२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

नेपालको समावेशिता र शान्तिपूर्ण रूपान्तरणको यात्रा विश्वकै लागि उदाहरणीय छः सभामुख घिमिरे

नेपालको समावेशिता र शान्तिपूर्ण रूपान्तरणको यात्रा विश्वकै लागि उदाहरणीय छः सभामुख घिमिरे
अ अ+ अ-

काठमाडौँ। सभामुख देवराज घिमिरेले नेपालको सामाजिक न्याय, समावेशिता र शान्तिपूर्ण रूपान्तरणको यात्रा विश्वकै लागि उदाहरणीय रहेको बताउनुभएको छ ।

उज्वेकिस्तानको ताशकन्दमा अन्तर–व्यवस्थापिका सङ्घको १५०औँ सभालाई सम्बोधन गर्दै उहाँले नेपालले राजनीतिक द्वन्द्वलाई मौलिक सम्झौतामार्फत अन्त्य गर्दै एकात्मक राज्य व्यवस्थाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्मको सफल यात्रा तय गरेको उल्लेख गर्नुभयो ।

नेपालको संविधानले सामाजिक न्याय, समानता र समावेशिताको पूर्ण सुनिश्चितता गरेको उल्लेख गर्दै सभामुख घिमिरेले राष्ट्रका उच्च पदहरूदेखि नीति निर्माण तहसम्म लैङ्गिक तथा जातीय समावेशिताको ‘ग्यारेन्टी’ गरिएको तथ्य प्रस्तुत गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । विशेषगरी राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायबाट चयन गर्नुपर्ने संवैधानिक प्रावधान र संसद्का दुवै सदनको नेतृत्व फरक लिङ्ग तथा राजनीतिक दलबाट हुने व्यवस्था उदाहरणीय भएको उहाँको भनाइ छ ।

‘सामाजिक विकास र न्यायका लागि संसदीय कार्य’ शीर्षकमा नेपालका तर्फबाट धारणा राख्दै सभामुख घिमिरेले संसद्लाई सामाजिक परिवर्तनको प्रमुख माध्यमका रूपमा प्रस्तुत गर्नुभयो । “संसदहरूले नीति निर्माण, बजेट विनियोजन, कानुन निर्माण र कार्यान्वयनको निगरानीमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छन्”, उहाँको भनाइ थियो ।

संसदीय कूटनीतिको प्रयोगमार्फत अन्तरराष्ट्रिय सहयोग विस्तार गर्दै, गरिबी, द्वन्द्व र जलवायु परिवर्तनजस्ता सामाजिक प्रगतिका प्रमुख अवरोधहरूको सामना गर्न सकिने सभामुख घिमिरले विश्वास व्यक्त गर्नुभयो । उहाँले संसद्मार्फत महिला, युवा, आदिवासी, जनजाति तथा पछाडि पारिएका वर्गहरूको सशक्त प्रतिनिधित्व सुनिश्चित गर्नाका साथै संसदीय खुलापन प्रवर्द्धन गर्ने अभ्यासलाई नेपालको एक महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गर्नुभयो । नेपालको १६औँ पञ्चवर्षीय योजनाको चर्चा गर्दै सभामुख घिमिरेले स्वास्थ्य, शिक्षा, रोजगारी र आवासमा नागरिकहरूको समान पहुँच सुनिश्चित गर्न सरकारले विशेष प्राथमिकता दिएको बताउनुभयो ।

उहाँले जलवायु परिवर्तनलाई नेपालका लागि सबैभन्दा गम्भीर चुनौतीका रूपमा रहेको बताउँदै प्राकृतिक विपत्तिहरूले वार्षिक लाखौँ नागरिकको जीवन प्रभावित भइरहेको उल्लेख गर्नुभयो । यस्तो अवस्थामा जलवायु न्याय सुनिश्चित गर्न हरित ऊर्जा प्रवर्द्धन, जलवायु अनुकूलन नीतिहरू र अन्तरराष्ट्रिय सहकार्य विस्तारमा नेपालले खेलेको भूमिकाबारे उहाँले स्मरण गराउनुभयो ।

सभामुख घिमिरेले आगामी मे १६–१८ मा नेपालमा ‘सगरमाथा संवाद’ आयोजना हुने जानकारी दिँदै पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावबारे अन्तरराष्ट्रिय बहस अघि बढाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाँले लोकतन्त्र, समावेशिता र सामाजिक न्यायका आदर्शहरूलाई आत्मसात् गर्दै साझा भविष्य निर्माणमा नेपाल अग्रसर रहेको सन्देश अन्तरराष्ट्रिय समुदायलाई दिनुभयो । “संसदीय नेतृत्वसँगै हामीले न्यायसङ्गत, दिगो तथा समावेशी विश्व निर्माणमा योगदान दिनु आवश्यक छ”, सभामुख घिमिरेले भन्नुभयो । रासस