९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेचीनगर गोल्डकप : उपाधिका लागि आयोजक काँकडभिट्टा र चर्च ब्वाइज भिड्ने



अ+ अ-

झापा। काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र डिभिजन च्याम्पियन चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने भएको छ ।

फाइनल खेलअघि शुक्रबार काँकडभिट्टाको खेलमैदानमा भएको संयुक्त पत्रकार सम्मेलनमा दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरका प्रशिक्षक मुन्ना सुब्बाले आफ्नो टोली जित्नका लागि सक्षम रहेको दाबी गर्दै उपाधिलाई गृहनगरमै राख्ने बताउनुभयो ।

“घरेलु मैदान र समर्थकको फाइदा हामीलाई हुनेछ”, प्रशिक्षक सुब्बाले भन्नुभयो, “उपाधिलाई घरमै राख्ने लक्ष्य छ ।” काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले यसअघिका खेलमा भारतीय टोली जर्जियन एफसीलाई ४–२ गोलले र धरान एफसीलाई सडन डेथमा ५–४ गोलले पराजित गरेको थियो ।

चर्चब्वाइज युनाइटेडलाई यसै वर्ष झापा, फाल्गुनन्द र बागमती गोल्डकपको उपाधि उचालिसकेको बलियो टोली मानिन्छ । चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले घरेलु टोलीविरुद्ध खेल्न चुनौतीपूर्ण हुने स्वीकार गरेता पनि आफ्नो टोलीले उपाधि जित्नेमा ढुक्क रहेको बताउनुभयो ।

“जित्नलाई त जितिहालिन्छ”, उहाँले भन्नुभयो, “घरेलु टोलीविरुद्ध खेल्न चुनौतीपूर्ण हुन्छ । तर हामी उपाधिका लागि खेल्छौँ ।” उहाँले आफ्ना खेलाडी लगातारको खेलले थाकिरहेको बताउनुभयो । चर्च ब्वाइजले यसअघिको खेलमा झापा एफसीलाई सडन डेथमा ५–४ गोलले र मच्छिन्द्र फुटबल क्लबलाई ४–३ गोलले हराएको थियो ।

मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख नगद पुरस्कारसमेत पाउनेछन् । खेल अवधिभरको उत्कृष्ट खेलाडीले रु ५१ हजार, सर्वाधिक गोलकर्ताले रु २५ हजार, उत्कृष्ट गोलकिपर र प्रशिक्षकले जनही रु २१ हजार र उदीयमान खेलाडीले रु १५ हजार पुरस्कार पाउने आयोजक समितिका असचिव राजु कार्कीले बताउनुभयो ।रासस