९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम



अ+ अ-

ललितपुर। ललितपुर महानगरपालिका र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम भएको छ । रसियाको उलान उदे सहरमा आयोजित एक कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र उलान उदे सहरका मेयर इगोर शुतेन्कोवले भगिनी सम्बन्धसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।

प्रमुख महर्जनले भगिनीसम्बन्ध कायमसँगै दुवै देशका नागरिकबीचको सम्बन्धलाई प्रगाढ बनाउने दाबी गर्नुभयो । “उलान उदे रसियाको पुरानो सहर हो । विकासशील यो सहरको विशेषता ललितपुर महानगरसँग मिल्दाजुल्दा छन्, दुई सहरबीचको यो सम्बन्धले धेरै कुराको सम्भावना खोलेको छ, एकअर्काको आवश्यकता र समझदारीअनुसार नागरिकस्तरमा सम्बन्ध कायम हुनेछ, उनीहरूको असल अभ्यास हामी लिन्छौँ, हाम्रो असल अभ्यास उहाँहरूले लिनुहुनेछ”, उहाँले भन्नुभयो ।

प्रमुख महर्जनले ललितपुर महानगर कला, संस्कृति र सम्पदाको सहर भएको बताउनुभयो । उहाँले उलान उदे सहरमा ललितपुरको संस्कृति र सम्पदा झल्काउने काम गर्न इच्छुक भएको उल्लेख गर्नुभयो । उहाँले दुई देशका सहरबीचको आपसीसम्बन्ध र भेटघाटलाई बाक्लो बनाउने बताउँदै संयुक्त रूपमा परियोजना सञ्चालन गर्ने जानकारी दिनुभयो ।

बुद्धको देश नेपालबाट रसियाका जनतालाई सन्देश लिएर आएको बताउँदै प्रमुख महर्जनले बुर्यातिया प्रमुख र उलान उदे सहरका प्रमुखलाई नेपाल आउन निम्तो दिनुभयो । रिपब्लिक अफ बुर्यातिया रसियाका प्रमुख अलेक्सेई स्प्देनोभले नेपाल र रिपब्लिक अफ बुर्यातियाबीच धेरै विषय एक अर्कासँग मिल्दाजुल्दा भएको बताउनुभयो ।

उलान उदे सहरका मेयर इगोर शुतेन्कोवले यो भगिनीसम्बन्धले नेपाल र रूसबीचको सम्बन्धमा नयाँ आयाम थपेको बताउनुभयो । उहाँले दुई देशको विकासका लागि के गर्न सकिन्छ यस सम्बन्धमा थप गृहकार्य गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समझदारी पत्रमा सडक निर्माण तथा स्तरोन्नति, महानगरको सार्वजनिक सवारी साधान व्यवस्थित, पर्यटन, शिक्षा र स्वास्थ्य, ऐतिहासिक सम्पदा संंरक्षण, ग्यालरी र म्युजियम स्थापनाका, सूचना प्रविधिको क्षेत्रमा अध्ययन, अनुसन्धान विषयमा सहकार्य गर्ने उल्लेख छ ।

ललितपुर महानगर प्रमुखसँगै प्रतिनिधिमण्डलमा प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, उद्योग, पर्यटन तथा संस्कृति समितिका संयोजक एवं वडा नं ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठ, महानगरका अन्तर्राष्ट्रिय सल्लाहकार मुकुन्द विष्टसमेत सहभागी हुनुहुन्छ । महानगर प्रमुखको प्रतिनिधिमण्डल शनिबार रसिया गएको हो ।रासस