
सन् २००७ तिरको कुरा हो मेरो डिभी चिठ्ठाको पत्र धरान हुलाक कार्यालयमा आईपुगेको खबर त्यहाँका कर्मचारी मेरै दाजुमार्फत् गाँउमा हल्ला फैलिएको थियो । १५ दिनअघि (हामी सँगै डिभी फारम भरेका) छिमेकी दाजु (सूर्य प्रधान) को चिठी पनि यसैगरी आएको थियो । शुक्रबार धरानमा आएको चिठी आइतबार घरमै आइपुग्यो । त्यो बेला डिभी भर्ने चलन अलि कम नै थियो । त्यसबेला डिभी भर्नेहरु मध्येबाट सुनसरी जिल्लामा म सहित करिब पाँच–छ जनालाई पहिलो पत्र आएको थियो होला ।
खुशी नहुने कुरै थिएन, अमेरिका जाने सपना त्यही डिभीले देखायो । मसँग शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकता थियो । थप कागजातमा मलाई स्पोनसरको विस्तृत विवरण जुटाएर परिवारिक विवरणसहित पहिलो पत्र पठाउनु पर्ने थियो । सबै कुरा सहज थिए तर स्पोनसर खोज्न मलाई करिब महिना दिन लाग्यो । त्यो समयमा मेरा आफन्तजनहरु, चिनेजानेका, छरछिमेकहरु अमेरिका पुग्नु त भएको थियो होला तर को कहाँ बस्नुहुन्छ भन्ने नाम र वतन पत्ता लगाउन धेरै कठिन थियो । त्यो समयमा न फेसबुक थियो न टिकटक, भर्खर गाविसतिर टेलिफोनको शुरुवात हुन थालेको थियो । मैले बल्लतल्ल थ्बजयय मा खाता खोलेको थिए । जिल्लाभरिमा खोजी गर्दा एक जना मेरै थरका बन्धु अमेरिका पुग्नु भएको पत्ता लगाएर उहाँको नाम, ठेगाना गोजीमा बोकेर म काठमाडौं आएको थिए ।
त्यो बिचको समयमा मलाई केही अनौठा अवसरहरु आएका थिए । एउटा यस्तो थियो– मलाई पेपर म्यारिज गर्ने प्रस्ताव आएको थियो, जसमा मैले एक युवतीसँग कागजी विवाह गर्ने, विवाह दर्ता गर्ने र मेरो श्रीमती बनाएर मसँगै जाने, यस वापत लाग्ने खर्च सबै युवतीको परिवारले बेहोर्ने भन्ने प्रस्ताव थियो । घर सल्लाहमा एक पटक गर्ने विवाह पनि के कागजी गर्नु भन्ने बिचार आयो र म सहमत भइन । उतै अमेरिका पुगेपछि जे–जे होला भन्ने सोच पनि आयो होला ।
म सामान्य अंग्रेजीमा लेखेको कुरा बुझ्न सक्ने थिए, मैले मलाई पठाएको पहिलो पत्र राम्ररी पढे, हेरे बुझे, त्यँहा लेखिएको थियो यस्तो चिठ्ठा संसारभरिका करिब १ लाख मानिसहरुलाई पर्छ र यसबाट करिब १६ देखि २० हजार मानिसले मात्र दोस्रो चरणबाट उर्तिण भएर अमेरिका जाने अवसर पाउँछन् । पहिलो चरणको प्रक्रियालगायतको जानकारीहरु थियो । त्यति मात्र हैन अमेरिकाको चिठ्ठा पर्यो भनेर भएको जागिर नछोड्नु होला, खुशीयाली पार्टी भोज भतेर पनि नगर्नु होला भनेर उल्लेख गरिएको थियो । मैले यति बुझे पछि दोश्रो पत्रपछि पनि अनिश्चित यो चिठ्ठाप्रति त्यति भरोसा चाहिँ लागेको थिएन । यसै कारण मैले जागिर र पढाई भने छाडेको थिईन ।
काठामाडौं पुगेर फोटो कन्सर्नमा गएर फोटा खिचें । सबै कागाजातहरु तयार गरें । घण्टाघरमा गएर टाईपिङ मेसिनबाट सबै विवरण भरे अर्को दिन गोश्वारा हुलाक कार्यालय सुन्धाराबाट मामाको सहजीकरणमा मेरो फोटो फेरि एक पटक अमेरिका पठाए ।
थाहा छैन त्यो चिठी अमेरिका पुग्यो कि पुगेन वा मलाई अमेरिकाले मन पराएन मेरो दोश्रो पत्र आएन । अब आउला र अमेरिका जाउला भनेर दिन गन्दै बसेको थिए करिब १ वर्ष वितेपछि म अब पक्का अमेरिका नजाने भएँ भन्ने महशुस भयो ।
एक पटक आमाले मेरो चिना देखाउन जानु भएछ ज्योतिषले पनि विदेशको योग छ भनिदिएछन् । पछि पो आमाले सुनाउनुभयो । साथीभाईले अमेरिका जाने भयो भनेर आधा अंग्रेजीमा गाली गर्थे । मैले पनि ठूलो चिठ्ठा परेपछि अरु साना केही अवसर आउँदा अन्य देशप्रति त्यति चासो दिइनँ । कि अमरिका नै जान्छु कि नेपालमै बस्छु भन्ने एक किशिमको लहड पलायो । त्यसपछि आज सम्म मैले कहिल्यै पनि विदेश जानुपर्छ, विदेशमा गएर काम गरेर पैसा कमाउनुपर्छ भन्ने धारणा नै बनाउन सकिन । खै किन हो म यहिँ माटोमा रमाए । तर श्रीमतीको रहर र करले गर्दा दुई तीन पटक काठमाडौंबाटै डिभी फारम भरेर मेरा फोटा अमेरिका पठाएको थिएँ ।
म गाउँकै निजी स्कुलमा पढाउँथे, दशैको बेला थियो परीक्षा सकेर घर फर्कंदा प्रेम सरको घरमा खाजा खाने व्यवस्थापन गरिएको थियो । खाजा गफमै डिभी भर्न जाने सल्लाह भयो । हामी चारजना दुईवटा साईकलमा ईटहरी पुगेर आफ्नै साथीको कम्प्युटर सिकाउने केन्द्रबाट फारम भरेर घर फर्किएका थियौं ।
मैले डिभी चिठ्ठा भर्दा मैले लगाएको त्यो बेलाको रातो चिप्लने र टल्कने किसिमको अघिल्लो दशैंका लागि किनेको सर्टको केही चर्चा थियो । केही आफन्तहरुले त त्यो सर्ट लगाएर डिभी भर्नु पनि भयो । केही समयपछि मेरो छिमेकी भाइले समान्य खैरो ज्याकेट लगाएर डिभी भरेका थिए अहिले परिवारसहित उतै छन् । यस्तो सर्ट, यस्तो फोटा भन्ने कुरामा पनि मलाई त्यति पत्यार लागेन ।
गत वर्षसम्म पनि बर्सेनि डिभी भरेर अमेरिका जाने अवसर धेरै नेपालीले प्राप्त गरि रहनु भएको थियो । डिभी चिठ्ठाबाहेक अहिले विद्यार्थीको भिषामा, काम गर्ने भिषामा, विभिन्न तालिम गोष्ठीमा सहभागी हुने किसिमको भिषामा, पर्यटन भिषामा, शरणार्थीका रुपमा लैजाने वा जाने लगायत किसिमको भिषामा अझ हिँडेर अमेरिका जाने चलन पनि बढीरहेको थियो । अहिले भने केही नीतिगत कडाईका कारण अमेरिकाको यात्रा अलि कठिन भएको छ भने अर्को तर्फ अन्य मुलुकहरुमा जाने लहर बढीरहेको छ ।
अमेरिका पुगेर फेरि नेपाल फर्केका व्यक्तिहरु देख्दा त हामी भन्दा फरक रुप, रंग, व्यवहार हुन्छ झैं लाग्थ्यो तर त्यहाँको पैसा (डलर) मात्रै फरक हुने रहेछ भन्ने ज्ञान जब भयो तब त्यहाँको वास्तविक जीवन बुझ्ने अवसर विभिन्न माध्यमबाट पाइयो । हो त्यहाँको शिक्षा, संस्कृति लगायतका मानव अधिकार र स्वास्थ्य सेवा पक्कै पनि हाम्रो भन्दा धेरै उच्च र व्यवस्थित छन् त्यसै कारण उनीहरुको आयस्तर र मानव विकास सुचाङ्कको रेखा धेरै माथि देखिन्छ । विकासको सुचकहरु पनि यिनै हुन् । वास्तविक काम गर्नेले उचित ज्याला पाउनु सबैको अधिकार हो । हो त्यहाँ काम गर्नेले समयमा ज्याला पाउँछन् र दक्ष व्यक्तिहरुका लागि अवसरहरु भने धेरै हुन्छन् भन्छन् जानकारहरु ।
मेरो बुबाले भन्ने गरेका दुई वाक्य मेरा लागि सधै प्रेरणादायी रहेका छन् । पहिलो हो– ‘बर्मा गए कर्म सँगै ।’ वास्तवमा जो–जो जहाँ जहाँ पुगे पनि हामीले हाम्रो कर्म सँगै लिएर जाने नै रहेछौं । कर्म विनाको मान्छे वास्तवमै कुरुप नै हुने रहेछ । दोस्रो वाक्य हो– ‘हात खाली नभए मुख खाली हुँदैन ।’ वास्तवमा निरन्तर काम गरिरहने हो भने सामान्य खान लाउन भने पक्कै समस्या हुँदैन । यो भनाई मेरै कान्छो भाइमा पनि लागू भइरहेको छ । जो विद्यार्थी भिषामा क्यानडाको टोरन्टमा पढ्दैछ ।
मेरो दोमाला भाञ्जा बि.एसी उत्तीर्ण भर्खरै दुबई पुगेका छन् । उनकै शब्दमा ‘मामा म त १० वर्षअघि नै विदेश आउनु पर्ने रहेछ धेरै ढिला गरेछु” भन्दै थिए भिडियो कुराकानीमा । मजदुरहरुको आवास कम्पनीमा कार्यरत भाञ्जा सुरक्षा गार्डको पोसाकमा निकै चमकदार देखिन्थे । उनी यहाँ निजी विद्यालयमा पढाउँथे, घरमा नर्सरीको व्यवसाय गर्दै थिए । पैसा कमाउने होडले उनी करिब चार लाखको लगानीमा दुबई पुगेका रहेछन् । नेपालमा दुख गरेर तीन महिनामा पाउने तलब बराबर यहाँ एक महिना मै कमाई हुन्छ, खान बस्न सबै सुविधा दिएको छ रे । भाञ्जा थप्दै थिए दैनिक १२ हजार भन्दा बढी मजदुरहरु एकैथलोमा आवत जावत गरेको देख्दा सबै नेपाल नै यहाँ आएको जस्तो लाग्छ ।
आखिर कर्मले कसैलाई पनि नछोड्ने रहेछ । अहिले विश्वभरि नै बढ्दो रुपमा बसाँईसराई हुन थालेको छ । एक ठाउँको मानिस अर्को स्थानमा जाँदा त्यहाँ काम गर्ने मान्छेको अभाव हुन्छ नै अनि यसरी एक ठाउँबाट अर्को ठाउँमा जाने चक्र घुमिरहन्छ । मानव परापुर्वकालदेखि नै घुमेरै जीवनयापन गर्दै आएको प्राणि हो । एकै स्थानमा बसि रहने भएको भए जुम्लाको सिंजा अहिले नेपालको धेरै बसोबास हुने स्थानमा पर्दथ्यो किनकी हामी धेरैको पुर्खेउली थात थलो भनेर जुम्लालाई भन्ने गर्छौ । भारत, बर्मा, असाम हुदै नेपालका विभिन्न स्थानहरु अनि फेरि नेपालका गाउँबाट बजार क्षेत्र, शहर हुदै काठमाडौं हुदै फेरि संसारका विभिन्न मुलुकतिर मान्छे हिँडेकै छ यसैगरी समाज चलेकै छ र चलिरहन्छ किनभने समाज गतिशील हुन्छ ।
मानिस अवसरको लागि जहाँ पनि पुग्न सक्ने भएको छ, पहिले लाहुर जाने चलन थियो यसैबाट जीवनको गुजरा चल्थ्यो अहिले त झन घर घरबाट लाहुर जाने चलन छ कोही देश त कोही विदेश । वास्तवमा अहिलेको बदलिँदो जीवन शैली, मानिसका उच्च महत्वकाक्षाहरुले गर्दा सानो तिनो व्यवसाय वा नोकरीमा मानिस टिकीरहन सक्ने अवस्था छैन । यो छैन, त्यो भएन, यसले गरेन उसले गरेन भन्नु भन्दा पनि जीविकोपार्जनका लागि हामीले जो–जो, जहाँ–जहाँ गए पनि, भए पनि आफ्नो कर्म गर्न छोड्नु हँदैन । आफ्नो कर्म निरन्तर गरिनै रहनुपर्छ । आखिर बर्मा कर्म सँगै हुने रहेछ ।
अब विलासिता भन्दा पनि व्यवहारिक क्षेत्रमा, उत्पादनशील क्षेत्रमा आफूले कमाई गरेको रकम लगानी गर्न सके हामी सबैको भविष्य उज्जवल नै देखिन्छ ।
धन्य अमेरिका, तैले दोस्रो पत्र नपठाएको कारण मेरै देशमा बसेर मैले यति लेख्न सके ।
जय मातृभूमी ।
अस्तु ।