
एजेन्सी । वुमन्स प्रिमियर लिग (डब्लुपिएल) को तेस्रो सिजनको फाइनल खेल मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच हुँदैछ ।
खेल १५ मार्चमा मुम्बईको ब्राबोनबर्न स्टेडियममा हुनेछ । बिहीबार भएको एलिमिनेटरमा मुम्बईले गुजरात जायन्ट्सलाई ४७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स ३ वर्षपछि दोस्रो पटक डब्लुपिएल फाइनलमा भिड्दैछन् । पहिलो सिजनको फाइनल पनि यी दुईबीच २०२३ मा भएको थियो, जसमा मुम्बईले उपाधि जितेको थियो । दिल्ली गत वर्ष बेंगलुरुसँग फाइनलमा पराजित भएको थियो । उसले लगातार तेस्रो फाइनल खेल्दैछ ।
ब्रेबोर्न स्टेडियममा मुम्बईका लागि हेली म्याथ्युज र नताली सिभर ब्रन्टले अर्धशतक बनाए । दुवैले ७७–७७ रनको इनिङ खेले, उनीहरुबीच १३३ रनको साझेदारी थियो । गुजरातकी डेनियल गिब्सनले २ विकेट लिएर ३४ रनको इनिङ खेलिन् ।
टस हारेर पहिले ब्याटिङ गर्न आएको एमआईले पावरप्लेमा यास्तिका भाटियाको विकेट गुमाएको थियो । उनले १४ बलमा १५ रन बनाइन् । उनको पछि हेली म्याथ्युज र नताली सिभर ब्रन्टले इनिङ्सलाई सम्हालेका थिए । म्याथ्युज र ब्रन्टले टोलीलाई १५० भन्दा माथि पुर्याए । म्याथ्युज ५० बलमा ७७ रन बनाएर आउट भइन् ।
हेलीपछि नतालीले टोलीलाई २०० भन्दा नजिक पुर्याइन् । उनी ४१ बलमा ७७ रन बनाएर आउट भइन् । नताली र म्याथ्युजबीच दोस्रो विकेटका लागि १३३ रनको साझेदारी भयो ।
अन्तमा कप्तान हरमनप्रीत कौरले १२ बलमा ३६ रनको इनिङ खेल्दै टोलीलाई २१३ रनको स्कोरमा पुर्याइन् । गुजरातका लागि डेनियल गिब्सनले २ विकेट लिइन् । काशवी गौतमले १ विकेट लिइन् भने अन्तिम ब्याटर रनआउट भए ।
२१४ रनको ठूलो लक्ष्य पछ्याउने क्रममा गुजरातले पहिलो ओभरमै बेथ मुनीको विकेट गुमाएको थियो । उनले ६ रन मात्रै बनाउन सकेकी थिइन् । त्यसपछि हरलिन देओल र कप्तान एस्ले गार्डनर ८–८ रन बनाएर आउट भए । ४३ रनको स्कोरमा टोलीले ३ विकेट गुमाएको थियो ।
डेनियल गिब्सनले फोबी लिचफिल्डको साथ लिइन् । गिब्सन ३४ रन बनाएर आउट भइन् । त्यसपछि लिचफिल्ड पनि ३१ रन बनाएर प्याभिलियन फर्किइन् । काशवी गौतमले मात्र ४ रन बनाउन सकिन् । टोलीले ११२ रनको स्कोरमा ६ विकेट गुमाएको थियो ।
अन्त्यमा भारती फूलमाली र सिमरन शेखले टोलीलाई जित दिलाउन प्रयास गरे । दुवैले ठूला शट खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । भारतीले २० बलमा ३० रन बनाइन् । जबकि सिमरन १७ रन बनाएर आउट भइन् ।
गुजरात १९.२ ओभरमा १६६ रन बनाएर अलआउट भयो । मुम्बईका लागि हेली म्याथ्युजले ३ विकेट लिइन् । अमेलिया केरले २ विकेट लिइन् । नताली सिभर ब्रन्ट र शबनिम इस्माइलले १–१ विकेट लिए । ३ ब्याटर रनआउट भए । दोहोरो प्रर्दशन गर्ने हेली म्याथ्युज खेलको प्लेयर अफ द म्याच भइन् ।