
काठमाडौं। काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल) मा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा नेकपा (एमाले) निकट अनेरास्ववियुले बहुमतसहित विजय हासिल गरेको छ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको यो प्रमुख क्याम्पसमा आइतबार विद्युतीय प्रणालीमार्फत मतदान सम्पन्न भएको थियो। उक्त निर्वाचनमा अध्यक्ष पदका लागि अनेरास्ववियुका उम्मेदवार रुद्रहरि पोखरेलले माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका विश्राम शर्मा पौडेललाई ३२६ मतान्तरले पराजित गरेका छन्।
यसैगरी, सचिव पदमा गोपालबहादुर शाही विजयी भएका छन् भने कोषाध्यक्ष पदमा विवेक कोइरालाले जित हात पारेका छन्। क्याम्पसका १,९४८ मतदातामध्ये १,२९१ जनाले मतदान गरेका थिए। अनेरास्ववियुले अधिकांश पदमा आफ्नो पकड जमाउँदै क्याम्पसमा प्रभावशाली जित हासिल गरेको छ।