२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयर बालेनलाई डा लोहनीको प्रश्न- बिनाप्रसंग र आयोजक नै नरहेका व्यक्तिलाई जरिवानाको पत्र किन?



अ+ अ-

काठमाडौं । राप्रपाका नेता तथा पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र काटेकोमा असन्तुष्टि जनाउनु भएको छ ।

सामाजिक सञ्जालमा एक स्टाटस राख्दै नेता लोहनीले बिनाप्रसंग र आयोजक नै नरहेका व्यक्तिसँग जरिवाना मागिनुले सस्तो लोकप्रियताको दौडमा रहेको बुझिने जनाउनु भएको छ ।

उहाँले मेयर बालेन शाहसँग कुन कानूनअन्तर्गत जरिवानाको पत्र पठाइएको भन्ने प्रश्न पनि गर्नुभएको छ ।

लोहनीले लेख्नुभएको छ

मेयर वालेन सााहले राजा ज्ञानेन्द्रलाई जरिवाना तोक्नु भएछ । के यो ठीक हो?

एकपटक निम्न बुँदाहरू विचार गरौं ।

१) चैत्र १५ गतेको राजनैतिक कार्यक्रममा दुई पक्ष थिए । एउटा कार्यक्रम गर्ने पक्ष र अर्को कार्यक्रम गर्न स्वकृति दिने पक्ष अर्थात नेपाल सरकार ।

(२) कार्यक्रम सुरु भएर मञ्चमा बोल्नु अगाडि नेपाल सरकारकों तर्फबाट मकै पड्केको जस्तो गरी मञ्चमा अश्रुग्यास प्रहार भयो।म स्वयं बोल्नेप्रयास गर्दै थिए अश्रुग्यास प्रहार वाट आखा नदेख्ने र स्वास फेर्न पनि गाह्रो अवस्थामा पुगे ।

(३) ठूलो भीडको बिचमा, आफैँले भाषण गर्न स्वीकृति दिएको सभामा र भाषण गर्ने मञ्चमा समेत अश्रुग्यास प्रहार गर्नु कुन नियम, कानून र प्रोटोकलले जायज छ ?
यस्को दोषी को हो ?

४) अश्रुग्यास प्रहारबाट भिड आक्रोशित भएर तितर-बितर भयो । आफूले स्वीकृति दिएर स्वभावत: भइरहेको भाषण र आमसभालाई नेपाल सरकार स्वयंले भाँड्यो र आतङ्कको स्थिति सिर्जना गयो । यो तथ्यलाई बालेनजीले कसरी हेर्नुभएको छ ?

५) यसपछिको आक्रोसित भिड र प्रहरीबीच द्वन्द्व र नोक्सानसमेत भयो ।

६) माथि १ देखि ५ सम्मको घटनामा बालेनको नजरमा राजा ज्ञानेन्द्र शाह कसरी र किन जोडिन पुग्नुभयो ।

७) कानूनबमोजिम यो सब घटनामा स्वीकृति लिने र दिने पक्ष हुँदाहुँदै सबै तथ्य बिर्सिएर राजा ज्ञानेन्द्र शाहलाई जरिवाना भन्ने पत्र पठाउन नेपालको कुन कानून र मान्यताले दिन्छ ?

बालेनजीले जनतालाई राम्रोसँग बताउनुपर्‍यो ।

अन्यथा यो पत्राचारलाई सस्तो लोकप्रियताको दौडमात्र रहेको बुझ्नुपर्ने भएको छ ।

बालेनजी, मजस्ता धेरै काठमाडौंबासी शुभचिन्तक तथा आमनागरिक अहिलेसम्म तपाईका हितैसि छौं , तर अब हामीलाई जवाफ चाहियो ।