२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्ति प्रक्रियालाई टुङ्ग्याउन संवेदनशील भएर जिम्मेवारी पूरा गरौँ



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तिम अवस्थामा पुगेको शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन सरोकार भएकाहरूले संवदेनशील भएर आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिनुभएको छ ।

संविधानसभा सदस्य एवं वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाद्वारा लिखित ‘सङ्क्रमणकालीन न्याय’ सम्बन्धी पुस्तकको आज यहाँ विमोचन गर्दै उहाँले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन नसकेको खण्डमा फेरि समाजमा द्वन्द्व निम्तन सक्ने खतरा औँल्याउनुभयो ।

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई राष्ट्रिय सहमतिबाटै टुङ्ग्याउनुपर्छ भनेर पहलकदमी लिइरहेको जनाउँदै अध्यक्ष दाहालले बहुमतबाट टुङ्ग्याउने प्रस्ताव रोकेर आफूले राष्ट्रिय सहमतिको प्रयास गरेको दाबी गर्नुभयो । “सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी काम बहुमतबाट टुङ्ग्याउने कुरा राष्ट्रिय सहमतिबाटै हुनुपर्छ, बहुमतबाट गर्‍यौँ भने शान्ति प्रक्रिया पनि विभाजित हुन्छ, फेरि द्वन्द्वको बिजारोपण हुन्छ । त्यसकारण यसो गर्न हुँदैन भनेर अडान लिएको मैले नै हो”, उहाँले भन्नुभयो ।

अध्यक्ष दाहालले शान्ति प्रक्रियाजस्तो संवदेनशील विषय बहुमत र अल्पमतका आधारमा टुङ्ग्याउन नहुने अडानकै कारण सङ्घीय संसद्को दुवै सदनबाट सर्वसम्मत रूपमा सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन तर्जुमा भएको बताउनुभयो ।

जनयुद्धको मुख्य नेतृत्वकर्ता माओवादी द्वन्द्वकालीन गम्भीर प्रकृतिको घटनामा आममाफीको पक्षमा थियो भनेर प्रचार गर्न खोजिए पनि त्यो सत्य नभएको उहाँको भनाइ थियो । “आममाफी हुनु हुँदैन, गम्भीर प्रकृतिका मानवअधिकारका घटनाको छानबिन हुनुपर्छ, दोषीमाथि कारबाही गरेर मात्रै शान्ति प्रक्रिया दिगो हुनसक्छ”, अध्यक्ष दाहालले भन्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले शान्ति प्रक्रियाअन्तर्गत माओवादी लडाकु समायोजन र हतियार व्यवस्थापन सम्पन्न भए पनि सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउन नसक्दा उपलब्धि ओझेलमा परेका बताउनुभयो । उहाँले द्वन्द्वमा परेर पीडित बनेका नागरिकको समस्यालाई आफ्नै सम्झेर व्यवहार गर्न नसक्दा सङ्क्रमणकालीन न्यायमा ढिलाइ भएको यथार्थलाई सबैले स्वीकार गर्नुपर्ने धारणा राख्नुभयो ।

“वर्तमान सरकार सङ्क्रमणकालीन न्यायका विषयलाई टुङ्ग्याउन संवेदनशील छ, यससम्बन्धी विशेष सल्लाहकार राखेरै काम भइरहेको छ”, उपमहासचिव ज्ञवालीले भन्नुभयो, “सर्वसम्मत रूपमा कानुन बनेको छ, न्याय र परिपूरणको ढोका खोल्ने कानुनी आधार निर्माण भएको छ । सङ्क्रमणकालीन न्यायको मर्म बुझेको व्यक्ति आयोगमा ल्याउन सबैले सहयोग गरौँ । यसले थप सहज हुनेछ ।”

वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले शान्ति सम्झौताको मर्मलाई बिर्सेर सङ्क्रमणकालीन न्याय टुङ्गिन नसक्नेमा भन्दै राष्ट्रिय÷अन्तरराष्ट्रिय समझदारीबाट यसलाई निष्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिनुभयो । “सशस्त्र युद्धलाई शान्तिमा रूपान्तरण गर्न धेरै काम भएका छन्, अब शान्ति सम्झौताका बाँकी काम टुङ्ग्याउनुपर्छ । यो राष्ट्रिय मुद्दा हो, राजनीतिक फेरबदलले असर गर्नुहुँदैन”, उहाँले भन्नुभयो ।

संविधासभा सदस्य अधिकारीले द्वन्द्वकालीन घटनामा सत्यको अन्वेषण, परिपूरण, अब युद्ध नगर्ने वचनबद्धताको पालाना र गम्भीर प्रकृतिका मानवअधिकार उल्लङ्घनका घटनामा संलग्नलाई कारबाही गरेर जानुपर्ने बताउनुभयो ।

माओवादी नेत्री देवी खड्काले सङ्क्रमणकालीन न्यायको विषयलाई ठीक ढङ्गले बुझ्नुपर्ने र सत्यलाई स्वीकार गरेर उठेका विषयमा सम्बोधन गरिनुपर्ने बताउनुभयो । पूर्वरथी चित्रबहादुर गुरुङले सङ्क्रमणकलीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सबै पक्ष संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।

पुस्तकका लेखक देवकोटाले शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्गोमा पुर्‍याउन मार्गचित्र बनोस् भन्ने उद्देश्यले पुस्तक तयार गरेको जानकारी दिनुभयो । “इतिहास पनि नमेटियोस्, अन्तरराष्ट्रिय अनुभव पनि लिपिबद्ध होस् । अब कसरी जानुपर्छ भन्ने दिशानिर्देशन गर्न सकियोस् भनेर पुस्तक लेखेको हुँ”, उहाँले भन्नुभयो ।

छ खण्डमा समेटिएको पुस्तकमा नेपालमा सङ्क्रमणकालीन न्याय यात्रा, सङ्क्रमणकालीन न्यायको विभिन्न पाटो, अन्तरराष्ट्रिय अभ्यास, सङ्क्रमणकालीन न्यायः यात्रा वृत्तान्त, नेपालको शान्ति प्रक्रियाको आगामी बाटो र केही लेखहरू समेटिएका छन् । रासस




भर्खरै