
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजावादीहरुले गरेको आक्रमण र हत्याको कानून बमोजिम कारबाही हुने बताउनुभएको छ ।
शनिवार नेकपा (एकीकृत समाजवादी)को पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले जनधनको क्षति गर्नेहरुमाथि कानून बमोजिम अनुसन्धान गरेर कारबाही गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।
राजावादीहरुले तीनकुनेमा शुक्रवार गरेको आन्दोलनका क्रममा दुई जनाको मृत्यु भएको छ भने सार्वजनिक र निजी सम्पतीमाथि तोडफोड गरिएको छ । आक्रमणकारीहरुले शुक्रवार नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा तोडफोड गरी आगो लगाएका थिए ।
सोही अनुगमन एवं निरीक्षणका क्रममा आलोकनगर पुग्नुभएका गृहमन्त्री लेखकले शुक्रवारको राजावादीहरुले प्रदर्शनका नाममा गरेको हिंसा राजनीतिक दर्शन, आदर्श, सिद्धान्त, मान्यता,चेतनासँग टाढाटाढाको पनि साइनो नरहेको जिकिर गर्नुभयो । शुक्रवारको आन्दोलन प्रदर्शन भन्दा बढी अपराधिक घटना भएको बताउनु भयो ।
आततायी र अमानवीय ढंगले घटना गराइएका भन्दै गृहमन्त्री लेखकले आन्दोलनकारीले मानिसहरु घरभित्र छन् भनेर थाहा हुँदाहुँदै घरमा आगो लगाउँदा एक जना पत्रकारको ज्यान गएको र नागरिकको सुरक्षार्थ प्रहरीले बल प्रयोग गर्दा अर्का एक जनाको निधन भएको बताउनु भयो । निधन हुनेहरुप्रति दुःख व्यक्त गर्दै उहाँले घाइतेप्रति शिघ्र स्वास्थ्य लाभको गर्नुभयो ।
गृहमन्त्री लेखकले भन्नुभयो, ‘हिजो जुन प्रदर्शनका नाममा जे कामहरु भएका छन्, यसको राजनीतिक दर्शन, आदर्श, सिद्धान्त, मान्यता,चेतनासँग टाढाटाढाको पनि साइनो छैन । यो अत्यन्त ज्यादा अपराधिक घटना भएको छ । आततायी र अमानवीय ढंगले घटना गराइएका छन् । त्यो पनि फलानो फलानो ठाउँमा आक्रमण गर्ने भनेर घोषणा गर्ने भनेर ति कामहरु भएका छन् । मानिसहरु घरभित्र छन् भनेर थाहा हुँदाहुँदै घरमा आगो लगाइएको छ । एकजना पत्रकारको ज्यान गएको छ । एक जना अर्को मानिसको पनि ज्यान गएको छ ।
प्रहरीले नागरिकको ज्यानको सुरक्षा गर्नका लागि बल प्रयोग गर्नुपर्ने भयो । त्यसप्रति मेरो दुःख छ । घाइतेप्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । सरकारले आवश्यक उपचार गर्दछ । हिजो जुन बर्बरतापूर्वक घटना भएका छन् । सञ्चारगृहमाथि आक्रमण गर्ने, छानिछानि गणतन्त्रवादी विचार राख्ने राजनीतिक दलका नेताका घरमा, पार्टी कार्यालयमा आक्रमण गर्ने, निजी र सरकारी सम्पती ध्वस्त गर्ने, सपिङ कन्फ्ेल्क्सहरुमा आक्रमण गर्ने जुन प्रकृतिको आक्रमण भएको छ । त्यसमा कानून बमोजिम अनुसन्धान गरेर कारबाही हुन्छ ।’
गृहमन्त्री लेखकले शुक्रवार राजावादीहरुले सञ्चारगृह,छानिछानि गणतन्त्रवादी विचार राख्ने राजनीतिक दलका नेताका घर र पार्टी कार्यालयमा आक्रमण गर्ने, निजी तथा सरकारी सम्पती ध्वस्त गर्ने, सपिङ कन्फ्ेल्क्सहरुमा आक्रमण गरेको बताउनु भयो । उनीहरुमाथि सरकारले अनुसन्धान गरी कारबाही गर्ने बताउनु भयो ।