१० असार २०८३, बुधबार
,
Latest
कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकट गाउँमा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र



अ+ अ-

पर्वत । विहादी गाउँपालिका–२ बर्राचौरमा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र बनेको छ । विकट क्षेत्रका नागरिकलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण थालिएको अस्पताल निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अलपत्र परेको हो ।

पन्ध्र शय्या क्षमताको अस्पताल १७ महिनामा निर्माण सम्पन्न गर्नेगरी विसं २०७७ मङ्सिरमा भ्याली बाबुरत्न जेभी कम्पनीले जिम्मा लिएको थियो । समयमा काम नगर्दा निर्माण भएका संरचना पनि जीर्ण बन्दै गएका छन् ।

सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय पोखरामार्फत निर्माण हुन लागेको उक्त भवन रु छ करोड लागतमा बन्न लागेको हो । साउदी सरकारको पुनर्निर्माणसम्बन्धी साउदी फन्डबाट अस्पताल निर्माण थालिएको थियो ।

अस्पताल सम्पन्न भएर सञ्चालनमा आइसक्ने बेला भइसक्दा पनि निर्माण व्यवसायीको लापरबाही र स्थानीय सरकारले दबाब नदिँदा एक तला ढलान गरेर अलपत्र अवस्थामा छाडिएको विहादी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद भुसालले बताउनुभयो ।

ठेकेदारको लापरबाहीका कारण पाँच वर्षभन्दा बढी भइसक्दा पनि भवन सम्पन्न हुन नसकेको स्थानीयले गुनासो गरेका छन् । ठेकेदारले अस्पताल निर्माण सम्झौताअनुसार समयमा सम्पन्न नगरी पटकपटक म्याद थप गर्दै आएको स्थानीय बताउँछन् । काम सम्पन्न गर्ने भन्दै ठेकेदार कम्पनीले अहिलेसम्म तीनपटक निर्माण सम्झौताको म्याद थप गरिसकेको छ ।

अस्पतालका लागि स्थानीय डोलेन्द्र गिरी, राम गिरी, कृष्ण गिरी, भूपेन्द्र पौडेल, भूमिश्वर पौडेल, अर्जुन भट्टराईलगायतले निःशुल्क जग्गा उपलब्ध गराएपछि निर्माण प्रक्रिया सुरु भएको थियो । योसँगै स्थानीयले समयमा सर्वसुलभ स्वास्थ्य सेवा पाउन् भनेर उर्वरायुक्त जमिन दान गरेका जग्गादाता निराश बनेका छन् ।

सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय पोखराका इन्जिनियर सुवास बरालले ठेकेदार कम्पनीले नियमानुसार पाउनुपर्ने रकम लिइरहेको बताउनुभयो । ठेकदारले ल्याएको बिलबापत रकम लिएको बताउँदै अहिलेसम्म रु एक करोड ६५ लाख भुक्तानी लिइसकेको उहाँले जानकारी दिनुभयो । करिब १२ हजार वर्गफिटमा बन्ने भवनमध्ये एउटा ब्लकको केही वर्षपहिले ढलान भए पनि ‘बी ब्लक’को ढलान हुन बाँकी रहेको उहाँले बताउनुभयो ।

सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालयका अनुसार भ्याली बाबुरत्न जेभी कम्पनीले स्याङ्जा आरुचौरमा आयुर्वेदिक अस्पताल र सेतीदोभानमा प्राथमिक अस्पतालको भवन निर्माणको सम्झौता गरी करिब रु १९ करोड बराबर निर्माण सम्झौता गरेको थियो । निर्माण जिम्मा लिए पनि स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको भवन अलपत्र पारेको भन्दै स्थानीय निराश बनेका छन् ।

विहादी गाउँपालिकाका अध्यक्ष परवीन गुरुङले गौरवको योजनाका रूपमा रहेको उक्त भवन अलपत्र परेकोबारे सङ्घीय स्वास्थ्य मन्त्रालय र गण्डकी प्रदेशमा जानकारी गराइएको बताउनुभयो । निर्माण अलपत्र पार्ने ठेकेदारसँग सम्झौता रद्द गरेर अर्कोलाई दिन पहल गरिएको उहाँको भनाइ छ ।

समयमा अस्पताल नबन्दा विहादीका छ, पैँयू गाउँपालिकाका सातवटा वडाका साथै छिमेकी जिल्ला बागलुङ र गुल्मीका नागरिकहरू सामान्य उपचारका लागि पाल्पा, बुटबलका अस्पतालमा जान बाध्य भएका छन् ।