१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता

सोलुखुम्बुमा हावाहुरीको वितण्डा

सोलुखुम्बुमा हावाहुरीको वितण्डा
अ अ+ अ-

सोलुखुम्बु । “खै के हुनलाई यस्तो भएको हो, यो सालको जस्तो बतास चलेको मलाई अहिलेसम्म थाहा थिएन्, हावाले घरहरु त परको कुरा रुखहरु नै जराबाटै पल्टिन थाल्यो ! डाँडाहरु हावाले फुकेर फुङ्ग हुँदै गएको छ, यस्तो हुनु राम्रो होइन”, यहाँको सोलुदुधकुण्ड नगरपालिका–७ गार्माकी ७१ वर्षीया जाङ्बु शेर्पाले आश्चर्यमिश्रित भावमा भन्नुभयो ।

विगतमा सामान्य हावा चल्ने भए पनि यस पटक सोलुखुम्बुमा अस्वाभाविक गतिमा हावा चलेको अनुभव स्थानीयको छ । हावाका कारण सगरमाथा क्षेत्रको थामेदेखि सदरमुकाम सल्लेरीसहित सोताङ आसपासमा घर, विद्यालय जस्ता संरचनाहरुमा ठूलो क्षति पुगेको छ ।

दुई महिनामा २६ घटना

जिल्ला प्रहरी कार्यालयको  तथ्याङ्कअनुसार गत माघदेखि चैत ३ गतेसम्ममा हावाहुरीका कारण जिल्लामा २६ वटा घटना भएका छन् । जसमा २० वटा निजि घर तथा संरचना, तीन वटा विद्यालय भवन, दुई वटा धार्मिक संरचना र एउटा सरकारी संरचनामा क्षति पुगेको जिल्ला प्रहरी प्रमुख द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार खुम्बु पासाङ ल्हामु गाउँपालिकामा सबै भन्दा बढी १४ वटा भौतिक संरचनामा क्षति पुर्‍याएको छ ।

जसमा १० वटा निजी घर तथा संरचना, दुई वटा गुम्बा, सीमा प्रशासन कार्यालय नाम्चेको कार्यालय रहेको सरकारी संरचना र एक विद्यालय भवनमा क्षति पुगेको छ । सोलुदुधकुण्ड नगरपालिकामा एक विद्यालय भवन र सात निजी घर गरी आठ वटा र सोताङ गाउँपालिकामा एक विद्यालय भवन र तीन घरमा गरी चार वटा संरचनामा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

“अघिल्ला वर्षहरुमा यस वर्षको जस्तो ठुलो हावाहुरीले क्षति पुर्‍याएको देखिएन, यो वर्ष त माघदेखि जिल्लामा हावाहुरीले ठुलो मात्रामा क्षति पुर्‍याउन थालेको छ”, प्रनाउ घिमिरेले भन्नुभयो । हावाहुरीका कारण कतिपय स्थानमा रुखहरु जरा पल्टिएर ढलेका छन् भने सल्लेरी, गार्मालगायतका क्षेत्रमा ढलेको रुखका कारण हाइटेन्सन लाइनमा क्षति पुग्दा बारम्बर विद्युत सेवा अवरुद्ध हुने गरेको छ ।

लाइन विस्तार भएका क्षेत्रमा रुखहरु ढल्ने कारण सदरमुकामसहितका क्षेत्रमा धेरै पटक विद्युत् सेवा अवरुद्ध भइरहेको सल्लेरी च्याल्सा विद्युत् कम्पनी लिमिटेड सोलुखुम्बुका महाप्रबन्धक भोजराज तिवारीले बताउनुभयो ।

हावाका कारण बाहिर हिँड्डुल गर्न तथा विद्यार्थीलाई विद्यालय जान जोखिम हुने गरेको छ । घरका छानोहरु उडाउने तथा बाटो आसपासका रुखहरु ढलेर दुर्घटना निम्तने जोखिम उच्च भएको गार्मा माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोदसिं तामाङले बताउनुभयो । जसलाई मध्यनजर गरी स्थानीय प्रशासनले सूचना नै जारी गरेको छ ।

तीव्र गतिको हावा निरन्तर चलिरहेकाले मानवीय क्षति हुन नदिन सचेतनामूलक सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताउनुभयो ।

जलवायु परिवर्तनको गम्भीर असर: विज्ञ

विज्ञहरुका अनुसार यसरी तीव्र गतिमा अस्वाभाविक हावाहुरी चल्नु जलवायु परिवर्तनको गम्भीर असर हो । जलवायु विज्ञ तथा सगरमाथा संवादका विज्ञ सदस्य डा धर्मराज उप्रेतीका अनुसार स्थानीय मौसमी प्रणालीहरू पर्वतीय भूभाग भएका क्षेत्रमा स्थानीय मौसमी प्रणालीको विकास हुन सक्छ । जसले तीव्र हावाहुरी निम्त्याउन सक्ने डा उप्रेतीको भनाइ छ । हिमाली क्षेत्रमा तापक्रमको तीव्र उतारचढावले हावाको चापमा परिवर्तन गराई तीव्र गतिको हावाहुरी सिर्जना  भइरहेको उहाँले बताउनुभयो ।

डा उप्रेतीले भन्नुभयो, “वैश्विक तापमान वृद्धिका कारण मौसम प्रणालीहरूमा अस्थिरता बढ्दै गएको छ, जसले गर्दा अनियमित र तीव्र हावाहुरीजस्ता घटनाको आवृत्ति र तीव्रता बढेको हो, यो पृथ्वीका लागि गम्भीर खतराको सङ्केत हो । मुख्यत: यो जलवायु परिवर्तनकै असर हो ।”

नेपालमा प्राय: यस बेला पश्चिमी वायु प्रणालीको प्रभावले हावाहुरी र वर्षा हुने गर्दछ । यदि यस्तो प्रणाली सक्रिय छ भने सोलुखुम्बुमा तीव्र हावाहुरीको सम्भावना बढ्न सक्ने जलवायु जानकार डब्लूडब्लुएफका राष्ट्रिय कार्यक्रम प्रबन्धक राजन थापा बताउनुहुन्छ । पृथ्वीमा हावा चल्नुको मुख्य कारण सूर्यको ताप, वायुदाबको भिन्नता, पृथ्वीको घुमाइ र स्थल तथा जलका गुणहरू हुन् । वायुदाबको भिन्नता भन्नाले पृथ्वीको विभिन्न स्थानमा वायुमण्डलद्वारा पारिएको हावाको चापमा हुने फरक हो । यी कारकले मिलेर पृथ्वीको वायुमण्डलमा हावाको गति सिर्जना गर्ने थापाले बताउनुभयो ।

जलवायु परिवर्तनको असरले गर्दा हिमाली भेगको जमिन अत्यधिक  तातिरहेको छ जसले हावाको वेगमा परिवर्तन आएको हुन सक्ने थापाको भनाइ छ । उहाँले भन्नुभयो, “पृथ्वी पश्चिमबाट पूर्वतर्फ घुम्ने भएकाले हावाको दिशा पृथ्वीको घुमाइले प्रभाव पार्छ । जलवायु परिवर्तनको कारणले पृथ्वीको घुमाइलाई असर पारेको छ भने हिमाली भेगमा हावाको गति अस्वाभाविक हुन सक्छ । यो गम्भीर अध्ययनको विषय हो । यो असर भोलीका दिनमा बढ्न सक्छ, जसका लागि पुर्वसूचना प्रणाली जडान गर्नुपर्छ ।” रासस