२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

‘समवेदना’ सुनाएरै चर्चित ७३ वर्षीय शिरो सान्दाइ

‘समवेदना’ सुनाएरै चर्चित ७३ वर्षीय शिरो सान्दाइ
अ अ+ अ-

झापा। कञ्चनजङ्घा एफएममा कार्यक्रम प्रस्तोता बन्नुअघि मेचीनगर नगरपालिका–९ का शिरो सान्दाइ खतिवडा मेची बहुमुखी क्याम्पसमा प्राध्यापन गर्नुहुन्थ्यो । तीन दशकसम्म दैनिक घण्टौँ कक्षामा उभिएर क्याम्पसमा पढाउँदा जतिले चिने, विगत दुई दशकमा दैनिक आधा घण्टा ‘समवेदना कार्यक्रम’ सञ्चालन गर्दा त्योभन्दा कैयौँगुणा मानिसमाझ उहाँ परिचित हुनुभयो ।

‘समवेदना कार्यक्रम’ पृथक विशेषता भएको रेडियो कार्यक्रम थियो । जसको देशभित्र मात्र होइन, विदेशसम्म असङ्ख्य स्रोता छन् । विर्तामोडको कञ्चनजङ्घा एफएममा हरेक साँझ ७ बजे प्रसारण हुने ‘समवेदना कार्यक्रम’मा मृत्युका सन्देश मात्र सुनाइने गरिन्छ । जसको प्रस्तोता हो, ७३ वर्षीय शिरो सान्दाइ ।

विसं २०४६ मा बहुदलीय प्रजातन्त्र बहालीपछि मुलुकमा निजी क्षेत्रबाट रेडियो (एफएम) सञ्चालन गर्ने प्रचलन सुरु भयो । विसं २०५९ मा स्थापना भएको कञ्चनजङ्घा झापाको पहिलो एफएम स्टेसन थियो ।

रेडियो कार्यक्रममा मनोरञ्जनात्मक गीत र सङ्गीतका साथै समाचारले नै प्राथमिकता पाउने गर्छन् । तर, कञ्चनजङ्घाले ‘समवेदना कार्यक्रम’ भनेर अरुभन्दा भिन्न कार्यक्रम सुरु गर्यो । कार्यक्रमको नियमित स्रोता बताउनुहुने पत्रकार एकराज प्रधानका अनुसार कुन गाउँमा कसलाई शोक परेको छ कि भनेर रेडियो वरिपरि बसेर ‘समवेदना कार्यक्रम’ सुन्ने गाउँमा चलनै बसिसकेको छ ।

चार हजारभन्दा बढी शृङ्खला पार गरिसकेको ‘समवेदना कार्यक्रम’का चर्चित प्रस्तोता शिरो सान्दाइलाई आज प्रेस चौतारी झापाले ‘अग्रजलाई सुनौँ’ कार्यक्रममा साक्षात्कार गरायो । कार्यक्रममा सान्दाइले आफ्नो अनुभव र अनुभूतिहरु खुलेरै सुनाउनुभयो ।

आज पनि म मलामी जाँदा होस् कि बिहेमा जन्ती जाँदा”, उहाँले सुनाउनुभयो, “मानिसहरुले भेट्नासाथ ‘समवेदना कार्यक्रम’कै प्रसङ्ग निकाल्छन् । भावुक हुन्छन् र मेरो प्रस्तुतिको चर्चा गर्छन् । मैले पनि त्यही कार्यक्रमका बारेमा अनवरत भनिरहनुपरेको छ ।

कञ्चनजङ्घा एफएम स्थापना भएपछि प्रबन्ध निर्देशक चन्द्र भण्डारीले बोलाएर एउटा रेडियो कार्यक्रमको प्रस्तोता बनिदिन आग्रह गर्नुभएको उहाँले बताउनुभयो । त्यही ‘समवेदना कार्यक्रम’ कालान्तरमा आमस्रोतामाझ लोकप्रिय बन्ला भन्ने सान्दाइलाई अनुमानसम्म थिएन । पहिलो शृङ्खलाको प्रत्यक्ष प्रसारणमै उहाँको बोली काँपेको र रुञ्चे सुनिएको थियो । आखिरमा कार्यक्रम प्रस्तुत गर्ने त्यही रुञ्चे शैली नै ‘समवेदना कार्यक्रम’को विशेषता बन्न पुग्यो ।

साँझको ७ बजे शोकधुनबाट कार्यक्रम सुरु हुन्छ । त्यसपछि शिरो सान्दाइले रुञ्चे बोलीमा यसरी सुरु गर्नुहुन्छ कार्यक्रम, “नमस्कार । कञ्चनजंघा एफएम ९२ दशमलव ६ मेगाहर्जको सन्ध्याकालीन प्रसारण कार्यक्रम समवेदनाबाट प्राविधिक साथी राजन बाँस्कोटासहित म शिरो सान्दाइ हार्दिक स्वागत अभिवादन गर्दछु ।

पहाड, तराई र प्रवाससम्म मृत्यु भएका व्यक्तिहरुको खोजखबर र उहाँको जीवनकालको योगदानको कार्यक्रममा चर्चा हुने गर्दछ । ग्रामीण ठेट नेपाली लवज र रुञ्चे शैलीमा उहाँले रेडियोबाट वाचन गरेको खबर नै दूरदेहातमा रहेका आफन्तका लागि शोक सूचना बन्ने गर्छ । कार्यक्रममा सुनेकै आधारमा मृतकको घर पुगेर समवेदना व्यक्त गर्दछन् मानिसहरु । रेडियो सुन्दा सुन्दै स्रोताहरु रुने गरेको पनि सान्दाइ बताउनुहुन्छ ।

कञ्चनजङ्घा एफएमका प्रबन्ध निर्देशक एवं कार्यक्रमका परिकल्पनाकार चन्द्र भण्डारीले ‘समवेदना कार्यक्रम’को पहिलो शृङ्खलामा परीक्षणका लागि ‘फेक न्यूज’ प्रसारण गर्नुपरेको सुनाउनुभयो ।

मरेका मान्छेको खबर सुनाउँदा आमस्रोतामा कस्तो प्रभाव पर्ला भन्ने एकातिर परीक्षण गर्नुपर्ने थियो भने अर्कातिर मृत्युको खबर खोज्दै हिँड्न सुरुमा अप्ठ्यारो थियो”, उहाँले भन्नुभयो, “त्यहीकारण नक्कली नाम खडा गरेर मृत्यु सन्देशको स्क्रिप्ट बनायौँ । अर्को दिनदेखि मानिसहरुले आफैँ सम्पर्क गरेर मृत्युका साँचो घटना टिपाउन थाल्नुभयो ।

गत फागुनमा चट्याङ लागेर ट्रान्समिटर बिग्रिएका कारण हाल कञ्चनजङ्घाको सबै प्रशारण स्थगित छन् । केही अवधिभित्रै एफएम पुनःसञ्चालनमा ल्याइने र समवेदना कार्यक्रमलाई समेत निरन्तरता दिइने प्रबन्ध निर्देशक भण्डारीले जानकारी दिनुभयो ।

हजारौँ मृत्युका सन्देश सुनाउनुभएका रेडियो कार्यक्रम प्रस्तोता सान्दाइले गलत सूचनाका कारण जिउँदै मानिसको मृत्युको सन्देश प्रसारण गर्दा ठूलो मानसिक तनाव व्यहोर्नु परेको अनुभूति ‘अग्रजलाई सुनौँ’ कार्यक्रममा सुनाउनुभयो ।

एकपटक विर्तामोडका बस्नेतथरिका एक वृद्धको मृत्यु भएको दुःखद् खबर सान्दाइलाई फ्याक्सबाट प्राप्त भयो । मृतकका छोराबुहारीहरु सामाजिक क्षेत्रका अगुवा थिए । उहाँले रुञ्चे शैलीमै कार्यक्रममा मृतकको चर्चा गर्नुभयो । उहाँ भन्नुहुन्छ, “बस्नेत बा कार्यक्रमका नियमित स्रोता रहेछन् । आफ्नै आँगनमा बसेर त्यो साँझ आफ्नै मृत्युको समाचार सुनेछन् । कार्यक्रम सकिनासाथ फोन आउन थाल्यो । मेरो होस् हवास् नै उड्यो ।” भोलिपल्ट कार्यक्रमबाटै माफी मागेँ । पछि भेट हुँदा बस्नेत बाले व्यङ्ग्य गर्दै आयु बढेको प्रतिक्रिया दिनुभयो ।

प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारले पुराना र नयाँपुस्ताका पत्रकारहरुबीच अन्तरघुलनको वातावरण बनाउन ‘अग्रजलाई सुनौँ’ कार्यक्रम सुरु गरिएको बताउनुभयो । हरेक तीन महिनामा एकपटक अग्रज पत्रकारका अनुभव र अनुभूति सुन्ने यस कार्यक्रमलाई निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासङ्घ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले प्राध्यापन, राजनीति, व्यवसाय र पत्रकारिताका क्षेत्रमा स्थापित अग्रज शिरो सान्दाइ ‘समवेदना कार्यक्रम’मार्फत भुइँमान्छेमाझ परिचित हुनुभएको बताउनुभयो ।रासस