२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

‘समर शेड्युल’ नहुँदा विमानस्थल फेरि सुनसान

‘समर शेड्युल’ नहुँदा विमानस्थल फेरि सुनसान
अ अ+ अ-

रूपन्देही। भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल एकपटक पुनः सुनसान भएको छ । मार्च २९ अर्थात यही चैत १६ गते सम्म केही चहलपहल रहेको विमानस्थलमा त्यसयता विमान कम्पनीले उडान गर्ने चासो नदेखाएका कारण सुनसान बन्न पुगेको हो ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट सञ्चालनका लागि यहाँबाट उडान भरिरहेको वायुसेवा कम्पनीले गर्मीयामका लागि ‘समर शेड्युल’ लिएका छैनन् । यसले अब यहाँबाट सातामा एक दिन नेपाल एयरलाइन्सको विमान बाहेक अन्य अन्तरराष्ट्रिय उडान हुने छैन ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल १८ घण्टा सञ्चालन आएसँगै भैरहवाबाट उडान भरिरहेका विमान बन्द हुनु संयोग मात्र हुन नसक्ने भन्दै यहाँका व्यवसायीले आक्रोश पोखेका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान अवधि घट्दा भैरहवा विमानस्थललाई ‘डाइभर्सन पुल’ को रूपमा प्रयोग गरिएको भन्दै भैरहवाका व्यवसायीले आक्रोश व्यक्त गरेका हुन् ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहले भैरहवाबाट उडान हुँदै आएका जजिरा एयरलाइन्स, फ्लाई दुबई, थाइ एयर एसियाले ‘समर शेड्युल’ नलिएको बताउनुभयो । उहाँले जजिरा एयरवेजले अलिकता आशा भने देखाएको बताउनुभयो । ‘मे’ महिनादेखि जजिराले भैरहवाबाट उडान भर्ने आश्वासन दिएको साहले जानकारी दिनुभयो ।

साहले भैरहवा विमानस्थलबाट उडान र अवतरण तथा सेवा प्रवाहमा भने कुनै समस्या नरहेको जिकिर गर्नुभयो । “सुरूमा जनवरीमा महिनामा ‘लो भिजिविलिटी’ को कारण थोरै समस्या भयो । तर यो नगण्य मात्रामा थियो”, उहाँले भन्नुभयो, “वायुसेवा कम्पनीलाई, यात्रुलाई दिनुपर्ने सेवा प्रवाह तथा प्राविधिकसम्बन्धी अन्य खासै समस्या आएन ।

साहले विमानस्थल सञ्चालनमा सरकारको मात्र नभई निजी क्षेत्रको उत्तिकै महत्त्वपूर्ण भूमिका रहेको तर निजी क्षेत्र नै यहाँ आउन इच्छुक नरहेको जिकिर गर्नुभयो । “विमानस्थल सञ्चालन हुनु भनेको अन्य व्यवसायको जननी हो, व्यवसाय मुख्य ‘हब’ भएको यस्तो स्थानमा निजी क्षेत्रको पहल अलि कम भएको मेरो विश्लेषण रहेको छ”, उहाँले भन्नुभयो, “काठमाडौँबाट उड्ने सबै यात्रु काठमाडौँकै होइनन्, समग्र नेपालका हुन् । यस्तो अवस्थामा सबै यात्रु काठमाडौँबाट नै उड्न खोज्नु भन्नु भैरहवामा केही जटिलता त छ भन्ने देखाउँछ ।

प्रवक्ता साहका अनुसार वैदेशिक उडानको लागि आवश्यक पर्ने भिसा सेन्टर, श्रम स्वीकृति, मेन पावर, ट्रावल एजेन्सीलगायत तालमाल मिलेको देखिँदैन । काठमाडौँमा केन्द्रित ठूला ट्राभल एजेन्सी र मेनपावर एजेन्सीलाई यता आकर्षित गर्न सकिए मात्र विमानस्थल दीर्घकालीन रूपमा सञ्चालन हुन सक्ने यहाँको बुझाइ छ । यसको लागि सरकारले पहल गरे निजी क्षेत्रले भने पहल गर्न नसकेको उहाँको भनाइ छ ।

तर निजी क्षेत्र भने प्रवक्ता साहको यो भनाइ सत्य नरहेको बताउँछन् । एयरपोर्ट सञ्चालनको लागि आन्दोलन गर्दै आएको सिद्धार्थ सञ्जाल रूपन्देही र यसलाई नेतृत्व गर्नुहुने अध्यक्ष अनिल ज्ञवाली यो भनाइ कर्मचारीको बहाना मात्र भएको बताउनुहुन्छ । नेपाल सरकारले विमानस्थलबाट विमान कम्पनीहरूलाई दिने छुट सुविधा समयमै प्रदान नगर्नु प्रमुख कारण रहेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार वायुसेवा कम्पनीलाई यहाँबाट उडान नगर्नुको एउटा निहुँ मात्र भएको छ । यसबाहेक काठमाडौँ केन्द्रित व्यवसायीले काठमाडौँभन्दा बाहिर उडान गराउन नचाहेको आरोप उहाँको छ । ज्ञवालीले सरकारले नै विमानस्थल सञ्चालन गर्न नचाहेको आरोप लगाउँदै यहाँका स्थानिय फेरि आन्दोलित हुने वातावरण बनाएको बताउनुभयो ।

त्यसो त भैरहवा विमानस्थलमा वायुसेवा कम्पनीले यात्रु नपाएको भन्ने खबर गलत रहेको तथ्याङ्कले देखाउँछ । विमानस्थलका प्रवक्ता साहले उपलब्ध गराउनुभएको जानकारीअनुसार ‘विन्टर शेड्युल’ अर्थात् जनवरी, फरवरी र मार्च महिनामा गरी विमानस्थलबाट १५ हजार एक सय ४८ जना यात्रुले सेवा लिएका छन् । यसमा आठ सय हजार ३९ जनाको आगमन भएको छ भने यहाँबाट सात हजार एक सय नौ जना उडेका छन् ।

मार्च महिनामा मात्रै सात हजार ३४ जना यात्रुहरूले विमानस्थलबाट सेवा लिएका छन् । यसमा सबैभन्दा बढी जजिरा एयरलाइन्स र फ्लाई दुबईले यात्रु बोकेको तथ्याङ्कबाट देखिन्छ । जजिराले मार्च महिनामा तीन हजार छ सय सात यात्रु र फ्लाई दुबईले दुई हजार तीन सय २३ यात्रु बोकेको छ ।

विमानस्थलबाट उडान नहुनु सरकारी उदासिनता रहेको र भैरहवा विमानस्थललाई ‘डाईभर्सन पुल’ को रूपमा मात्र प्रयोग गरिएको यहाँका व्यवसायीको आरोप छ । गत कात्तिक २३ देखि विमानस्थलभित्र भौतिक संरचना निर्माणको काम थालिएपछि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द गरिएको थियो ।

मङ्गलबारदेखि उडान समय लम्बिएसँगै भैरहवाबाट हुने उडान स्थगित हुनुलाई संयोग मात्र मान्न नसकिने सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यको भनाइ छ । काठमाडौँको विमानस्थललाई समय घटाएर सञ्चालन गरिँदा भैरहवा विमानस्थललाई प्रयोगमा ल्याउनको लागि डाइभर्सन पूलको रूपमा प्रयोग गरिएको भन्ने निजी क्षेत्रको आशंका अहिले आएर सत्य भएको उहाँको भनाइ छ ।

अध्यक्ष आचार्यले विमानस्थल सञ्चालनमा निजी क्षेत्रले सक्ने जति प्रयास गरे पनि सरकारले नै चासो नदेखाएको गुनासो गर्नुभयो । उहाँका अनुसार साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गरेको थियो । भैरहवा र पोखराका अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने सरकारको नीति अनुरूप विमानस्थल सञ्चालनलाई सहजीकरण गर्न नेपाल आयल निगमले उक्त विमानस्थलबाट हुने अन्तरराष्ट्रिय हवाई उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्यमा छुट दिने निर्णय गरेको छ ।

निगमको सञ्चालक समितिको गत साउन ३१ गतेको बैठकले भदौ १ गतेदेखि लागू हुने गरी हाल कायम रहेको हवाई इन्धनको बिक्री मूल्यमा प्रतिकिलोलिटर अमेरिकी डलर एक सय अर्को निर्णय नभएसम्मका लागि कम गर्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

अन्तरराष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न हवाइ इन्धनदेखि टिकट सहुलियत सरकारले दिइरहेको छ । सरकारले पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त समयभर दुई विमानस्थलको हकमा नलिने गरी सहुलियत दिने र हवाइ टिकटमा लगाइएको भ्याट पनि २०८३ भदौसम्म छुट दिएको छ ।

काठमाडौँको विमानस्थलमा उपलब्ध हुने इन्धनको मूल्यभन्दा भैरहवामा इन्धनको मूल्य सस्तो रहेको छ । तर सरकारले प्रदान गर्ने यस्ता सुविधालाई समयमै दिनुपर्ने भन्दै सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन् । रासस