
काठमाडौं । राजा फर्काउने आन्दोलनको अग्रपंक्तिमा देखिएका दुर्गा प्रसाईंलाई नेता मान्ने कि नमान्ने भन्ने विवाद चल्यो राप्रपामा । राप्रपा नेपालमा हिन्दू अधिराज्य र राजसंस्थाको पक्षमा वकालत गर्दै आएको पार्टी हो । साथै वर्तमान गणतान्त्रिक संविधानको व्यवस्था बमोजिम राप्रपा अहिलेको संसदमा पनि छ । साथै यसै संविधानलाई स्वीकार गरेर सो पार्टी पटक पटक संसद र सरकारमा गएको पनि छ । त्यसैले राजा फर्काउने आन्दोलनको नेता दुर्गा प्रसाईलाई स्वीकारेन ।
तर पूर्वराजा ज्ञानेन्द्रले भने उनलाई रोजे । सुरुमा ८६ बर्षिय पूर्व पञ्च नवराज सुवेदीलाई छानेका राजाले आन्दोलनको जनआन्दोलनको कमाण्डर नै प्रसाईंलाई अघि सारे । त्यसपछि सुरु भयो आजको आन्दोलन ।
आज सरकारले तोके अनुसार राजसंस्था पुनस्र्थापनाको माग राखेर तीनकुनेमा बिहानदेखि नै नाराजुलुस सुरु भयो । तर नाराबाजीकै क्रममा जब सो आन्दोलनका कमान्डर दुर्गा प्रसाईं आए, तब उत्तेजक हुन पुग्यो स्थिति । आन्दोलनका रुपमा अघि बढ्ने र भाषण पनि गर्नेगरी बनाइएको मञ्च एकैछिनमा खाली हुन पुग्यो । सभा बिथोलियो । मानिसहरु उनलाई देखेपछि थप उत्तेजक हुन थाले र प्रहरीमाथि ढुंगामुढा गर्न थाले । पछि पछि त स्थिति यस्तो भयो कि ढुंगा हान्न नपुगेर व्यक्तिका घरमा आगो समेत लगाउन उद्धत भए आन्दोलनकारी ।
संयोगबस हो या नगएकै हुन् राजावादी नाममा जुलुस सुरु हुँदा राजेन्द्र लिङ्देन, कमल थापा, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, उद्धव पौडेल, ज्ञानेन्द्र शाही लगायतका नेता देखिएनन् । अघिपछि कमै जाने कोही नेता त आज संसदतिर पनि थिए ।
प्रसाईंको विगत र वर्तमानप्रति परिचित राजेन्द्र लिङदेनले त त्यो आन्दोलन राप्रपाको नभएको पटक पटक भनिरहेकै थिए । पूर्वराजा ज्ञानेन्द्रले प्रसाईंलाई धेरै नै विश्वास गर्न थालेकाले उनी र राप्रपाका नेताहरु क्षुब्ध पनि छन् ।
हिजोका दिनमा माओवादी, एमाले हुँदै अहिले पूर्वराजा ज्ञानेन्द्रको नजिकमा पुगेका प्रसाईंको नेतृत्वमा आज तीन कुनेमा ताण्डव मच्चिएको छ । बैंकबाट खाएको ऋण तिर्न पर्दैन भनेर सुरुमा र अहिले राजा आएपछि देश समृद्ध बन्ने तथा कोही पनि बेरोजगार बस्नु नपर्ने प्रचार गरेर सदैव खराब चर्चामा रहन रुचाउने उनी समय समयमा सामाजिक भड्काउमा लाग्ने गर्दछन् । आजको आन्दोलनमा मच्चिएको हिंसा पनि यसैको परिणाम हो ।
हिजो बिहीबार मात्र पनि प्रेसमिट गर्नुअघि नवराज सुवेदी र प्रसाईंले पूर्वराजा शाहलाई निर्मल निवासमा भेटेका थिए । उनीहरुले राजासँग सल्लाह भएको र आजकै आन्दोलनबाट राजालाई फर्काउने प्रचार गरिरहेका थिए । तर ८६ वर्षे नवराज सुवेदी र प्रसाईंप्रति भने राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपाल दुवै राजाकहाँ गएनन् किनभने उनीहरु दुवै असन्तुष्ट थिए ।
आज तीनकुनेमा भएको आन्दोलनको स्वरुप हेर्दा जनताको आन्दोलन भन्न लायक थिएन । कतै व्यक्तिका घरमा ढुंगामुढा गरेका थिए भने कतै आन्दोलनकै सहभागीका सुनका सिक्री लुटेकै थिए । त्यस्तै आन्दोलनमा सहभागीहरुले प्रहरीको बन्दुक खोसेर विजय मनाइरहेका पनि थिए । पछि पछि त यस्तो सम्म भयो कि उनीहरुले व्यक्तिका घरमा आगजनी नै गरे ।
प्रहरीले अश्रु ग्याँस त हान्यो तर पनि त्यसपछि उनीहरु झनै उत्तेजित भएका थिए । त्यहाँबाट अघि बढेको जुलुशले यता थापाथलीमा कान्तिपुरको कार्यालयमा समेत ढुंगामुढा गरेको थियो ।
यो अराजकताको जिम्मेवारी कसले लिने भन्ने भन्दा पनि के आफ्ना अधिकारका लागि गरिने सबै आन्दोलनहरु यस्तै प्रकृतिका हुने हो भने व्यक्तिका ज्यू ज्यान र सम्पत्तिको सुरक्षाकसरी होला भन्ने त्रास आजको ताण्डवले बढाएको छ ।