१९ मंसिर २०८२, शुक्रबार
,
Latest
नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य बिमाको रकम नआएपछि २४ परीक्षण बन्द



अ+ अ-

चितवन। चालु आर्थिक वर्षको साउनयता स्वास्थ्य बिमामार्फत पाउनुपर्ने भुक्तानी नपाएपछि यहाँको सङ्घीय भरतपुर अस्पतालले बिमाले तोकेका २४ किसिमका परीक्षण बन्द गरेको छ ।

परीक्षणका लागि आवश्यक रिएजेन्ट (केमिकल) खरिद गर्न कठिन भएसँगै सेवा बन्द गरेको हो । बिमा बोर्डबाट पाउनुपर्ने भुक्तानी रु ५० करोड नाघेपछि सञ्चालनमा कठिनाइ भएसँगै ती परीक्षण बन्द गरिएको अस्पतालका मेडीकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यही वैशाख १ गतेदेखि रोकिएका ती परीक्षण अत्यावश्यक परीक्षण होइनन् ।

यसअघि बिमा बोर्डले तीन महिनामा एक पटक मात्रै परीक्षण गर्न पाउने गरी नीति बनाएको थियो ।  भिटामिन डी, भिटामिन १२ लगायत परीक्षण बिमामार्फत गर्न रोकिएको हो । पौडेलले भन्नुभयो, “अत्यावश्यक परीक्षण हामीले रोकेका छैनौँ । ती परीक्षणको किट एवं केमिकल खरिद महँगो हुने हुँदा परीक्षण पनि खर्चिलो भएकाले रोकिएको हो ।

बिमा बोर्डले भुक्तानी नदिँदा, फार्मेसीमा औषधि ल्याउने कम्पनी, रिएजेन्ट (केमिकल) र प्रयोगशालामा प्रयोग हुने अन्य सामग्री खरिदमा समस्या भएको पौडेलले बताउनुभयो । उहाँका अनुसार फागुनदेखिको रु १२ करोडभन्दा बढी भुक्तानी गर्न बाँकी छ । परीक्षण सामग्री उपलब्ध गराउने कम्पनीले अस्पताललाई समान दिन नसक्ने भनेपछि परीक्षण रोकिएको उहाँको भनाइ छ ।

पौडेलका अनुसार अस्पताल सञ्चालनका लागि अहिले तत्काल रु २५ करोड भुक्तानी भयो भने अस्पतालको आर्थिक गतिविधि सञ्चालन गर्न सहज हुन्छ । बिमा बोर्डबाट भुक्तानी नआउँदा अस्पतालका कर्मचारीलाई तलब खुवाउन कठिन हुन थालेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस्तै अवस्था रहे फर्मेसीमा औषधि र प्रयोगशालामा आवश्यक परीक्षण गर्न कठिन हुन्छ ।” अस्पतालमा अहिले दैनिक एक हजार ५०० बढी स्वास्थ्य बिमाका बिरामीले उपचार लिँदै आएका पौडेलले जानकारी दिनुभयो ।  अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशतभन्दा बढी बिमाका बिरामी रहने गरेकाले पाउनुपर्ने भुक्तानी नपाउँदा अस्पताल सञ्चालनमा कठिन भएको उहाँले उल्लेख गर्नुभयो ।

अस्पतालको बिमा कार्यक्रम संयोजक लिलाधर पौडेलका अनुसार गत आवको रु ३७ करोड भुक्तानी भए पनि चालु आवको अहिलेसम्म भुक्तानी भएको छैन । अस्पताल विकास समितिको पैसाबाट बिमाका बिरामीलाई सेवा दिइएको बताउँदै उहाँले यही अवस्था रहे अस्पताल आर्थिक सङ्कटमा धकेलिने उल्लेख गर्नुभयो ।

नेपालमा सबैभन्दा बढी बिमाका बिरामीको उपचार यहाँ गराउने गरिन्छ । अस्पतालले मासिक रु छ करोड बढीको स्वास्थ्य बिमाको उपचार सेवा दिँदै आएको बिमा संयोजक पौडेलले जानकारी दिनुभयो । भरतपुर अस्पताल स्वास्थ्य बिमामा देशकै उत्कृष्ट र नमूना मानिन्छ । देशका विभिन्न अस्पतालबाट स्वास्थ्य बिमा दाबी प्रक्रिया बुझ्न यहाँ कर्मचारीहरू आउने गर्दछन् ।

समस्या देखिएका अस्पतालका कर्मचारीहरूलाई बोर्डले यहाँ जान सुझाउने गरेको संयोजक पौडेलको भनाइ छ । देशका धेरै अस्पतालबाट आएका कर्मचारीलाई बिमा दाबी भुक्तानीका बारेमा थप प्रशिक्षित गरेर पठाउने गरिएको उहाँले जानकारी दिनुभयो । रासस