काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन् । क्वाटरफाइनलका दोस्रो लेगका दुई खेल हुन लागेका हुन् ।
जसअन्तर्गत इंग्लिस क्लब आर्सनल र स्पेनिस क्लब रियल मड्रिडबीच भिडन्त हुँदैछ भने जर्मन क्लब बायर्न म्युनिखले इटालियन क्लब इन्टर मिलानको सामना गर्दैछ ।
दुबै खेल नेपाली समयानुसा राति पौने एक बजे सुरु हुनेछ । यसअघि भएको पहिलो लेगमा आर्सनलले आफ्नो घरेलु मैदान इमिरेट्समा रियलमाथि ३–० को जित निकालेको थियो । जसकारण एग्रिगेटमा आर्सनल रियलभन्दा ३–० ले अगाडि छ । यद्यपि, रियलले आज घरेलु समर्थक र मैदानको भरपुर फाइदा उठाउँदै नतिजा आफ्नो पक्षमा पार्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।
अर्कोतर्फ, इन्टरलाई भने आज फाइदा छ । यसअघि भएको पहिलो लेगको खेलमा उसले बायर्नलाई उसकै घरेलु मैदानमा २–१ गोलले हराएको थियो । जसकारण उसलाई आज घरेलु मैदानमा बराबरीको नतिजाले पनि सेमिफाइनलमा पुर्याउने छ । तर, बायर्न पनि पुनरागमन गर्दै इन्टरलाई उसकै घरेलु मैदानमा सुखद नतिजाले हराउँदै सेमिफाइनलमा पुग्ने मनोबलका साथ मैदानमा उत्रनेछ ।
यसैबीच, गएराति भएका खेलबाट एग्रिगेटमा सुखद नतिजा निकाल्दै बार्सिलोना र पिएसजीले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।










