
भोजपुर। भोजपुर सदरमुकाममा जारी सातौँ संस्करणको मेयरकप महिला फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनलमा धनकुटा नगरपालिकालाई २–० गोलले हराउँदै भोजपुर नगरपालिका १० फाइनल प्रवेश गरेको छ ।
भोजपुरका लागि आरती भुजेल र आशिका राईले एक÷एक गोल गरे । आजै भएको दोस्रो सेमिफाइनलमा झापाको कनकाइले भोजपुरको टेम्केमैयुङ गाउँपालिकालाई ८–० गोलले पराजित गरी फाइनलमा पुगेको छ । कनकाइका लागि यरीपर मगरले दुई गोल, पूर्णिमा राईले चार गोल, सिमरन राई एक गोल र समीक्षा मगरले एक गोल गरे ।
फाइनल शुक्रबार हुनेछ । जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजन भोजपुर नगरपालिका वडा नं ७, कोदारमा रहेको रङ्गशालामा जारी प्रतियोगितामा धनकुटा नगरपालिका, भोजपुर नगरपालिका वडा नं १०, भैँसीपङ्खा, खाँदबारी नगरपालिका, कनकाइ झापा, टेम्केमैयुङ गाउँपालिका र मोर्डन इरा विराटनगर सहभागी छन् ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद रु एक लाख पाँच हजार ५५५ हात पार्नेछ भने उपविजेताले रु ५१ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रविण सुवालले बताउनुभयो ।रासस