
काठमाडौँ । यु–१९ एक दिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
भर्खरै सम्पन्न खेलमा नेपाल अफगानिस्तानको युवा टोलिसँग १३० रनले पराजित भएको हो । अफगानिस्तानले दिएको ३०१ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ४६.२ ओभरमा अलआउट हुँदै १७० रनमात्रै जोड्यो ।
नेपालका निरज कुमार यादवले ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दा सन्तोष यादव र अशोक धामीले २४–२४ रन जोडे । यस्तै, अभिषेक तिवारीले १७, नरेन भट्टले १३ तथा सिब्रिन श्रेष्ठ ११ रनमा आउट भए । बलिङतर्फ अफगानिस्तानका वाहिदुल्लाह जाद्रान, जैतुल्लाह शाहिन र महबुब खानले २–२ तथा अब्दुल अजिज, नुरीस्तानी ओमारजाई र नाजिफुल्लाह अमिरीले १–१ विकेट लिए ।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा ‘टस’ जितेर पहिला ‘ब्याटिङ’ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर उक्त योगफल बनायो ।
अफगानिस्तानका लागि फैसल खान शिनोजादाले सर्वाधिक ९७ रनको योगदान दिए । उनले ८८ बलमा नौ चौका र चार छक्काको मद्दतमा ९७ रन बनाएका हुन् ।
त्यसैगरी, खालिद अहमदजाइले १०७ बलमा छ चौकासहित ७६, बर्खत इब्राहिमजाईले ३५, उजाइरुल्लाहले २४, अजिज मिय खहिलले २१ र नजिफउल्लाह अमिरीले १० रन बनाए ।
नेपालका लागि सन्तोष यादवले तीन विकेट लिए भने अभिषेक तिवारीले दुई तथा दयानन्द मण्डल र विपिनप्रसाद शर्माले समान एक–एक विकेट लिए ।
नेपाल र अफगानिस्तान यु–१९ पुरुष विश्वकपको एसिया छनोटको तयारीमा रहेका छन् । छनोटअघि दुवै टोलीले तीन खेलकोे अभ्यास सिरिज खेल्न लागेका हुन् ।