२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजसंस्थाको मुद्दा कसरी आयो बहसमा ?



अ+ अ-

काठमाडौं । २०६२/६३ सालको आन्दोलनका बलमा विस्थापित राजसंस्थाको मुद्दा एकाएक बहसमा आएको छ । २०६५ सालमा संसद्ले औपचारिक रुपमा राजतन्त्र अन्त्य भएको घोषणा गरेको थियो । तर राजसंस्था औपचारिक रुपमा अन्त्य भएको डेढ दशकपछि यो मुद्दा एकाएक बहसमा आएको हो ।

राजसंस्थाको मुद्दा यतिधेरै चर्चा र बहसमा आउनुको मुख्य कारण हो– पूर्वराजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा दिएको सन्देश । पूर्वराजा शाहले अब आफू चुप लागेर नबस्ने भन्दै राजनीतिक दलहरुलाई चेतावनीपूर्ण शैलीमा धम्की दिनुभएको थियो । उहाँले अप्रत्यक्ष रुपमा जनतालाई आन्दोलनमा उठ्न र राजसंस्था पुनर्स्थापनामा अपील गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस- देश जोगाउन मलाई साथ दिनुस : पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो सहित)

पूर्वराजाको सन्देश सार्वजनिक भएसँगै राजावादीहरु उत्साहित भए । उनीहरुले राजतन्त्रपुनर्स्थापना गर्नुपर्ने माग गर्दै काठमाडौं, वीरगन्ज, पोखरालगायतका स्थानमा प्रदर्शन गरे । प्रदर्शनमा जनताको सहभागिता बढ्यो । यसले उनीहरुको मनोबल अझ बलियो ।

पूर्वराजा ज्ञानेन्द्र शहले पनि राजसंस्थाको पक्षमा जनलहर बढेको अनुभूति गर्दै आफ्ना गतिविधि बढाउँदै लग्नुभएको छ । कहिले जिल्ला भ्रमण र कहिले मन्दिर दर्शनको बहाना बनाउँदै उहाँ सार्वजनिक कार्यक्रमहरुमा उपस्थित भइरहनुभयो । सरकारप्रति बढ्दो निराशालाई उहाँले आफ्नो पक्षमा पार्न प्रयास गर्नुभयो । सुस्ताएको राजतन्त्रको मुद्दा फेरि उठाउन उहाँले निकै प्रयास गर्नुभयो । जिल्लाजिल्लामा उहाँले पाएको स्वागतले मनोबल उच्च बन्यो । संसद्मा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले उहाँलाई भरपुर साथ दियो ।

राजनीतिक दलहरुप्रति बढ्दो निराशाले जनता आजित भइसकेका छन् । अहिले सरकार र दलहरुप्रति जनताका गुनासै गुनासा सुनिन्छ । सरकारले काम गर्न नसकेको आक्रोस गणतन्त्रमाथि नै परेको हो । राजसंस्थाले देश र जनताका लागि धेरै काम गर्न सक्छ भन्ने भाष्य सिर्जना गर्न राप्रपाले गरिरहेको छ ।

राप्रपा मात्र होइन, मेडिकल व्यवसायी दुर्गा प्रसाईदेखि धर्मगुरु, ज्योतिषी, तान्त्रिक, साध सन्तहरु राजतन्त्रको पक्षमा खुलेका छन् । अझ हिन्दू धर्मावलम्बीहरुले देशलाई धर्मनिरपेक्ष घोषणा गरेकोमा चित्त बुझाएका छैनन् । सनातन हिन्दू राज्य कायम गर्नुपर्ने मागमा राजसंस्था समेत घुसेको छ ।

राजसंस्था अन्त्य भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह शितल निवासबाट बाहिरिएर धेरै पटक आउजाउ गरिसक्नुभएको छ । कहिले जिल्ला भ्रमण त कहिले भारत आउजाउ गरिरहने पूर्वराजालाई यस पटक काठमाडौं फर्किंदा भने निकै चर्चामा हुनुहुन्छ । काठमाडौंबाट बाहिरिएको तीन महिनापछि फर्किंदा पूर्वराजा शाहको स्वागत गर्न राजावादीहरुले निकै भव्य तयारी गरेका छन् ।

राजनीतिक अस्थिरता, बढ्दो भ्रष्टाचार, कमजोर सुशासन र सेवाप्रवाह राम्रो नहुँदा जनतामा निराशा बढेको छ । राजनीतिक दलका नेताहरु दलीय र व्यक्तिगत स्वार्थमा केन्द्रित छन् । जनताले विकासको प्रत्याभूति पाउन सकेका छैनन् । आशा लाग्ने काम त भएका छैनन् नै आशा जगाउन सकिने गतिविधि पनि छैनन् । बरु दलहरु एकले अर्कोलाई खुइल्याउने प्रयासमा लाग्दा त्यसको फाइदा राजावादीले लिन खोजेका हुन् ।

नेपालमा २ सय ४० वर्षभन्दा लामो समयसम्म राजसंस्थाले शासन गरेका इतिहास छ । त्यसबेला जनताका लागि राजसंस्थाले के गर्‍यो भन्ने मूल्यांकन इतिहासले गरेकै छ । तर २०६२/६३ सालको आन्दोलनपछि जन्मिएको पुस्ता अहिले युवा भइसकेको छ । यो पुस्तालाई विगतको इतिहास पढाउन सकिएको छैन । व्याप्त निराशाका बेला युवा पुस्तामा पनि राजतन्त्र फर्किएमा केही होलाकी भन्न आशा देखिएको छ । तर इतिहासबारे युवालाई बुझाउन र निराशा चिर्न दलहरुले सकेका छैनन् । यो नै उनीहरुका लागि प्रत्युत्पादक देखिँनै गएको छ ।