८ जेष्ठ २०८२, बिहीबार
,
Latest
कर्मचारीमा काम गर्ने मनसाय कम देखियो-सतिश कुमार सिंह भरतपुर विमानस्थलमा ठूला जहाज उडान गर्ने प्रयास लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल ‘सर्पदंश रोकथाममा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्छ’ कोशी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल कर्तव्य ज्यान घटनाका फरार प्रतिवादी हरिराम यादव पक्राउ थाइल्यान्डमा खुल्यो दुई लाख उत्पादन क्षमता भएको चांगानको इभी प्लान्ट डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अधिकृतमाथि कालोमोसो छ्यापियो माओवादी केन्द्रप्रति जनतामा आशा पलाएको छः अध्यक्ष दाहाल परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वतन्त्र प्रेसबिना लोकतन्त्रको कल्पना गर्न सकिँदैनः राष्ट्रपति पौडेल



अ+ अ-

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रका निम्ति नेपाली पत्रकारहरूले आफ्नो जीवन र जीविकाको समेत परवाह नगरी काम गरेको बताउनुभएको छ ।

नेपाल रिपब्लिक मिडियाले आज यहाँ आयोजना गरेको १६औँ नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जसरी लोकतन्त्रबिना स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिता सम्भव छैन त्यसरी नै स्वतन्त्र प्रेसबिना लोकतन्त्रको कल्पना गर्न नसकिने बताउनुभयो ।

राष्ट्रपति पौडेलले पत्रकारिता क्षेत्रले मुलुकमा केही भएन भन्ने भाष्यलाई चिर्दै केही भइरहेको छ भन्ने बाटोमा डोहोर्‍याउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“पत्रकारिता क्षेत्रको काम भनेको केही भएन मात्र भन्ने होइन, केही भइरहेको छ भन्ने देखाइदिने पनि हो । यसरी काम गर्न सकिन्छ भनेर उदाहरण दिने पनि हो । यो कार्यक्रम त्यसैतर्फ केन्द्रित रहेकामा मलाई खुसी लागेको छ ।”

राष्ट्रपति पौडेलले वर्तमान समयमा लोकप्रियतावाद हाबी भएको भन्दै प्रशंसा मात्र खोज्ने प्रवृत्ति बढ्यो भने सत्य थाहा नहुने धारणा राख्नुभयो । यसकारण सजग प्रेसले सदैव सही, सत्य सूचना प्रवाह गरेर लोकतन्त्रका नागरिकको आलोचनात्मक चेतलाई विस्तारित गर्न सक्ने उहाँको विश्वास थियो ।

बिपी कोइरालाले आफू प्रधानमन्त्री भएका बेला तत्कालीन अवस्थामा पत्रकारलाई बोलाएर पत्रिका निकाल्न र सरकारको निरन्तर खबरदारी गर्न गरेको आग्रह स्मरण गर्दै राष्ट्रपति पौडेलले लोकतन्त्रसँंग स्वतन्त्र प्रेसको यही अन्योन्याश्रित सम्बन्धका कारण बिपीले सो आग्रह गरेको बताउनुभयो । नेपालको लोकतान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको योगदानलाई कसैले कम आँक्न नसक्ने उहाँको भनाइ थियो ।

राष्ट्रपति पौडेलले सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा उल्लेखनीय परिवर्तन आएको उल्लेख गर्दै प्रविधिको विकाससँगै सामाजिक सञ्जाल र प्रसारणका अनेक माध्यम भित्रिएका कारण नागरिक पत्रकारिताको पक्ष पनि उत्तिकै सबल बनेको बताउनुभयो । प्रविधिको दुरुपयोग गरेर भ्रम छर्ने, मिथ्या एवं संशयपूर्ण सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराबाट जोगाउनु जिम्मेवार आमसञ्चार माध्यमको दायित्व भएकामा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा कैलालीकी वन संरक्षक अभियानकर्मी नन्दादेवी कुँवर, रुपन्देहीका शिक्षासेवी घनश्याम पाठक र महोत्तरीकी क्रिकेट खेलाडी पूजा महत्तोलाई नागरिक सम्मान २०८२ बाट सम्मानित गरिएको थियो । रासस