
धनकुटा। धनकुटामा जारी १७औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको आज भएको सेमिफाइनल खेलमा विभागीय टोली एपिएफलाई हराउँदै गाईघाट फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।
धनकुटा सदरमुकामको तल्लो टुँडिखेलमा भएको खेलमा गाईघाटले एपिएफलाई एकका विरुद्ध दुई गोलको अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
खेल सुरु भएको १०औँ मिनेटमा एपिएफका खेलाडी युवराज खड्काले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि निकै घम्साघम्सी भएको खेलमा पहिलो हाफमा उक्त एक गोलबाहेक दुवै टिमबाट कुनै गोल हुन सकेन ।
खेलको ६०औँ मिनेटमा गाईघाटका तर्फबाट किस्मत लिम्बूले एक गोल गरेर खेललाई बराबरी बनाएका थिए । त्यसलगत्तै गाईघाटका विदेशी खेलाडी फोफानाले खेलको ७०औँ मिनेटमा गरेको गोलले गाईघाटलाई जित दिलाएको हो ।
खेल अवधिको उत्कृष्ट खेलाडी गाईघाटका विदेशी खेलाडी फोफाना घोषित भएका छन् । खेल अवधिमा गाईघाटका विदेशी खेलाडी टाम्पी, निश्चल मोक्तान र एपिएफका मानबहादुर रानाले पहेँलो कार्ड पाएका थिए ।
शनिबार हुने फाइनल खेल आजको विजेता गाईघाट र सप्तरीको नवबुद्ध फुटबल क्लबबीच हुने आयोजक संस्था सहिद भीमनारायण स्मृति प्रतिठानका खेल संयोजक शम्भु प्रधानले जनाएका छन् । यही चैत १७ देखि सुरु भएको प्रतियोगितामा आठवटा टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले रु पाँच लाख र उपविजेताले रु दुई लाख ५० हजारसहित ट्रफी, मेडल, कप र प्रमाणपत्र पाउने छन् । रासस