६ जेष्ठ २०८२, मंगलवार
,
Latest
सरकारभन्दा व्यवस्थाको रक्षा माओवादीको प्राथमिकताः उपमहासचिव पुन नेप्से परिसूचक ४९ अङ्कले बढ्यो कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष पक्राउ युक्रेनमा शान्ति नभए रूस विरुद्ध ‘कडा कारबाही’ गर्न अमेरिकालाई इयुको आग्रह गभर्नर नियुक्ति प्रक्रियाले चाँडै निकास पाउँछः प्रकाशशरण महत छिमेकी चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र हो: परराष्ट्र सचिव राई तीन दशकमा पनि पूरा भएन वाग्मती स्वच्छ बनाउने जिम्मेवारी हिजो प्रम विरामी भएकोले आज मन्त्रिपरिषद बस्दै, विश्वलाई गभर्नर बनाइने विश्व पौडेललाई गभर्नर बनाउने सहमति गिटी, ढुंगा, रोडा विदेशमा बेच्न दिन निजी क्षेत्रको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेगनास तालमा डुङ्गा पल्टिएपछि



अ+ अ-

गण्डकी। हावाहुरी र चट्याङ्ले बेगनास ताल वरपरको मौसम अत्यासलाग्दो थियो । यत्तिकैमा यात्रु बोकेर तालपारि गइरहेको डुङ्गा एक्कासि पल्टियो ।

रमाउँदै डुङ्गा सयर गरिरहेका यात्रु छिनभरमै तालमा डुबे । कोही पौडेर बच्ने प्रयास गर्दै थिए । कोही ‘बचाउ, बचाउ ’ भन्दै रोइरहेका देखिन्थे । डुङ्गा पल्टेको खबर पाउँदा साथ सशत्र प्रहरी बलको उद्धार टोली तालमा आइपुग्यो । उनीहरूले केही यात्रुको तत्काल उद्धार गरे । प्राथमिक उपचारपछि थप स्वास्थ्य जाँचका लागि अस्पताल पुर्‍याइयो ।

दुर्घटनामा परी तालमा हराइरहेका एक जनालाई गोताखोर टोलीले उद्धार गर्‍यो । ज्यानको पर्वाह नगरी तालमा हेलिएका उद्धार टोलीले यात्रुको जीवन बचाए । यो काल्पनिक घटना–दृश्य कास्कीको पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालको हो ।

पोखरास्थित सशत्र प्रहरी बल, मुक्तिनाथ बाहिनीको संयोजन र कालिका गणको आयोजनामा आज विपद् प्रतिकार्य नमूना अभ्यास अन्तरगत जल उत्पन्न प्रकोपसम्बन्धी उद्धार अभ्यास गरिएको हो । गण्डकी प्रदेश विपद् व्यवस्थापन टिमअन्तरगत रहेका गोताखोर, तुइन रोप उद्धारकर्तालगायत उक्त अभ्यासमा सहभागी थिए ।

तालको खोँचमा फसेका मानिसको तुइन रोपको सहायतामा उद्धार अभ्याससमेत गरिएको थियो । उक्त अवसरमा उद्धार कार्यमा प्रयोग हुने उपकरण तथा सामग्रीको प्रदर्शनीसमेत राखिएको छ । सशत्र प्रहरीलाई विपद्जन्य उद्धार कार्यमा दक्ष र सीपयुक्त बनाउन नमूना अभ्यास आयोजना गरिएको कालिका गणका गणपति सूर्यप्रसाद तिमिल्सिनाले बताउनुभयो ।

विपद् व्यवस्थापनबारे समुदायस्तरमा विभिन्न तालिम तथा सचेतनाका कार्यक्रम सञ्चालन गर्ने गरिएको उहाँले बताउनुभयो । सशत्र प्रहरी बलको मुक्तिनाथ बाहिनीका सशत्र प्रहरी नायब महानिरीक्षक कुलबहादुर नेम्वाङले गत साउनयता गण्डकी प्रदेशका ११ वटै जिल्लामा गरी एकल र संयुक्त गरी २९ वटा विपद् प्रतिकार्य नमूना अभ्यास गरिएको जानकारी दिनुभयो ।

विपद्जन्य घटनाबाट हुने क्षति न्यूनीकरणमा नमूना अभ्यासले मद्दत पुर्‍याउने उहाँले बताउनुभयो । “यस्ता अभ्यासले विपद्को समयमा हुने संवेदनशीलताको विश्लेषण गरी सुरक्षामा खटिने टोलीलाई विपद् उद्धारमा लाग्न सहजीकरण हुनेछ”, उहाँले भन्नुभयो । उद्धार अभ्यासको अवलोकनपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्राकृतिक विपद् न्यूनीकरण, खोज, उपचार र राहतलगायतका काममा सरोकार भएका सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेश प्राकृतिक रूपमा जति सुन्दर छ त्यति नै विपद्का दृष्टिले जोखिमयुक्त रहेको उहाँको भनाइ थियो । मुख्यमन्त्री पाण्डेले जल उत्पन्न प्रकोप व्यवस्थापन र उद्धारका लागि बेगनास तालमा ‘उद्धार टावर’ निर्माणका लागि प्रदेश सरकारले सहयोग गरेको बताउनुभयो ।

विपद्का घटना न्यूनीकरण गर्न गण्डकी प्रदेश सरकारले सबै सुरक्षा निकायसँगको समन्वय र सहकार्यमा विपद् नमूना अभ्यास, तालिम, प्रतिकार्य र सामग्री हस्तान्तरणका कार्यक्रम सञ्चालनमा सहकार्य गर्दै आएको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री पाण्डेले पानीजन्य विपद्को जोखिम न्यूनीकरण गर्न प्रदेश सरकारले सशस्त्र प्रहरी बलसँगको सहकार्यमा गोताखोर तालिम सञ्चालन गरिएको बताउनुभयो । “सक्रिय तयारी, सुदृढ समन्वय र स्थानीय तहसम्म उद्धार क्षमताको विकासले विपद्बाट हुने ठूलो क्षति न्यूनीकरण गर्न सकिन्छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो । उहाँले प्रदेशस्तरमा रू १० करोड नघट्ने गरी र जिल्लास्तरमा रू दस लाख नघट्ने गरी विपद् व्यवस्थापन कोष सञ्चालन गरेको जानकारी दिनुभयो ।

विसं २०६९ मा स्थापना भएको प्रदेश विपद् व्यवस्थापन टिममा सहायक प्रहरी निरीक्षकको नेतृत्वमा ४५ जना दक्षजनशिक्त रहेको कालिका गणका गणपति तिमिल्सिनाले जानकारी दिनुभयो ।

टिममा १३ जना तालिम प्राप्त गोताखोर रहेका छन् । फायर फाइटर चार जना र रोप उद्धारकर्ता सात जना रहेका छन् । हालसम्म विपद् व्यवस्थापन टिमले १२ सय ३० जनाको जीवित र दुई सय ८३ जनालाई मृत अवस्थामा उद्धार गरिएको गणपति तिमिल्सिनाले बताउनुभयो ।