१७ भाद्र २०८३, बुधबार
,
Latest
एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी विपद् व्यवस्थापनमा सरकारको कामलाई अहिले नै असफल भन्नु हतारो हुन्छः मनिष झा विपद् व्यवस्थापनमा सरकारले नेतृत्व लिन सकेन, अहंकार र दम्भ त्यागौँः प्रमुख सचेतक महर भोटेकोशी बाढीपीडितका लागि प्रभु बैंकले गर्‍यो २ करोड ११ लाख रुपैयाँ सहयोग शाही युवा शक्ति नेपालद्धारा रसुवा बाढीपिडित नागरिकलाई राहत बितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेमा स्ट्रबेरीखेती सुरु



अ+ अ-

कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिका–१ च्यामाका सर्पराज बस्नेत स्ट्रबेरीखेतीतर्फ आकर्षित हुनुभएको छ । पश्चिम नेपालका केही ठाउँमा किसानले स्ट्रबेरीको खेती गर्न थाले पनि बाँकेका लागि भने यो पहिलो हो ।

कृषिमा केही नयाँ गर्ने सोचका साथ उहाँले बैजनाथमा करिब साढे पाँच कट्ठा जग्गामा रु सात लाखको लगानीमा स्ट्रबेरी खेती सुरु गर्नुभएको छ । स्ट्रबेरी निकै रुचाइएको फलफूलमा पर्दछ । बजारमा यसको माग बढिरहेको छ ।

‎स्वास्थ्यलाई ध्यानमा राख्दै सर्पराजले रसायनरहित जैविक र आधुनिक प्रविधिबाट स्ट्रबेरी लगाउनुभएको छ । रासायनिक मलको ठाउँमा गोठे मल, झोल मल, तितेपाती, निमको पात र गाईको पिसाब प्रयोग गर्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बिरुवामा किरा लागे वा फल नाश हुन लागेमा घरमै उपलब्ध झारपातको प्रयोग गर्ने गरेको छु, जसले गर्दा स्ट्रबेरी स्वादिलो, गुणस्तरीय र स्वस्थ पनि हुन्छ ।”

‎सामान्यतया नेपाली समयअनुसार असोजमा स्ट्रबेरीको बिरुवा रोप्ने गरिन्छ भने ७५ देखि ८० दिनमा यो बिक्रीका लागि तयार भइसकेको हुन्छ । सर्पराजले यसपटक दुई महिना ढिलोगरी मङ्सिर १ गते आसपास बिरुवा रोप्नुभएको थियो । बिरुवा रोप्नमा ढिलाइ भए पनि बिरुवाले दिनुपर्ने मात्रामा फल दिएको छ ।

गत माघको अन्तिम सातादेखि उहाँको स्ट्रबेरी बिक्री हुन सुरु भइसकेको थियो । उहाँका अनुसार नयाँ र धेरै प्रचारप्रसार नभएकाले बाहिरबाट त्यति धेरै माग भने आएको छैन । सर्पराजको स्ट्रबेरीको स्वाद कोहलपुर, नेपालगञ्जसँगै सुर्खेतसम्म फैलिएको छ । घरबाटै पनि दैनिक २० देखि २५ किलोको हाराहारीमा बिक्री गर्दै आएको उहाँले बताउनुभयो ।

‎प्रतिबिरुवाले आधा किलोदेखि एक किलोसम्म फल दिन्छ । उहाँले यो फल खुद्रामा प्रतिकिलो रु सात सय र थोकमा रु छ सय प्रतिकिलोमा बिक्री गर्दै आउनुभएको छ । माघदेखि हालसम्म करिब नौ क्विन्टल बिक्री गरिसकेको उहाँको भनाइ छ । यो अवधिमा करिब रु पाँच लाख जति आम्दानी भएको छ । उहाँको फार्ममा अहिले जापानिज क्यामरोज जातका करिब सात हजार ८०० बिरुवाले फल दिइरहेका छन् ।

“तराई क्षेत्रमा गर्मी दिन प्रतिदिन बढ्दै छ, गर्मी याममा बिरुवा जोगाउन मुस्किल पर्छ”, सर्पराज भन्नुभयो, “अब फल फलाउनुभन्दा पनि बिरुवा कसरी जोगाउने र अर्को वर्षका लागि बिरुवा कसरी तयार गर्ने भन्ने योजनामा छु ।” उहाँका लागि स्ट्रबेरीखेती विल्कुल नयाँ भए पनि मेहनत गरे सफल भइन्छ भन्ने विश्वासले उहाँले बस्नेत कृषि तथा पशुपन्छी फार्म दर्तागरी खेती सुरु गर्नुभयो ।

सुरुमा उहाँलाई धेरै जनाले यो खेती सफल नहुने भन्दै मनोबल घटाउने कोसिस पनि नगरेका होइनन् । अहिले मेहनतको फल फलाएर देखाउन सफल भएको उहाँ बताउनुहुन्छ । माटो परीक्षण गरी आफ्नो माटोमा सुहाउँदो बिरुवा लगाए कुनै पनि खेती वा व्यवसाय सफल हुने उहाँको बुझाइ छ । ‎स्ट्रबेरीलाई नेपालीमा भुइँ काफल पनि भन्ने गरिन्छ । प्रशस्त घामको प्रकाश पुग्ने र सिँचाइको सुविधा पुर्याउन सकिने ठाउँमा यसको खेती राम्रो हुने गरेको छ । रासस