१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन करोड लागतमा बन्यो लेगुवा खोला पक्की पुल



अ+ अ-

भोजपुर । पूर्वाधार विकास कार्यालयअन्तर्गत धनकुटाको लेगुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । यहाँ रु तीन करोड २१ लाख लागतमा पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको हो ।

लामो समयदेखि खोलामा पुल नहुँदा स्थानीयले समस्या झेल्दै आएका थिए । लेगुवा खोलामा कोशी प्रदेश सरकारको रु तीन करोड २१ लाख लागतमा २२ मिटर लम्बाइ र ११ मिटर चौडाइको पक्की पुल निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले जानकारी दिनुभयो । “लेगुवा खोला पक्की पुल निर्माण सम्पन्न गरेका छौँ”, प्रमुख रेड्डीले भन्नुभयो, “यहाँका स्थानीयको समस्यालाई ध्यानमा राखेर पुल निर्माण कार्यलाई प्राथमिकताका साथमा अघि बढाएका थियौँ, पुल सञ्चालनमा आएपछि स्थानीयलाई आवतजावतमा सहजता बनेको छ ।”

पुल निर्माणले स्थानीयको जनजीवनमा सहजता थपिएको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायाले बताउनुभयो । वडा नं २ र ३ लाई जोड्ने लेगुवा खोलामा पुल बनेपछि नगरपालिका केन्द्रसम्म पुग्ने दूरी छोटिएको प्रमुख रायाको भनाइ छ । “लामो समयको प्रतीक्षापछि लेगुवा खोला पक्की पुल सञ्चालनमा आएको छ,” प्रमुख रायाले भन्नुभयो, “यहाँ पुल नहुँदा नागरिकलाई नगरपालिकासम्म आउन नै समस्या थियो, उत्पादित कृषि उपजको बजारीकरणका लागि सहज भएको छ ।” पुल निर्माण सम्पन्न भएपछि सवारी आवतजावत सुरुआत गरिएको छ । धेरै समस्याका बीच पुल तोकिएको मापदण्डअनुसार निर्माण सम्पन्न गरेको निर्माण कम्पनी मार्सेली, युडी जेभीका प्रतिनिधि उत्तम खड्काले बताउनुभयो ।

खोलामा पक्की पुल नहुँदा सङ्खुवासभा जिल्ला घुम्नुपर्ने बाध्यता रहेकामा अहिले सहजता भएको स्थानीय पुष्प कार्कीले बताउनुभयो । पुल बनेपछि जोखिम मोलेर खोला पार गर्नुपर्ने अवस्थाको अन्त्य भएको उहाँको भनाइ छ । “बर्सातको समयमा यो खोला तर्न सक्ने अवस्था थिएन,” उहाँले भन्नुभयो, “खोलामा बाढी आउँदा सङ्खुवासभा जिल्लाको सडक भएर नगरपालिका केन्द्र जानुपर्ने अवस्था थियो, पुल बनेपछि हाम्रो दैनिकी सहज बनेको छ ।”