
एजेन्सी । पञ्जाब किंग्सका प्रियांश आर्यले आईपीएल मेगा लिलामी २०२४ मा प्राप्त रकमबाट आफ्ना आमाबुवालाई दिल्लीमा एउटा घर उपहार दिन लागेका छन् ।
उनका बाबुआमा सरकारी घरमा बस्छन् । दिल्लीमा उनको आफ्नै घर छैन । यो जानकारी प्रियांशका प्रशिक्षक सञ्जय भारद्वाजले दिएका छन्, जो भारतीय टोलीका प्रशिक्षक गौतम गम्भीरका प्रशिक्षक रहेका थिए ।
प्रियांशलाई पञ्जाबले ३ करोड ८० लाख भारुमा किनेको थियो । २४ वर्षीय प्रियांशले मार्च २५ मा गुजरात टाइटन्सविरुद्ध अहमदाबादमा आफ्नो आईपीएल डेब्यू गरेका थिए ।
प्रियांश सोमबार एकना स्टेडियममा लखनउ सुपर जाइन्ट्स विरुद्धको खेलमा पञ्जाब टोलीको हिस्सा हुनेछन् ।
प्रियांश २०२३ को लिलामीमा बिक्री भएनन् । ३० लाखको आधार मूल्यमा पनि उनलाई कसैले किनेन । त्यसबेला प्रियांशलाई दुःख लागेको थियो । २ दिन उनी उदास रहे । त्यसपछि उनले तयारी सुरु गरे ।
सन् २०२० को अन्डर–१९ विश्वकपमा छनोट हुन नसकेपछि उनी निकै दुःखी देखिएका थिए । उनी दिल्लीका एकमात्र खेलाडी हुन् जो सम्भावितको सूचीमा परेका थिए तर छनोट भएनन् ।
उनको विशेषता भनेको छनोट भएनन् भने एक–दुई दिन दुःखी रहन्छन् र दोब्बर मेहनत गरेर अभ्यास गर्न थाल्छन् ।
सञ्जयले दिल्ली प्रिमियर लिगको एउटा घटना सुनाउँछन्– ‘डीपीएलको समयमा, मलाई प्रियांशको फोन आयो र अरुण जेटली स्टेडियममा खेल हेर्नको लागि उनले बोलाए । मैले भने, त्यो खेलमा तिमीले शतक बनाएपछि मात्र आउँछु । म त्यो खेल हेर्न गएँ । उक्त खेलमा साउथ दिल्ली सुपरस्टार्सका लागि प्रियांशले शतक प्रहार गरेका थिए । उनले उत्तर दिल्लीका बलर मनन भारद्वाजको एक ओभरका सबै ६ बलमा छक्का समेत प्रहार गरे ।’