३० बैशाख २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन मनाउने मातृ औँशी ?



अ+ अ-

फेरि पनि आमाखुवाउने औँशी आयो । आमाका फोटो फेसबुकमा पोष्ट गरेर दुनियाँलाई ढाँट्ने, फोन गरेर कर्तव्य निभाएको अभिनय गर्ने, भेटेर समाजको आँखामा छारो हाल्ने अवसरलाई आमाखुवाउने औँशी भनिन्छ भन्दा फरक पर्दैन । फरियार र चोलो नचिन्ने, ढुंग्री र पटुकी नदेख्ने युवापुस्तालाई गणतन्त्रको मदहोशीले मदर्सडे घोकाइन्छ तर आमाखुवाउने औँशीको महत्वलाई चिनाइँदैन ।

आमालाई अमृतका रुपमा, आशीर्वादका पुञ्जका स्वरुपमा, जीवनको आँखा सम्झन सन्ततिहरुलाई कहिल्यै लगाइएन । आफू जन्माउनेलाई होइन ममी र ड्याडी पैदा गर्नेलाई आमा भन्न लगाउने चलन गणतन्त्रसँगै मौलायो । आधुनिक हुने नाममा आमाहरु हराए, ममीहरु मौलाए । आमालाई देवी, जन्मदाता, सृष्टिकर्ता, संरक्षिका आदि श्रद्धेया रुपमा पुजिन्छ, पुकारिन्छ, बुझिन्छ । धर्तीलाई माता मान्ने, पृथ्वीलाई देवी ठान्ने, जगत्लाई जननी भन्ने, प्रकृतिलाई प्राण संझने परम्पराले आमालाई बचाउँछ ।

आमाले आत्मालाई शरीरमा, जीवलाई जीवनमा, प्राणलाई देहमा राखेर जन्माइदिनुहुन्छ । कोखमा राखेर, काखमा खेलाएर हुर्काको विषयलाई हाम्रा पाठ्यपुस्तकले पढाउँदैनन्, अध्ययनका विषय बनाइँदैन । देह दिएका कारण आमालाई देवीस्वरुपमा, इतिहासलाई निरन्तरता दिएकाले ईश्वरीका रुपमा उपासना गरिन्छ । आमा नभई आत्माले आश्रय पाउँदैन अर्थात् जन्म नै हुँदैन । यसकारण ब्रह्माण्डमा हरेकको आमा थिए, छन् र हुनेछन् । आमा नहुने टुहुरो हुन्छ, आसाका भित्ताहरु भत्कन्छन्, आधारका छानाहरु ढल्छन्, दु:ख पोख्ने चौतारो पाउँदैन, बाटो हिँड्ने लौरो भेट्दैन ।

गर्भपछिको पहिलो घर आमाको काख हो, त्यसपछि जन्मभूमि हो, त्यसपछि उसको संस्कार र संस्कृति हो । जसले जन्मदिने, जमिनमा टेक्ने र जीवन जिउने क्रममा संस्कार दिने काम गर्छ ती सबै आमा हुन् । आमा भुल्नेलाई अर्थात् आफ्नो धरा, धर्म र धरोहर भुल्नेलाई सन्तान होइन शैतान भनिन्छ । जन्मभूमिलाई आमा संझेर, धर्मलाई आमा ठानेर, परम्परालाई मातृआशीर्वाद संझेर ढोग्ने, पूज्ने एवं स्मरण गर्नेलाई नेपाली र ऋषिका सन्तान भनिन्छ । गौरव बढाउने हुँदा राष्ट्रलाई, पुण्य दिने हुँदा गाईलाई, आत्मा चिनाउने हुनाले अक्षरलाई, मुक्त गराउने हुनाले शास्त्रलाई आमा मानियो । आमाजस्तै कल्याणकारी हुनाले अक्षरलाई पढ्न, मूर्तिलाई पूज्न, परमात्मालाई प्रार्थना गर्न लगाइयो ।

आमा हाम्रा लागि सभ्यता हो, संस्कार हो, श्वास हो, संसार हो । आमासँगका नाता सन्तानका लागि आत्मासँगै जोडिएका हुन्छन् । आफ्नो घरको जस्तै गरी आमाका माइतीतर्फलाई श्रद्धामा तीन पुस्तासम्मको याद गरी पिण्डपानी दिइन्छ । आमाले हुर्कनमात्र होइन बुझ्न, पुज्न र कर्तव्य निभाउन सिकाउँछिन् । यसकारण हाम्रो इतिहासमा, शास्त्रमा, संस्कारमा, समाजमा, दिनचर्यामा आमाको भूमिका महत्वपूर्ण छ ।

आमा शब्द झिकिदिने हो भने सृष्टि सकिन्छ, जन्म रोकिन्छ, अस्तित्व अस्ताउँछ, जगत् जान्छ, प्राणीको प्राण पखेरु पत्तासाफ हुन्छ । यसकारण आमाको स्थान पूजनीय, दर्शनीय, प्रात:स्मरणीय र श्रद्धेया छ । आमाको कोखमा जन्मले बास लिन्छ, गर्भले आश्रय लिन्छ, सृष्टिले श्वास फेर्छ । इतिहास आमाको गर्भमा हुर्कन्छ, काखमा खेल्छ, आशीर्वादले बढ्छ अनि सन्तानको सुरक्षाकवच भई युगनिर्माणको आश्रयस्थल बन्दछ ।

आमाको जस्तै भूमिका खेल्नेलाई धाईआमा (बच्चाबच्चीलाई दुध खुवाउने) भनिन्छ । यसकारण जन्मदिन र विवाह व्रत आदिमा आमासरहकै सम्मान धाईआमालाई दिइन्छ । गर्भमा राखेर धर्ती टेकाउने आमाले मृत्युसँग जुधेर जन्माउँछिन्, प्राणको बाजी लगाएर हुर्काउँछिन्, गाँस काटेर खुवाउँछिन्, जीवन मेटाएर आशीर्वाद दिन्छिन् । यो गुण भूमिसँग मिल्ने हुँदा राष्ट्रलाई मातृभूमि भनिन्छ ।

जीवनरक्षामा सहयोग गर्ने हुँदा प्रकृतिलाई, परम्परासँग जोडिएकाले संस्कृतिलाई, ऊर्जासँग गाँसिएकाले देवीलाई, परम्परासँग टाँसिएकाले संस्कृतिलाई, पराक्रमसँग अभिन्न हुनाले पार्वतीलाई, ज्ञानमयी भएकीले सरस्वतीलाई, अर्थमयी हुनाले लक्ष्मीलाई आमाका नामले पुकारिन्छ । त्यसैले नारी हुने सौभाग्य आमालाई मात्र छ । न विद्यते अरि: यस्या: सा नारी जसको अरि वा शत्रु छैन ती नारी हुन् । नारीले घर सम्हाल्छन्, समाजलाई बाटो देखाउँछन्, संस्कृति जोगाउँछिन्, परिवारलाई ओत दिन्छिन्, राष्ट्रलाई बचाउँछिन् ।
नेपालले धर्मनिरपेक्षताको खोल ओढेपछि इतिहासलाई वङ्ग्याउने, तथ्यलाई लुकाउने, मर्मलाई मर्काउने, भावलाई भाँचिदिने कार्यले आमाको इतिहास अझेलमा परेको छ ।

गणतन्त्रसँगै अबलाहरू अलपत्रमा परेका छन्, नारीहरू नाङ्गिएका छन्, महिलाहरु महिमाविहीन भएका छन्, आमाहरू अपमानित बनेका छन् । नारीहरूले आफ्नो स्थान र गरिमालाई उठाउन सरस्वती, लक्ष्मी र पार्वतीलाई पढ्नुपर्छ । मातालाई चिन्न महासरस्वती, महालक्ष्मी, महाकालीको महिमालाई अध्ययन गर्नुपर्छ । माँलाई चिन्न नेपालेश्वरी सीता, भृकुटी, राजेन्द्रलक्ष्मीको बाटोमा हिड्नुपर्छ । आमालाई सम्मान नगर्नु, आमाको अर्थ नबुझ्नु र आमालाई मातृवत् व्यवहार नगर्नुको परिणामले हाम्रो धर्म, धरा, इतिहास, विकास, विश्वास र पहिचान दुब्लाएको छ ।

आमा (मातृभूमि, मातृभाषा, मातृशिक्षा)को सन्देशअनुसार अगाडि बढ्ने राष्ट्रले मात्र कायापलट गर्छन् अन्यथा घर न घाटका छन् । मातृभूमि, संस्कार, सभ्यता र प्रकृतिस्वरूप आमालाई देखावटी माया र श्रद्धा गर्न थालेपछि सबै क्षेत्र खस्किएको छ, हरेक क्षेत्र खलबलिएको छ, इमान्दारिता र इज्जत गुमेको छ, गौरव र गरिमा गुमनाम भएको छ, हरेक स्थानमा खतराको घण्टी बज्न थालेको छ ।

वर्तमान समयमा विदेशिने, पलायन हुने क्रमले आमाहरु अलपत्र परेका छन्, वृद्धाश्रमको झ्यालबाट अहिलेको शिक्षा र राजनीतिलाई धिकारिरहेका छन् । आफूले चपाएर खुवाएको, गाँस काटेर हुर्काएको, तातेताते गराएको सन्तानलाई फोनमा कुरा गर्न पनि विदाको दिन आउनुपर्ने अवस्थाले कुन आमाको हृदय रोएको छैन, कुन माताको आँखा रखाएको छैन, कुन माँको दिल टुटेको छैन ? आमा नचिन्ने पाटी, माताको महिमा नबुझ्ने दल, माँको मुटु नचिहाउने सरकारलाई आमाको आँशुले पोल्ला कि ? नपोल्ला ? समयले बताउला । स्वदेशमा रहेका आमाहरुलाई राजनीतिले कठपुतली बनाएर चिरहरण गरेको छ । आमाको अस्मिता मेटाउन भाषा, पेशा, प्रेम, संस्कारलाई नग्न बनाउन थालिएको छ ।

यही आलोघाउको बिचमा आमा खुवाउने औँशी आइपुगेको छ । धर्म आमा हुन्, संस्कृति माँ हुन्, परम्परा माता हुन्, यिनीहरुको निरन्तरता नभएमा शक्ति, शान्ति, सन्तान र संस्कार बाँच्दैन । आमा जीवन हुन्, जगत् हुन्, ईश्वरी हुन्, मनका भाव बुझ्ने, आशीर्वाद दिइरहने, सर्वथा कल्याण चाहने परमात्मापछिको निकट र जीवनकी प्राण हुन् । यसैले आमाको परिभाषा छैन, व्याख्या सम्भव छैन, अर्थ बुझाउने शब्द छैन, तौलने तुलो छैन त्यसकारण परमात्माको स्वरुप संझेर दर्शन, आदर र पूज्नमात्र गरिन्छ ।

आर्यावर्तका आमाहरुले सन्तान जन्माउने काममात्र गरेनन् सन्तति बस्ने भूमिलाई जगाउने र जोगाउने कार्य पनि गरे । जीउमा जीवात्मा, पञ्चतत्वमा प्राण, शरीरमा श्वास राखिदिने काम आमाले गरे । कोखमा लिएर जीवन दिए, काखमा राखेर भविष्य दिए, साथमा राखेर आशीर्वाद दिए । यसकारण भूमि रक्षार्थ, प्रकृतिको सुरक्षार्थ, सन्ततिको भविष्य संरक्षणार्थ देवीको प्रार्थना र पूजा गरिन्छ ।

मातृभाषा बचाउन बोलिन्छ, मातृसंस्कृति संरक्षण गर्न मनाइन्छ, भूमि रक्षार्थ कोटका देवीका मूर्तिहरुलाई बुजिन्छ । आजसम्म नारीहरूले कैयौन् छोरालाई सुधारेर पुत्र, योद्धाहरुलाई आशीर्वाद दिएर वीर, जनतालाई चेत दिएर शहिद, कपुतहरूलाई सुधारेर महापुरुष बनाए । यसकारण आमा शब्द बनेको थिएन भने सृष्टिको समाप्ती हुने थियो, जन्मको अवसान हुने थियो, ब्रह्माण्डको सुन्दरता सकिने थियो ।

हाम्रा पुर्खा एवंं महापुरुषहरूले आमाको नामबाट प्रसिद्धि पाए । गणेशले पार्वतीनन्दनको पगरी गुथे, भीष्मपितामहले गंगापुत्र (गांगेय)मा आफूलाई सीमित राखे, कृष्ण देवकीनन्दनको सम्बोधन मन पराउँथे, अर्जुनलाई पार्थ र कौन्तेयका नामले पुकारियो, कर्णलाई राधेय भनियो, दुर्योधन गान्धारीनन्दन भएर जिए । शासकहरू पनि आमारूपी जन्मभूमि (मातृभूमि)का सुनामले चिनिन चाहन्थे– गान्धारनरेश शकुनि, अङ्गराज कर्ण, हस्तिनापुरनरेश धृतराष्ट्र, गोरखानरेश राम शाह, नेपाल नरेश महेन्द्र, हिमालीराज्यका शासक हिमाल (पार्वतीको बुबा) आदि ।

यसकारण जन्मभूमि वा राष्ट्रलाई आमा भनियो । दुर्भाग्य – यस्ती नारीलाई, यस्ती महिलालाई, यस्ती आमाको महिमालाई ओझेलमा पारी वर्तमान राजनीतिले ३३ प्रतिशत भूमिका दिएर स्त्री जातिकै धज्जी उडाएका छन् । धर्तीलाई धारण गर्ने, धर्मलाई धान्ने आमालाई विर्सनमा रमाएका छन् । महिलामाथि कुकर्म गर्ने राजनीतिकर्मीहरु अनि दोष भने धर्म–संस्कृतिमाथि थुपारिदिएको छ ।

मार्क्सवाद  र क्रिश्चियनहरुले गरिमामयी, करुणामयी, ममतामयी नेपालआमाको आँसु पुछ्न छोडेर, वृद्धाश्रममा जान, भू्रणहत्या गर्न, चरित्र चढाएर राजनीति गर्न बाध्य गराएका छन् । यही पापले सन्तानहरु आर्थिकरूपले सम्पन्न भए पनि आत्मीय रुपले विपन्न छन्, मानसिक रूपमा गलेका छन्, चिन्ताले सुकेका छन् ।

आमा किन्न पाइँदैन, आमालाई बेच्न हुँदैन, आमाको मूल्य मापन गर्न सकिँदैन भन्ने शिक्षा परिवार, समाज र राष्ट्रले दिन छोडेको छ । हाम्रो भेषमा आमा छैनन्, घरको बनोट आमा छैनन्, मनमा आमा छैनन्, संस्कारमा आमा छैनन्, दु:ख पोख्ने चौतारीमा आमा छैनन् । आमालाई जलाएर ममी, माँलाई गुमाएर ममु बनाएपछि सामाजिक जग भत्किएका छन्, सांस्कृतिक संस्कार पहिरिएका छन्, क्युरेट गराउने पसलहरु मौलाएका छन्, बालाश्रम हुर्किएका छन्, रेष्टुरेन्ट र होटेल फष्टाएका छन्, मुद्धा बनाएर मोटाउन थालेका छन् । हे अबला हो ¤ आमा बन । हे नारी हो ¤ मा बन । हे महिला हो  माता बन । हे महिलाको खेती गर्नेहरु हो -आमा इतिहास हुन्, नारी वीराङ्गना हुन्, माँ मातृभूमि, महिला स्वाभिमान हुन् भन्ने तथ्यलाई बुझ । आमा नभएको राष्ट्र, समाज र घर मसानघाट हुन्छ ।

दलका खेताला, पार्टीका गोठाला, डलरका हलिहरुले महिलाहरुलाई आमा बन्न दिएनन् । महिलाको नाममा संस्थाहरू खोलेर खेती गरे । घर भत्काउनुपर्छ, परिवार उजाड्नुपर्छ, संस्कृति विगार्नु छ भने महिलालाई बिगार्नुपर्छ, यसपछि राष्ट्र नै बाटो भुलेर कुरुक्षेत्रमा पुग्छ । जहाँ एउटै आमाका सन्तान अर्जुन र कर्णको युद्ध हुन्छ, जो मरे पनि कुन्तीलाई पुत्रशोक पर्छ । आमालाई अधोगतितिर धकल्ने फोहरी खेलमा नेपाली चेली नफसून्, नेपाली नारी नवहकियून्, नेपाली महिलाहरू नठगिऊन् ।

शिक्षित भनिएका, विश्व परिवेश बुझेका, समाजले पत्याएका, पहुँच भएकाहरु बाटै नेपालआमाको अस्मिताहरुरण हुनु दुर्भाग्य हो । हाम्रा आमालाई पश्चिमाको देखावटी आरक्षण र संरक्षण आवश्यकता पर्दैन । नेपालका महिलाहरू लोपोन्मुख अवस्थामा पुगेका छैनन् । उनीहरू राजेन्द्रलक्ष्मी, राज्यलक्ष्मी, लक्ष्मी, सरस्वती र दुर्गामाता बन्न सक्छन् । आक्रमक व्यवहार, भड्किलो भाषण, नग्न लवाई र तामसी खुवाईबाट भविष्यका आमा जन्माउन सकिँदैन ।

सतीदेवी, सीता, गार्गी ? भृकुटी ? पारिजातबाट नेपालका नारीले आमा बन्ने पाठ पढ्दा हुँदैन र ? प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रले नारीहरुको हुर्मत नलिएको भए नारीहरु आमा बन्ने पाउने थिए । आजका आमा र अब आउने आमाले के गर्नुपर्छ, हाम्रै इतिहासबाट, काँगडाको युद्धबाट, पुराणका पानाबाट सिक्नुपर्छ । छोरी नभएको घर अँध्यारोमात्र हुँदैन पर्वहरु खल्लो बन्छन्, अवसरहरु अस्ताएझैँ लाग्छन् भन्ने तथ्यलाई बुझ्नेहरुले मात्र आमाखुवाउने औँशी मनाउँदा राम्रो होला कि ?

बुबाको निधनपछि सन्तान आधा टुहुरो हुन्छन् तर आमाको निधनले पूर्ण टुहुरा हुन्छन् । हरेक सन्तानको मन, मुटु, भविष्य स्वाभिमान राष्ट्रआमासँग जोडिएको हुन्छ । अत: हामी छोरा होइन पुत्र, छोरी होइन पुत्री बनौँ । छोरा कहिलेकाहीँ मोरा, छोरी पनि मोरी बन्न सक्छन् । नेपालआमाको अस्तित्व र अस्मिता बचाउन बलभद्र, कालु पाण्डे, भक्ति थापा, अमरसिंह र शिवराम बस्नेतजस्ता असल सन्तानले चौकीदारी गरे ।

सिन्धुलीगढीदेखि नालापानीमा अंग्रेजसँग युद्ध गर्दा होस्, मकवानपुरमा मुसलमान सेनासँग लड्दा होस् आमाहरुले खाली पेटमा, पिठँ्युमा बच्चा बोकेर प्रतिकार गरे, विधवा भएर पनि सन्तानलाई बुबाको आशीर्वाद दिइरहे । राष्ट्र, धर्म, संस्कृति आदि जोगाई इतिहास हस्तान्तरण गर्ने सन्तानलाई नेपालआमाले सुन्दर भविष्यसम्म याद गर्छिन् । नदीलाई कोखमा, जमिनलाई काखमा, धर्मलाई माथमा, प्रकृतिलाई साथमा, माटोलाई मनमा, इतिहासलाई आँखामा, भविष्यलाई शिरमा लिएर सन्ततिलाई तातेताते गराइरहिन् । वि. सं. २००७, २०१७, २०४६, २०६२/६३सम्ममा महिलाको रगत, नारीको पसिना, श्रीमतीको पीडाको प्रशस्त चरु आहुति भएको छ । यस्ती आमाका सन्तानले विदेशी राजनीति र धर्मलाई ढोग्ने कि ? पञ्चानन्को गर्जना किन नगर्ने ?

जुनसुकै वाद, तन्त्र, प्रणाली आए पनि आमाको आशीर्वाद बिना जिउन र हिँड्न सक्दैनन् । विदेशीका पाठ्यपुस्तक, माक्र्सका किताब, युरोपका धर्मग्रन्थबाट हाम्रा आमालाई प्रशिक्षित गर्ने होइन हाम्रै मुन्धुम, त्रिपिटक र वेदअनुसार जगाउनुपर्छ । हामी आमालाई आमाकै रूपमा, आमाकै भूमिकामा, आमाकै स्थानमा, आमाकै घरमा, आमाकै स्वरुपमा हेर्न चाहन्छौँ । मातृदेवो भवको मूलमन्त्रलाई युगौँयुगसम्म जपेर बाँच्न सिकाउँछौँ ।

वैदिक शास्त्रले, नेपालको भूमिले, हाम्रो इतिहासले आमाको गौरव बोकेको छ । आमालाई शब्दले होइन संस्कारअनुसार, उपहारले होइन उपस्थितिले सल्लाहले होइन साथ दिए उहाँकै चरणमा रहनुपर्छ । आमाका साथमा रहेर, आशीर्वाद लिएर, हिँडेमात्र लक्ष्यमा पुग्ने हुँदा आफ्नै परम्पराअनुसार आमाखुवाउने औँशी मनाउनुपर्छ । हिन्दू हुनाले, यही माटामा जन्मिएकाले, वैदिक परम्परामा हुर्किएकाले, वीर र शहीदका सन्तान हुनाले हरेक नेपालीले यो पर्वमा माटोलाई ढोगेर, धर्मलाई बुझेर आमालाई पुज्नुपर्छ ।