८ श्रावण २०८३, शुक्रबार
,
Latest
सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा रहेको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको दाबी प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार मन्त्रालयद्वारा रद्द आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र कम्युनिस्टहरू सत्ता केन्द्रित हुँदा वैरीले दीर्घकालीन रणनीति बनाए : प्रचण्ड प्रचण्डको आह्वान– प्रतिक्रान्तिको प्रतिवाद गर्न वामपन्थीले साझा कार्यक्रम बनाउनुपर्छ शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री बाग्मती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने दक्षिण–पूर्व एशियाका स्क्यामिङ सेन्टरबाट ८ सय ६० नेपालीको उद्धार, ४९ जना अझै कम्बोडियाको जेलमा ‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’ ट्राफिक एफएम १५ औँ वर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढोरपाटनमा सिकार याम सुरु, १३ नाउरसहति ३५ वन्यजन्तुको सिकार हुने



अ+ अ-

ढोरपाटन, (बागलुङ) । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु भएको छ । दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार हुने भएको हो । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्नका लागि बोलपत्र आह्वान गरेको थियो ।

दोस्रो याममा सिकार खेल्न हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रालि, ट्रयाक्स एण्ड ट्रेल्स प्रालि, हिमालयन सफारिज प्रालि, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी छवटा कम्पनीले अनुमति पाएका छन् । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागबाट अनुमति पाएका सिकारी ढोरपाटन सिकार आरक्षको विभिन्न ब्लकमा सिकार खेल्न आउन थालेका छन् ।

यही चैत २६ देखि सिकारी ढोरपाटन आउन थालेका ढोरपाटन सिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीले जानकारी दिनुभयो । दोस्रो याम (फागुन–वैशाख) का लागि आगामी वैशाख १६ गतेसम्म सिकारीले सिकार खेल्न पाउने छन् । अहिलेसम्म दुई नाउर मात्र सिकार भएको उहाँले बताउनुभयो । रेन्जर सुवेदीका अनुसार हिमालयन वाइल्डलाइफ आउटफिर्टसले सिकारीमार्फत दुई नाउर र दुई बँदेल सिकार गर्न अनुमतिपत्र पाएको छ । यो कम्पनीले एउटा नाउर सिकार गरिसकेको रेन्जर सुवेदीले जानकारी दिनुभयो । उक्त नाउरको सिकार सुनदह ब्लकमा स्पेनका ७० वर्षीय मार्कोस ओलाइजोला अल्कोर्टाले गर्नुभएको हो ।

त्यसैगरी, ट्रयाक्स एण्ड ट्रेल्स प्रालिमार्फत अमेरिकी सिकारीले दुई नाउर, दुई झारल र दुई बँदेल सिकार गर्ने अनुमति पाएका थिए । रेन्जर सुवेदीका अनुसार हिमालयन सफारिज प्रालिमार्फत तीन सिकारीले तीन नाउर र एक झारलका लागि अनमति पाएका छन् । ग्लोबल सफारिज नेपाल प्रालिमार्फत दुई सिकारीले दुई नाउर, एक झारल र दुई बँदेलको सिकार गर्ने अनुमति पाएका छन् । उक्त कम्पनीले हालसम्म एउटा नाउर फागुने ब्लकमा सिकार गरेको उहाँले जानकारी दिनुभयो ।

नेपाल ट्राभल एक्सपिडिसन प्रालिमार्फत तीन सिकारीले तीन नाउर, तीन झारल र तीन बँदेल सिकार गर्ने अनुमति पाएका छन् । यो कम्पनीबाट आएका सिकारीले हतियारमा समस्या आएपछि सिकार नगरी फर्किएको रेन्जर सुवेदी बताउनुहुन्छ ।

ओपन नेपाल वाइल्डलाइफ सफारी एण्ड ट्रेक्स प्रालिमार्फत तीन सिकारीले एक नाउर, दुई झारल र तीन बँदेलको सिकार गर्न अनुमति पाएका छन् । यो सिकार याममा अमेरिका, अर्जेन्टिना, स्पेन र फ्रान्सबाट सिकारी आएको रेन्जर सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा झारलको रु आठ लाख, नाउराको रु ६ लाख २५ हजार पाँच सय तोकिएको छ ।

यसपालि सुनदह, सेङ, भुस्तुङ, दोगाडी, फागुने, बार्से ब्लकमा सिकार भइरहेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले जानकारी दिनुभयो । दोस्रो याममा रु एक करोड २६ लाख राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । सिकारीले मारेको वन्यजन्तु लैजान पनि राजस्व तिर्नुपर्ने प्रावधान छ । ढोरपाटनमा हरेक वर्ष दुई याममा सिकार खुला हुन्छ । पहिलो (असोज–मङ्सिर) र दोस्रो (फागुन–वैशाख) मा सिकार खुला हुन्छ । रासस




भर्खरै