर चल्छ ।

यो स्वीकार गरेर जबजको आवश्यकतालाई स्वीकार गरेर यसलाई राज्य, आम जनमानसमा र राजनीतिमा मूलप्रवाहिकरण गर्ने उद्देश्यमा फाउन्डेशन लागेको छ । अझ केहि समय यता त प्रणाली, व्यवस्थित कानुनी प्रक्रिया, सामूहिक कार्य, कमिटीहरुलाई नै कमजोर गरेर “स्वतन्त्र’’ एक व्यक्तिको स्वविवेकमा देश सुम्पन सक्ने उत्सुकता छ । बढ्दो आत्मकेन्द्रित, लोकप्रियतावादी एकल नायकको विघटनकारी शैलीमा  “राम्रो गर्छ भन्ने धारणाहरू व्यक्त हुँदैछन् । कुन वर्गको राम्रो, कस्तो राम्रो – त्यो व्यक्तिको विचारमा, त्यो – नबुझी उसँग प्रतिबद्धता नलिई, उसको कामको हर्जना भोग्न तयार भएको छ समाज, उसको जवाफदेहीता, उसको धरौटी केही माग्दैनन् मतदाताहरूले ।

विश्वमा कहिं कहिं विशेषगरि अमेरिकी समाजमा र राज्य शैलीमा एकल व्यक्तिलाई श्रेय दिने अभ्यास र सामाजिक मान्यता छ । जस्तै स्मार्टफोन बनाउने एप्पल फोन निर्माण गर्ने श्रेय केवल Steve Jobs लाई दिइन्छ, उनीसँग काम गरेका अरु वैज्ञानिक /अन्वेषक, समकक्षीहरूलाई वास्ता गरिँदैन । त्यस्तै Elon Musk लाई पनि one-man-show को रुपमा अमेरिकी जनताले आफ्ना नागरिक , देशवासी र सम्पूर्ण विश्वसामु प्रस्तुत गरेको छ । यो अमेरिकी राज्यको व्यवस्थित दृष्टिकोण हो जुन अहिले त्यहाँको राजनीतिक परिदृश्यहरुमा देखा परेको नयाँ अवस्थाका कारण त्यहीका नागरिक र देशवासीको सामु पनि उदाङ्ग छ ।

विश्वभरी कुलिन र धनाढ्‌य समुहहरु शैक्षिक संस्थाहरुलाई अवैध गर्ने, अपवादमा रहेका कलेज college drop, high school dropout achiever हरुको उदाहरण दिएर शिक्षा प्रणालीलाई अवैध गर्ने लहर चलाएका छन् । जुन संस्था र जुन शिक्षा प्रणालीले उनीहरुलाई सेलिब्रेटी, अन्वेषक, व्यापारी बनायो अहिले उनीहरु त्यही शिक्षा प्रणालीलाई अवरोध गरेर समग्र शिक्षाको दृष्टिकोणलाई न्यूनीकरण गर्दै केवल व्यावसायिक तालिमको मात्र वकालत गर्दैछन् । नागरिकलाई सशक्त गर्ने अचुक उपाय हो समग्र शिक्षा । समयानुकुल पाठ्यक्रम परिमार्जन हुनुपर्छ, अद्यावधिक हुनुपर्छ तर व्यवस्थित तरिकाले दिने समग्र शिक्षा र शिक्षण संस्थाहरूलाई कमजोर गर्नुहुँदैन । आम नागरिकहरूलाई केवल व्यावसायिक तालिम मात्र दिएर-विचार, बुद्धि र ज्ञानमा भुत्ते बनाएर एकोहोरो कामदर, कुलिन वर्गको परिसेवक, उनीहरुको नाफा बृद्धिको उपकरणमा मात्र ठुलो जनसङ्ख्यालाई सीमित गर्नु हुँदैन ।

समाज‌मा देखा परेका यस्ता नाराहरुका विरुद्ध, मान्छेलाई चेतनशील विचार विमर्श गर्ने प्राणीबाट मसिन बनाउने प्रयासहरूका विरूद्ध र अराजकतावाद विरुद्ध लड्‌ने, जबजमा आधारित रहेर न्यायिक र समुन्नत देश बनाउने अभियानमा फाउण्डेशन अगाडि बढेको छ । हामी फाउण्डेशनका सदस्यहरु यसमा अगाडि बढेका छौं। मलाई विश्वास छ तपाईंहरू‌ले पनि फाउण्डेशनको मञ्च र गतिविधिलाई यसरी नै बुझ्नुभएको छ । र यसको सदुप‌योग गर्नुहुनेछ । अभियानमा भेट हुने नै छ ।

उषा किरण भण्डारी मदन भण्डारी फाउन्डेसनको अध्यक्ष हुनुहुन्छ ।