२३ असार २०८३, मंगलवार
,
Latest
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेमसङ्घको राष्ट्रिय युवा महिला भेला बुधबार



अ+ अ-

काठमाडौँ। अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) केन्द्रीय युवा कमिटीले युवा महिलाको सशक्तीकरण र सहभागिता वृद्धि गर्ने उद्देश्यले बुधबार राष्ट्रिय युवा महिला भेलाको आयोजना गर्ने भएको छ ।

अनेमसङ्घ केन्द्रीय युवा कमिटीले आज यहाँ पत्रकार सम्मेलन गरी ‘समुद्ध नेपालः सुखी नेपाली’ को सङ्कल्प पूरा गर्दै समान सहभागिताका लागि सुदृढ सङ्गठन बनाउने सोचका साथ भेलाको आयोजना गर्न लागिएको जनाएको हो ।

युवा कमिटीका संयोजक विन्दु अधिकारीले युवा उमेर व्यक्तित्व निर्माणदेखि राष्ट्र निर्माणमा निकै महत्वपूर्ण भएकाले उत्पादन, उद्यमशीलता र रोजगारीमा लगाउनुपर्ने बताउनुभयो । “युवा उमेर व्यक्तित्व निर्माणदेखि राष्ट्र निर्माणमा निकै महत्वपूर्ण हुन्छ, युवा परिचालनबाट मात्र कुनै पनि देशले विकासको गति समात्न सक्छ”, उहाँले भन्नुभयो, “पछिल्लो राजनीतिक घटनाक्रमले युवामा राजनीतिप्रति अत्यधिक चासो छ भन्ने देखाउँछ, तिनको सही ढङ्गले परिचालन हुन नसक्दा पश्चगामी सोच राख्ने र गणतन्त्रविरोधी तत्वले उनीहरूलाई गलत बाटोमा लैजाने खतरा हुन्छ ।

भेलामा उत्पादन, उद्यमशीलता र रोजगारीमा युवा महिलाहरूको अवस्था र सम्भावना, युवा महिलाको नेतृत्व, सशक्तीकरणका अभ्यास र भावी रणनीति, प्रगतिशील संस्कृति, सामाजिक रूपान्तरण र युवा महिला, राजनीतिक दल तथा अन्य सङ्गठनमा युवा महिला नेतृत्व र लैङ्गिक समानताका सवालमा छलफल हुनेछ । साथै युवा महिला केन्द्रित राज्यका नीति, कार्यक्रम र प्रभावकारिता, जलवायु परिवर्तन, आप्रवासन र युवा महिलामा अर्थतन्त्रले पारेको प्रभाव, अनुकूलनको अभ्यास र प्रविधिको विकासले महिलामा पारेको प्रभाव, सम्भावना र चुनौतीको विषयमा विस्तृत रूपमा छलफल हुने जानकारी दिइयो ।

सम्मेलनमा सात प्रदेश र ७७ जिल्ला कमिटीबाट तीन÷तीन जना गरी ४० वर्षमुनिका करिब पाँच सय युवा महिलाको सहभागिता रहने सङ्घका अध्यक्ष टुकाभद्र हमालले जानकारी दिनुभयो । भेला युवा महिलाको आवश्यकताः आकाङ्क्षा र आवाजलाई राज्य र राजनीतिक दलका नीति, संरचना र कार्यक्रममा पुर्याउने अभियानको सुरुआत भएको उहाँले बताउनुभयो ।

अनेमसङ्घले सातौँ राष्ट्रिय सम्मेलनमार्फत नेतृत्वमा युवाको महभागिता बढाउने उद्देश्यले कमिटीमा युवा महिलाका लागि ३० प्रतिशत स्थान सुरक्षित गर्ने नीति पारित गरेको छ । सम्मेलनपश्चात् अनेमसङ्घ केन्द्रीय युवा कमिटी गठन गरी प्रदेश, जिल्ला तथा पालिका तहमा समेत युवा कमिटी निमाण गर्ने जनाइएको छ । यसअघि पहिलो राष्ट्रिय भेला २०८९ सालमा भएको थियो । रासस