
काठमाडौँ । मोहम्मद सिराजको घातक बलिङपछि साई सुदर्शन र जोस बटलरको तुफानी ब्याटिङको आधारमा गुजरात टाइटन्स (जिटी) ले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)लाई ८ विकेटले पराजित गरेको छ ।
बुधबार एम चिन्नास्वामी रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीले लियाम लिभिङस्टोनको अर्धशतकीय इनिङ्सको मद्दतले २० ओभरमा आठ विकेट गुमाएर १६९ रन बनाएको थियो ।
जवाफमा गुजरातले १७.५ ओभरमा दुई विकेट गुमाएर १७० रन बनायो र खेल जित्यो ।
१७० रनको लक्ष्य पछ्याएको गुजरातका साई सुदर्शन र शुभमन गिलले राम्रो सुरुवात गरेको थियो । यी दुईबीच पहिलो विकेटका लागि ३२ रनको साझेदारी भएको थियो ।
भुवनेश्वर कुमारले कप्तानलाई पाँचौं ओभरमा लिभिङस्टोनको हातमा क्याच आउट गराए । उनी १४ रन बनाएर आउट भए । यसपछि जोस बटलरले जिम्मेवारी सम्हालेका थिए ।
उनले साई सुदर्शनसँग दोस्रो विकेटका लागि ४७ बलमा ७५ रनको बलियो साझेदारी गरे । यस क्रममा सुदर्शनले आफ्नो अर्धशतक मात्र एक रनले पूरा गर्न सकेनन् । उनले ३६ बलमा सात चौका र एक छक्काको मद्दतले ४९ रन बनाउन सफल भए ।
चौथो नम्बरमा ब्याटिङ गर्न आएका शेरफेन रदरफोर्ड पनि उत्कृष्ट लयमा देखिए । उनले बटलरसँग तेस्रो विकेटका लागि ६३ रनको अविजित साझेदारी गर्दै टोलीलाई जित दिलाए । विकेटकिपर ब्याट्सम्यान बटलर ७३ र रदरफोर्ड ३० रनमा अविजित रहे । आरसीबीका भुवनेश्वर कुमार र जोस हेजलउडले एक–एक विकेट लिए ।
यसअघि गुजरातको घातक बलिङका अगाडि आरसीबीको ब्याटिङ अर्डर ध्वस्त भयो । उसका लागि लियाम लिभिङस्टोनले सर्वाधिक ५४ रन बनाए । उनका अलावा जितेश शर्माले ३३ र टिम डेभिडले ३२ रन बनाए ।
यस्तै, विराट कोहली ७, फिल साल्ट १४, देवदत्त पडिक्कल ४, रजत पाटीदार ४ र कृणाल पाण्डे ५ रन बनाएर आउट भए ।
गुजरातका लागि मोहम्मद सिराजले तीन तथा साई किशोरले दुई विकेट लिए । अर्शद खान, प्रसिद्ध कृष्णा र इशान्त शर्माले एक–एक सफलता हात पारे ।
चालू सिजनमा गुजरातको यो लगातार दोस्रो जित हो भने आरसीबीले लगातार दुई खेल जितेर पहिलो पटक हार बेहोरेको छ । यो हारसँगै रजत पाटीदारको नेतृत्वमा रहेको आरसीबी अंक तालिकाको शीर्ष स्थानबाट झरेको छ ।
उसको नेट रनरेट १.१४९ मात्र रह्यो । उही समयमा, गुजरात चार अंक र ०.८०७ को नेट रन रेटका साथ चौथो स्थानमा छ । चार अंक र १.४८५ को नेट रन रेटका साथ पञ्जाब किंग्स पहिलो स्थानमा छ ।