काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भैरहेको छ ।
सत्ता र शक्ति संर्घषका कारण पार्टी भित्र चरम अन्तरकलह बढ्दै गएपछि दुई नेताबीच लामो समयदेखि एकल सम्बाद भएको थिएन । बुधबार मात्र पार्टी महासचिब विष्णु पौडेलले दुबै नेतासँग छुट्टाछुट्टै भेट गरेपछि आज बिहीबार दुई शीर्ष नेताहरु छलफलका लागि जुटेका हुन् ।
असार १० गतेबाट सुरु भएको स्थायी समितिको बैठकमा केही सदस्यहरुले अध्यक्ष तथा प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनु पर्ने माग राखेपछि बैठक निरन्तर स्थगित हुँदै आएको छ । झनै कोरोनाको संक्रमण बढेपछि बैठकलाई अनिश्चितकालसम्मका लागि स्थगित भएको छ ।
आजको भेटमा दुई नेताबीच गतिरोध अत्यका बारेमा छलफल हुने जनाइएको छ । जसका लागि उपाध्यक्ष बामदेव गौतमले अघि सार्नु भएको ६ बुँदे प्रस्तावलाई आधार बनाउने विषयमा छलफल हुने स्राेतले जनाएको छ ।
प्रस्तावमा उल्लेख भए अनुसारको सम्पूर्ण कार्यकारी अधिकार सहितको अधिकार अध्यक्ष दाहाललाई दिने विषयलाई सम्पूर्ण शब्द हटाई कार्यकारी अधिकार सहितको अध्यक्षको जिम्मेवारी, दुई मुख्यमन्त्रीको हेरफेर, मन्त्रीमण्डल पुनर्गठन लगायतका विषयमा सहमति खोज्ने कसरत भै रहेको छ ।
प्रधानमन्त्री ओलीले आफूबिरुद्ध ४ नेताले गरेको पत्रकार अन्तरक्रिया प्रति गम्भीर असहमति जनाएपछि अन्य नेताले त्यस विषयलाई खासै चर्काउन नचाहेको तथा केही विषयमा कमजोरी भएको स्वीकार गरेपछि पुनः वार्ताको वातावरण बनेको हाे । बुधबार मात्र प्रधानमन्त्री ओलीले ५ दिन भित्र सकारात्मक रुपमा निकास निस्कने बताउनु भएको थियो ।










