२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यमान जातपात र छुवाछूतले सामाजिक संरचना नै विभेदजन्य छ : पूर्वप्रधानमन्त्री खनाल



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले समाजमा विद्यमान सबै प्रकारका भेदभावका अन्त्य गरी मुलुकमा जनताको आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्नुपर्ने बताउनुभएको छ ।

संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिद्वारा अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका सन्दर्भमा आज आयोजित कार्यक्रममा उहाँले शोषक, सामन्तीहरूको षड्यन्त्रको कारण विद्यमान जातपात र छुवाछूतले सामाजिक संरचना नै विभेदजन्य बनेकाले समावेशी र समतामूलक समाजको निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

संविधानप्रदत्त नागरिकको अधिकार सुनिश्चितता गरी जातीय, लैङ्गिक तथा वर्गीय विभेद अन्त्य गर्न सकिने बताउँदै नेता खनालले कसैलाई विभेद गरेर, अछूत बनाएर, दलित भएकै कारण हत्या गरेर नयाँ नेपाल बन्न नसक्ने विचार व्यक्त गर्नुभयो । उहाँले समतामूलक समाज निर्माणको बाटोमा अघि बढ्दै समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानलाई सार्थक बनाउन सबैलाई आ–आफ्नो ठाउँबाट योगदान गर्न आग्रह गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले मानवअधिकारको पूर्ण कार्यान्वयनबाट लोकतान्त्रिक शासन प्रणालीलाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै नागरिकको मौलिक हक कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सार्वजनिक निकाय तथा विभिन्न कार्यस्थलमा कुनै पनि नागरिक मानवअधिकारबाट वञ्चित हुन नहुनेमा जोड दिँदै राज्यको मूल प्रवाहमा समाहित हुन नसकेका अल्पसङ्ख्यक, सीमान्तकृतलगायत समुदायको सामाजिक न्याय, हकहितका विषय मानवअधिकारका रूपमा संरक्षण गर्न सबै तहका सरकार संवेदनशील बन्न सुझाव दिनुभयो ।

समितिका संयोजक तथा नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष दलजीत श्रीपालीले आफ्नो संस्थाले करिब १५ वर्षदेखि दलित समुदायका हक–अधिकारका लागि साझा मुद्दाका लागि क्रियाशील रहँदै आएको जानकारी दिँदै ‘समान हक, समान अवसर, पूर्ण समानुपातिक प्रतिनिधित्व दलित समुदायको अधिकार’ भन्ने मूल नाराका साथ नेपालको दलित आन्दोलनको समीक्षा गरिएको बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घले सन् १९६६ देखि हरेक वर्ष २१ मार्चमा अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाउँदै आएको जनाइएको छ ।रासस