एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार संयुक्त राज्य अमेरिकाले इरानसँग उसको आणविक कार्यक्रमलाई लिएर प्रत्यक्ष, उच्चस्तरीय वार्ता सुरु गर्न गइरहेको बताउनुभएको छ । उहाँले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको ह्वाइट हाउस बैठकमा यो आश्चर्यजनक घोषणा गर्नुभएको हो ।
सोमबार ओभल अफिसमा बोल्दै ट्रम्पले तेहरानसँग सम्झौतामा पुग्ने आशावादी रहेको तर वार्ता असफल भएमा इरान ‘ठूलो खतरामा’ पर्ने चेतावनी दिनुभयो ।
तेहरानले ओमानमा शनिबारका लागि छलफल तय भएको पुष्टि गरेको छ तर ती ‘अप्रत्यक्ष’ वार्ताहरू थिए भनी जोड दिएको छ ।
इरानी समाचार एजेन्सी तस्निमका अनुसार विदेशमन्त्री अब्बास अराघची र मध्यपूर्वका लागि शीर्ष अमेरिकी दूत स्टिभ विटकफले वार्तामा भाग लिनुहुनेछ ।
“यो जति एउटा परीक्षा हो त्यति नै एउटा अवसर पनि हो”, अराघचीले एक्समा लेख्नुभयो, “बल अमेरिकाको कोर्टमा छ ।”
यसैबीच नेतन्याहुले संयुक्त राज्य अमेरिका र इजरायलले युद्धग्रस्त गाजाबाट बन्धकहरू मुक्त गर्ने अर्को सम्झौतामा काम गरिरहेको बताउनुभएको छ । गाजामा इजरायल र इरानको सहयोगी हमाससँगको शान्ति सम्झौता भङ्ग भएको छ ।
“हामी इरानीहरूसँग व्यवहार गर्दैछौँ, हामीले शनिबार एउटा ठूलो बैठक गरेका छौँ र हामी उनीहरूसँग प्रत्यक्ष व्यवहार गर्दैछौँ”, अमेरिकी भन्सार महसुलबाट इजरायललाई बचाउने प्रयासमा केन्द्रित हुने भनिएको बैठकपछि ट्रम्पले पत्रकारहरूलाई भन्नुभयो ।
ट्रम्पले वार्ता कहाँ हुने बताउनुभएन तर यसमा प्रतिनिधिहरू समावेश नहुने र ‘लगभग उच्चतम स्तर’ मा हुने कुरामा जोड दिनुभयो ।
इरानले देशको आणविक कार्यक्रमलाई रोक्नका लागि नयाँ सम्झौतामा प्रत्यक्ष वार्तालाई अस्वीकार गरेपछि ट्रम्पको आश्चर्यजनक घोषणा आएको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०१८ मा आफ्नो पहिलो राष्ट्रपति कार्यकालमा अघिल्लो सम्झौताबाट हात झिक्नुभएको थियो र कुनै नयाँ सम्झौता हुन नसकेमा सम्भवत: अमेरिकी सहयोगमा इजरायलले इरानी सुविधाहरूमा आक्रमण गर्न सक्ने व्यापक अनुमान छ ।
तर ट्रम्पले तेहरानलाई कडा चेतावनी दिनुभएको छ ।
“यदि इरानसँगको वार्ता सफल भएन भने मलाई लाग्छ कि इरान ठूलो खतरामा पर्नेछ र म यो भन्न घृणा गर्छु, ठूलो खतरा, किनकि उनीहरूसँग आणविक हतियार हुन सक्दैन”, उहाँले भन्नुभयो ।
यसैबीच अधिकारीहरूले रुस, चीन र इरान मङ्गलबार मस्कोमा इरानी आणविक मुद्दामा परामर्श गर्न तयार रहेको बताएका छन् ।
नेतन्याहु व्यक्तिगत रूपमा विश्वलाई हल्लाउने अमेरिकी करबाट मुक्तिका लागि अनुरोध गर्ने पहिलो विदेशी नेता बनेपछि ट्रम्पको यस्तो खुलासा भएको हो ।
इजरायली प्रधानमन्त्रीले दुई देशबीचको व्यापार घाटा हटाउने र व्यापारका ‘अवरोधहरू’ पनि कम गर्ने प्रतिज्ञा गर्नुभयो ।
उहाँको देशले बैठकअघि अमेरिकी आयातमा आफ्नो अन्तिम बाँकी भन्सार शुल्क हटाउन कदम चालेको थियो ।










