काठमाडौं । इङ्लिस क्लब आर्सनल च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
भर्खरै सम्पन्न क्वाटरफाइनलको दोस्रो लेगमा स्पेनी क्लब रियल मड्रीडलाई २-१ ले हराउँदै समग्रमा ५-१ को नतिजासहित आर्सनलले सेमिफाइनलको टिकट काटेको हो ।
रियलको घरेलु मैदान सान्टीयागो बर्नबेउमा खेलको १३ औं मिनेटमा नै आर्सनलले अग्रता बनाउने अवसर गुमायो ।
बुकायो साकाले पेनाल्टीमा गोल गर्न चुक्दा आर्सनलले अग्रता लिने अवसर गुमाएको हो । तर दोस्रो हाफमा ६५ औं मिनेटमा साकाले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । त्यसको दुई मिनेटमा नै रियलले बराबरी गोल फर्कायो ।
आर्सनलका डिफेन्डर विलियम सलिबाले गरेको गल्तीको फाइदा उठाउँदै भिनीसियस जुनियरले गोल गर्दै रियललाई १-१ को बराबरीमा ल्याए ।
यता थप समयमा गाब्रीयल मार्टीनेलीले गोल गर्दै आर्सनललाई २-१ को जित दिलाउँदा आर्सनल एग्रीगेटमा ५-१ को नतिजासहित सेमिफाइनल पुग्यो ।
अब आर्सनलले सेमिफाइनलमा पिएसजीको सामना गर्नेछ ।
यसैबीच क्वाटरफाइनलकै अर्को खेलमा जर्मन क्लब बायर्न म्युनिखसँग २-२ को बराबरी खेल्दै समग्रमा ४-३ को नतिजासहित इटालियन क्लब इन्टर मिलान पनि सेमिफाइनलमा प्रवेश गर्यो ।
उसले सेमिफाइनलमा बार्सिलोनाको सामना गर्नेछ ।










